पातारासी गाउँपालिकाद्वारा २१७ योजना सम्पन्न


जुम्ला । पातारासी गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न २१७ वटा विकासे योजना सम्पन्न गरेको छ ।

पालिकाभित्रका सात वटा वडामा जम्मा २२६ वटा योजना सम्झौता भएकामा २१७ वटा निर्माण सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन शाहीले जानकारी दिए। वडा नं १ मा २४ वटा योजनामध्ये २२ वटा र वडा नंं २ मा ४२ योजनामध्ये ४० योजना निर्माण भएका छन् ।

यसैगरी वडा नं ३ मा ३९ मध्ये ३३ र वडा नं ४ मा ३९ मध्ये ३८ वटा योजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको प्रमुख प्रशासकीय अधिकृत शाहीको भनाइ छ । यसैगरी, वडा नं ५ मा २९ योजनामध्ये सबै, वडा नं ६ मा ३४ मध्ये ३१ वटा र वडा नं ७ मा २४ योजनामध्ये सबै निर्माण सम्पन्न भई सञ्चालनमा आएको पातारासी गाउँपालिकाले जनाएको छ ।

उक्त योजनाका लागि १५ करोड ७६ लाख २२ हजार रुपैयाँ बजेट खर्च भएको छ । यसरी वडा तहमा विनियोजन भएको कूल बजेटको ८१.१२ प्रतिशत विकास बजेट खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीले बताए।

सो गाउँपालिकाले गत आर्थिक वर्षमा १६ लाख ५० हजार रुपैयाँ आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा लक्ष्यभन्दा बढी २३ लाख २९ हजार ६४ हजार रुपैयाँ सङ्कलन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत शाहीले भने, “ठेक्का लगाइएका सातमध्ये बहुवर्षीय एक योजनाबाहेक बाँकी ६ वटा योजना सम्पन्न भएका छन् । चालु तर्फ २२ करोड ७९ लाख १६ हजार रुपैयाँ मध्ये ८६ प्रतिशत खर्च भएको छ ।

पुँजीगत तर्फ १२ करोड ३३ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएकामा ६४ प्रतिशत खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीको भनाइ छ ।”

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार  १६ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।