आगामी आर्थिक वर्षको मौद्रिक नितीप्रति नाइमाको असन्तुष्टि


काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा आफ्नो सुझाव समावेश नगरेको भन्दै नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्याक्चर्स एसोसियशन (नाइमा) ले असन्तुष्टि व्यक्त गरेको छ ।

नाइमाले एक विज्ञप्ति जारी गर्दै ‘समयमै प्रस्तुत गरेका सुझावहरुलाई समावेश नगरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको’ भनिएको छ ।
सबै प्रकारका सवारीका लागि ८० प्रतिशत र २० प्रतिशत कर्जा अनुपात कायम गरिनुपर्ने स्पष्ट रूपमा उल्लेख गरिएको भएपनि मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रका लागि यस्तो कुनै नीति समावेश नगरिनु अत्यन्त निराशाजनक विषय भएको नाइमाले जनाएको छ ।

‘यसैगरी चिनमा उत्पादन भएका सवारीसाधनहरू आयात गर्दा युआनमा प्रतीत पत्र खोल्न चीनमै उत्पादन भई चीनबाट ढुवानी हुने अवस्थामा लाभग्राही कम्पनी जुनसुकै देशको भए पनि अनुमति दिनुपर्ने सुझाव मौद्रिक नीति निर्माणको प्रारम्भिक चरणमै पेश गरिएको थियो। आजको अन्तर्राष्ट्रिय व्यापार संरचना त्रिपक्षीय सहमतिमा आधारित रहेको सन्दर्भमा यस्तो व्यवस्था आजको टड्कारो आवस्यकता हो, तर मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका यस्ता व्यवहारिक आवश्यकतालाई बेवास्ता गरेको देखिन्छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सवारी कर्जालाई सुरक्षित कर्जा मानिने सन्दर्भमा जोखिम भारित सम्पत्तिको दर हालको १०० प्रतिशत बाट घटाएर ७५ प्रतिशत कायम गर्न दिएको सुझाव पनि नसमेटिएको बताएको छ । यस्तो प्रावधानले कर्जा प्रवाहलाई सहज बनाउने र बजार विस्तारमा टेवा पुयाउने विश्वास लिए पनि अपेक्षा भन्दा बाहिर गएर मौद्रिक नीति आएको जनाएको छ ।

समग्र मौद्रिक नीतिले कर्जा आपूर्तिमा वृद्धि गर्ने उद्देश्य लिएको हुँदा यसले अटो कर्जाको उपलब्धता र पहुँचमा सकारात्मक प्रभाव पार्न सक्ने सम्भावना रहेको पक्षलाई सकारात्मक रुपमा लिएको नाइमाले जनाएको छ ।

प्रकाशित मिति: २९ असार २०८२, आइतबार  १३ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।