दोहोरो आइजिनले एनआरएनको मात्र नभई बाह्य लगानी प्रभावित हुने एनआरएनएको चेतावनी


गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले सूचीकृत कम्पनीहरुलाई दोहोरो इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आईजिन) दिने गरी निर्देशिकाको मस्यौदा बनाएको भन्दै बिरोध जनाएको छ । संघले सोमबार विज्ञप्ति जारी गर्दै नेपाल धितोपत्र बोर्डमा पेस गरिएको प्रस्तावित निर्देशिकाको मस्यौदाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

“सीडीएससीले धितोपत्र बजारमा सेयरको सार्वजनिक निष्कासन गरी सूचीकृत हुने प्रक्रियामा रहेका कम्पनीहरूको संस्थापक समूहको सेयर अभौतिकीकरण प्रक्रियामा संस्थापक र सर्वसाधारण सेयर गरी दुई वटा इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आईजिन) को व्यवस्था गर्ने भनेर पेश गरेको भनिएको प्रस्तावले प्रभाव नेपालको पूँजी बजार, लगानी वातावरण, र गैरआवासीय नेपालीको लगानी नेपालमा ल्याउने योजनामा नकारात्मक असर पार्न सक्ने देखिन्छ,” संघले भनेको छ ।

प्रस्तावित निर्देशिका कार्यान्वयनमा आउँदा विदेशमा बसोबास गर्ने नेपाली संस्थापक लगानीकर्तामा भ्रम र निराशा फैलिने, सेयर कारोबारमा अन्योल बढ्ने, तथा दीर्घकालीन रूपमा पूँजी बजारको स्थायित्व र पारदर्शितामा गम्भीर असर पर्नेतर्फ सम्बद्ध निकायहरुको ध्यानाकर्षण समेत गराएको छ ।

स्थापनाकालदेखि नै विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पूँजीलाई नेपालमा भित्राउने काम भइरहेकोमा त्यसलाई अझ बढी संगठित रुपमा साना तथा मझौला लगानीलाई मुलुकमा आकपर्षत गर्ने संघको उद्धेश्य रहेको विज्ञप्तिमा उल्लेख छ ।

ऊर्जा, पूर्वाधार, पर्यटन, स्टार्टअप तथा वित्तीय क्षेत्रमा गैरआवासीय नेपालीहरूद्वारा उल्लेखनीय लगानी हुने क्रम बढिरहेको र गैरआवासीय नेपालीहरूबाट नेपालमा हुने लगानी अहिलेको आर्थिक सुधार र पूर्वाधार विकासमा महत्वपूर्ण स्रोत रहेकोतर्फ संघले ध्यानाकर्षण गराएको छ । “तर विश्वभरिका गैरआवासीय नेपालीहरुलाई नेपालको विकासमा सहभागी हुन तथा आफ्नो ज्ञान, सीप र पूँजी नेपालमा भित्र्याउन सहज वातावरण निर्माण गर्नुपर्नेमा यस प्रस्तावित निर्देशिकाले लगानीमा ठुलो असर पर्ने यस संघको ठहर छ,” विज्ञप्तिमा भनिएको छ ।

अन्ना भन्छ ‘कम लागत र सहजताका लागि आईजिन’, सिडिएससी भने झमेलाका चाङ सहितको मस्यौदा लिएर धितोपत्र बोर्डमा (पूर्णपाठ सहित)

गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्दा स्थायित्व, पारदर्शिता, र कानुनी स्पष्टता अपेक्षा गर्ने भन्दै संघले प्रस्तावित व्यवस्था कार्यान्वयन भएमा संस्थापक सेयरधनीहरूलाई सेयर बेच्न समेत कठिनाइ भोग्नुपर्ने, वैदेशिक लगानी फिर्ता गर्न नसकिने परिस्थिति बन्ने, र कानुनी अन्योलको वातावरणले अन्तर्राष्ट्रिय लगानीकर्तामा नकारात्मक सन्देश जाने खतरा रहेकोतर्फ पनि संघले सचेत गराएको छ ।

पूँजी बजारप्रतिको विश्वास लगानी सुरक्षाको प्रत्याभूति र प्रवासी तथा विदेशी लगानीकर्ताको विश्वास कायम राख्नु नेपालको दीर्घकालीन समृद्धिको आधार रहेको भन्दै संघलेसम्बन्धित नियामक निकायहरू, नेपाल धितोपत्र बोड, अर्थ मन्त्रालय, र सिडिएससीलाई यो प्रस्ताव पुनर्विचार गर्न, गम्भीर छलफलमार्फत समग्र प्रभाव मूल्याड्कन गर्न, र सन्तुलित निर्णय लिन आग्रह गरेको छ ।

नेपालमा लगानीमैत्री वातावरणको रक्षा गरि कानुनी तथा प्रणालीगत नीतिहरुले निजी क्षेत्र, प्रवासी नेपाली, र वैदेशिक लगानीकर्तामा आशावादी सन्देश दिन पनि संघले आग्रह गरेको छ ।

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार  १८ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।