म्याग्दी । जिल्ला पूर्वाधार विकास कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा ३० वटा ग्रामीण सडक स्तरोन्नति गरेको छ ।
कार्यालय प्रमुख विष्णु पौडेलका अनुसार ९ करोड ५० लाख बजेट विनियोजन भएका ३७ वटा सालबसाली योजनामध्ये २९ वटा ठेक्का प्रक्रिया र उपभोक्ता समितिबाट ३ वटा योजना कार्यान्वयन भएका छन् । ती योजना कार्यान्वनयका लागि निर्माण व्यवसायी र उपभोक्ता समितिहरुसँग ५ करोड ९० लाख ८१ हजार रुपैयाँमा सम्झौता भएको थियो ।
ग्रामीण सडक फराकिलो पार्ने, ग्रेड तथा घुम्ती सुधार गर्ने, पानीको निकासका निम्ति नाली तथा ‘रिटेनिङ’ पर्खाल निर्माण, कालोपत्र, ढलान गर्न तथा मोटरेबल र झोलुङ्गे पुल निर्माणसम्बन्धी सालबसाली ३७ सहित ७१ वटा योजनाका लागि पुँजीगततर्फ ५९ करोड ३१ रुपैयाँ बजेट विनियोजन भएको थियो ।
गत वर्ष ४.९० किलोमिटर कालोपत्र र ढलान, ४.१४ किलोमिटर ग्राभेल, ३.३० किलोमिटर नयाँ कच्ची सडक निर्माण, ३१.६० किलोमिटर सडक फराकिलो बनाउने, १०.७२ किलोमिटर नाली र ३१ हजार २९ घनमिटर टेवा पर्खाल निर्माण भएको कार्यालय प्रमुख पौडेलले बताए।
यसैगरी २९ वटा कल्भर्ट कजवे, १२.५० किलोमिटर सडक मर्मत, १ वटा झोलुङ्गे, २ वटा मोटरेबल पुल र एक वटा भवन निर्माणसम्बन्धी योजना सम्पन्न भएका छन् । गत आवमा ६४ करोड १ लाख ४३ हजार रुपैयाँ विनियोजन भएकोमा ४७ करोड १४ लाख ९१ हजार रुपैयाँ खर्च भएको छ ।










प्रतिक्रिया