के हो सुनको मूल्य बढ्नुको खास कारण ?


काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा एकपछि अर्को उचाइ लिएको सुनको मूल्यले नेपालमा पनि नयाँ कीर्तिमान बनाइरहेको छ । सोमबार तोलाको २ लाख ५ हजार ३०० रुपैयाँमा सुनको कारोबार भइरहेको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो ।
यतिबेला अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिबीच सुनको माग उच्च दरले बढ्दा मूल्यमा असर परिरहेको छ । सुनको मूल्य ४ हजार अमेरिकी डलर पुग्ने अनुमान रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्य बताउँछन् ।

उनी भन्छन्,‘अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । जब अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको माग र आपूर्ति बढी प्रभावित हुन्छ, मूल्यमा पनि प्रभावित हुन्छ ।’

उनका अनुसार, अन्तर्राष्ट्रिय बजारको आधारमा नेपालमा पनि सुनको मूल्य निर्धारण गर्ने गरिन्छ । अन्तराष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य बढेको हो ।

अमेरिकी केन्द्रीय बैंकको ब्याजदर घटबढ हुने कारणले पनि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उत्तरचढाब बढिरहेको छ । जस कारण नेपालमा पनि सुनको मूल्यले उच्च मूल्यको नयाँ कीर्तिमान बनाइरहेको शाक्यको भनाइ छ ।

‘विश्वभर आर्थिक गतिविधिमा सुस्तता देखिएकाले औद्योगिक तथा अन्य उत्पादन क्षेत्रतर्फ लगानी जान सकेन, सो लगानी पनि सुनमै हुन थालेपछि मागसँगै मूल्य बढेको हो,’ उनले भने ।

नेपाली बजारमा सुनचाँदी खरिद बिक्रीको सिजन सुरु भए पनि मूल्य आकाशिएपछि सुनको मूल्य नेपालीको क्रयशक्तिभन्दा माथि पुगेको कारण बजार सुनसान रहेको व्यवसायीहरु बताउँछन् ।

विगत १२ वर्षदेखि नीलकण्ठ नगरपालिका–३ मा प्राञ्जली सुनचाँदी पसल चलाउँदै आएका व्यापारी जीतबहादुर सुनार भन्छन्,‘अब व्यवसाय चलाउन सकिदैन ।’

चाडपर्वको समयमा सुनचाँदी व्यापार राम्रो हुने भए पनि हालको समयमा व्यापार हुन नसकेको उनको भनाइ छ । अहिले व्यापार राम्रो हुने समय भए पनि सुनसान जस्तै रहेको सुनारले बताए ।

उनी भने,‘विगतका वर्षहरुमा तीजमा सुनचाँदीको कारोबार राम्रो हुने गरेकोमा यसपालीको तीजमा सुनको व्यापार नै भएन । नयाँ सुन बनाउने त एक जना पनि भएनन् । त्यस्तै २/४ जना पुरानो सुनबाट नयाँ डिजाइन बनाउनेहरु आएका थिए ।’

उपभोक्तासँग पैसा नहुनु तथा मूल्य बढ्नुले धेरै किन्नेहरूले पनि थोरै किन्ने गरेका छन् । व्यापार नभए पनि पसल खोलेर बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । पसल खोल्नु र नखोल्नुमा कुनै फरक छैन, किन बन्द गर्नु भनेर बाध्य भएर पसल खोल्ने गरेको उनले बताए ।

प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार  १५ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।