कोशी प्रदेश : क्यान्सर, मिर्गौलालगायतका बिरामीलाई ८ करोड ८५ लाख रुपैयाँ सहायता वितरण


झापा । कोशी प्रदेश सरकारले कडा रोगका बिरामीलाई ८ करोड ८५ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेको जनाएको छ ।

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा केनिन राईका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सहायताका लागि १ हजार ७१५ जना बिरामीले मन्त्रालयबाट सहायता रकम प्राप्त गरेका हुन् ।

क्यान्सर, मिर्गौला, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेन एनिमियालगायतका बिरामीले अघिल्लो आव २०८०/८१ मा दिएका निवेदनका आधारमा ५० हजार रुपैयाँ र १ लाख रुपैयाँका दरले आर्थिक सहायता वितरण गरिएको उनले जानकारी दिए।

उनले क्यान्सर, मिर्गौला, स्पाइनल इन्जुरी, हेड इन्जुरीका १ हजार ६६० बिरामीलाई ५० हजार रुपैयाँका दरले र मिर्गौला ट्रान्सप्लान्टका ५५ बिरामीलाई १ लाख रुपैयाँका दरले सहायता रकम वितरण गरिएको बताए। चालु आव २०८२/८३ मा सरकारले आर्थिक सहायताका लागि बजेट विनियोजन नगरेको उनले बताए। “यो आवमा यस्तो सेवा मन्त्रालयले राखेको छैन”, सूचना अधिकारी राईले भने, “आर्थिक रुपमा भार धेरै भयो । कडा रोग लागेका बिरामीलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने र बिमा गरिसकेकाहरुको नवीकरण गरिदिने कार्यविधि बनेको छ । जिल्लाहरुबाट तथ्याङ्क सङ्कलन गरिरहेका छौँ । चाँडै सूचना जारी गरेर काम थाल्नेछौँ ।”

विगतको कार्यविधिमा मिर्गौला प्रत्यारोपण गर्नेलाई २ लाख रुपैयाँ र अन्य कडा खालका रोग लागेकालाई १ लाख रुपैयाँका दरले सहायता उपलब्ध गराउने प्रावधान थियो । तर माग धेरै र बजेट अभाव भएपछि सरकारले गत वर्ष आधा मात्रै बाँड्ने निर्णय गरेको थियो ।

उनले विसं २०८० चैतबाट मन्त्रालयले निवेदन लिने काम बन्द गरिसकेको जानकारी दिए। प्रदेशमा कडा रोग लागेका बिरामीलाई पहिलोपल्ट आव २०७९र ८० बाट आर्थिक सहायता वितरण सुरु गरिएको थियो ।

प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार  ११ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।