सहरमा बेथिति निम्तिए पनि गाउँघरको सहकारी बन्दैछ किसानको सारथि


काठमाडौँ । एकातिर सहरका ठूला सहकारीहरुमा बचत अपचलन र ठगीका घटनाहरुले बचतकर्तालाई रुवाइरहँदा अर्कोतिर गाउँमा भने त्यही सहकारी स-साना उद्यमी व्यवसायी तथा किसानको सारथि बनिरहेको छ ।

सहर बजारमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी तथा सञ्चालकहरूको ठगीका घटनाले सहकारीप्रति विश्वास गुम्दै गइरहँदा कतिपय गाउँमा भने सहकारीको विश्वसनीयता र आवश्यकता झन् बढ्दै गइरहेको छ ।

विशेषत काठमाडौँ, पोखरा, बुटवल लगायतका ठूला सहरहरूमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरूका सञ्चालकले गरेका बचत दुरुपयोग घटनाले जो–कोहीलाई तर्साएको छ । विशेषतः सहकारी ठगी प्रकरणमा मुछिएर अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पटक पटक थुनामा छन् । यसले पनि धेरैलाई सहकारीमा बचत गर्ने भन्ने बित्तिकै झसंग हुने अवस्था सिर्जना भइरहँदा गाउँघरमा भने सहकारी किसानहरूको साहारा बनेको छ ।

सहकारीले सहरबजारमा आकर्षक योजना ल्याउने, प्रतिफल धेरै दिने जस्ता हल्ला खल्ला गर्ने भएका कारण सर्वसाधारण पनि आकर्षित भए र बचत गर्दै गए । अहिले तिनै केही खराब नियत बोकेका सहकारीहरूको कारण समग्र सहकारी क्षेत्रले नै संकट बेहोर्नु परिरहेको छ, विश्वास गुमाउनु परेको छ । अहिले सहकारीका लाखौं बचतकर्ताको जीवनभरको कमाइ स्वाहा हुने खतरा बढ्दै गएको छ ।

यसरी सहरी क्षेत्रमा सहकारीप्रतिको विस्वास घट्दै जाँदा गाउँटोलमा रहेको सहकारी प्रति भने त्यसको असर परेको छैन । अर्कोतिर गाउँघरमा भने सहकारीले जीविकोपार्जनका लागि आर्थिक र मानसिक रुपमा आम सर्वसाधारणलाई सहयोग र प्रेरणा दिँदै आएको छ । गाउँटोलमा सहकारीले नै जीवनस्तर उकास्ने आधार बनेको छ ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ३ निवासी निरुता मल्ल ठकुरीले किराना पसल सञ्चालन गरीरहेकी छिन् । सहकारीबाट ५ लाख रुपैयाँ ऋण लिएर उनले व्यवसाय सुरु गरेकी थिइन् । उनले २ वटा सहकारीमा दैनिक ४ हजार रुपैयाँ बचत गर्दै आइरहेकी छिन् ।

ठकुरी सहकारीबाट बिना धितो ऋण लिएर आफ्नो व्यवसाय सुरु गर्दा निकै सहज भएको सम्झन्छिन् । उनले सहकारीमा दैनिक थोरै थोरै बचत गरेर धेरै भएको र आफूलाई चाहिँदा अहिले ऋण लिनु नपर्ने अवस्था रहेको उनले सुनाइन् । सहकारीले ऋण दिएर व्यवसाय गर्ने आँट आएर व्यवसाय गर्न सम्भव भएको उनी सुनाउँछिन् । दैनिक बचत गरेको रकम महिना–महिनामा लिएर आफ्‌नो व्यवसायलाई उकास्दै लगेको उनले बताइन् । उनी भन्छिन्, ‘सहकारीको सहायताले नै आफ्‌नो जिवीकोपार्जनसँगै केही रकम बचत पनि गरेकी छु ।’

त्यस्तै धादिङकै सिद्धलेक गाउँपालिका वडा नं. २ बस्ने संगीता अर्यालले सहकारीकै ऋण सहयोगमा तरकारी व्यवसाय गरेर मनग्य आम्दानी गरिरहेकी छन्‌ । सहकारीको सदस्य भएर व्यवसायिक कृषिमा लागेकी उनी अहिले आफूलाई कमजोर नठानी हरेक कार्यक्रममा अग्रसर देखिन्छिन्‌ । समुदायमा एउटा नमुना कृषक बनेर घरपरिवार चलाएकी उनी सहकारीकै सहयोगले आफू आत्मनिर्भर भएको बताउँछिन् ।

काउली, बन्दा, गोलभेडा लगायतका मौसम अनुसारका तरकारी उत्पादन गर्दै आएकी अर्याल उत्पादित तरकारी बेच्न बजार पुग्छिन्‌ । तरकारी बेचेर घरपरिवार चलाएकी उनको अहिले दैनिक २–३ हजारसम्मको कमाइ हुन्छ ।
सहकारीबाट बचतसँगै आत्मनिर्भर हुने काम गर्न अनुरोध गर्दा सुरूमा संगीतालाई कुनै विश्वास थिएन । ‘बचत गर्न भनेर कतै पैसा फस्ने त हैन भनेर सुरुमा डर लागेको थियो,’ उनले भनिन् ।

सुरुमा मासिक २०० रुपैयाँ बचत गरेर सदस्य बनेकी उनलाई तरकारी खेती गर्न ५० हजार ऋण दिएपछि सिँचाइको व्यवस्था मिलाएर तरकारी खेती गरिन्‌ । तरकारी खेती फस्टाउँदै गयो । सोही कारण उनी अहिले सफल महिला उद्यमी बनेकी छन् । ‘मैले दिनको २ देखि ३ हजारसम्म कमाइ गर्छु । सुरुसुरुमा यातायातको समस्या थियो । डोकोमा बोकेर बजार पुर्‍याउनुपर्थ्यो,’ उनले भनिन्,‘अहिले त यातायातको सुविधा छ, बिहान गाडीमा तरकारी लिएर बजार लगेर बेच्छौँ ।

सहरी क्षेत्रमा सहकारीप्रति नकारात्मक भ्रम फैलिए पनि ग्रामीण क्षेत्रका सहकारीमा भने खासै समस्या नभएको जानकारहरू बताउँछन् । वि.सं. २०५४ सालमा स्थापना भएको धादिङकै नीलकण्ठ नगरपालिका वडा नं. ३ मा रहेको स्रोत परिचालन बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दयानिधि नेपाल सहकारीले ग्रामीण क्षेत्रका सदस्यलाई आर्थिक रूपमा सबल बनाउने, बैंकिङ पहुँच नपुगेका क्षेत्रहरूमा वित्तीय सेवा पुर्‍याउने लगायतका काम गर्दै आइरहेको बताउँछन् ।

सहकारीले आपसी सहयोग र साझेदारीको भावना मजबुत बनाउने कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको समेत उनले बताए ।

उद्यमशीलता, बचत प्रोत्साहन, सामाजिक तथा साँस्कृतिक कार्य पनि सहकारीले गर्दै आएको उनी बताउँछन् । उनी नेतृत्वको स्रोत परिचालन बचत तथा ऋण सहकारी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३८ औँ स्थापना दिवसको अवसरमा उत्कृष्ट सहकारीका रूपमा सम्मानित समेत भएको थियो ।

त्यस्तै, बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं. २ मा रहेको कफलबोट साना किसान कृषि सहकारीमा रकम दुरुपयोगको त्रास नभएको सहकारीका अध्यक्ष जयराज भट्ट बताउँछन् । उनी भन्छन्, ‘पछिल्लो समय मानिसहरु सहर केन्द्रित भएर बसाई सर्ने गरेका छन् । त्यसको असर भने सहकारीमा परेको छ ।’ पहिले २०० जना सदस्य रहेको यस सहकारीमा अहिले भने २५ जना मात्र रहेको उनको भनाइ छ ।

सोही वडाका अध्यक्ष विष्णुदत्त भट्टले सहकारीले सुरुसुरुमा राम्रो काम गरेपनि अहिले सदस्य घट्दै जाँदा समस्या भएको बताए । उनले सदस्यहरू व्यवसाय छाडेर सहर जान थाल्दा सहकारी शून्यजस्तै हुन थालेको सुनाए ।
‘कृषिमा ऋण लिएर कृषि व्यवसाय गर्न थाले तर उत्पादित वस्तुहरूको बजारीकरण हुन सकेन जसको कारण कृषिमा चासो नै राखेनन्,’ भट्टले भने ।

ऋण लिनेहरुले पनि उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुभन्दा पारिवारिक खर्च गर्ने परिपाटीले कतिपय सहकारीमा बेथिति निम्तिएको जानकारहरू बताउँछन् ।

सहकारीको लगानी उत्पादनशील क्षेत्रमा पार्न सकिएका त्यसले अर्थतन्त्रमा समेत टेवा पुग्ने जानकारहरू बताउँछन् । आधुनिक तथा व्यावसायिक कृषिमा नागरिकलाई प्रोत्साहन गर्दै अगाडि बढ्न सकिएमा सहकारीको भूमिका अझै बढ्ने उनीहरूको भनाइ छ ।

प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार  ०८ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।