सुनको मूल्य बढेपछि नक्कली गहनामा झुम्मिए ग्राहक  


काठमाडौँ । सक्कली सुन महँगिएपछि नक्कली सुनका गर–गहनामा ग्राहकहरू झुम्मिएका छन् । पछिल्लो समय सक्कली सुनको मूल्य दैनिकजसो मूल्य बढ्न थालेपछि ग्राहकहरू ग्यारेन्टेड नक्कली सुनको गहनातर्फ आकर्षित भएका हुन् । जसकारण सक्कली सुनको बिक्री घट्दा नक्कली सुनको भने बिक्री बढेको छ ।

झट्ट हेर्दा सक्कली जस्तै देखिने भएकाले सस्तोमा नक्कली सुनका गहना खरिद गर्ने ग्राहक बढेका हुन् ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा समेत परेको हो । त्यस्तै अमेरिकी डलरको दर बढेसँगै सुनको मूल्य पनि वृद्धि हुन थालेको हो । अमेरिकी केन्द्रीय बैंकले निक्षेपको ब्याजदर घटाउनु, अर्थतन्त्रमा आएको सुस्तता जस्ता कारणले सुनको मूल्य वृद्धि भएको विज्ञहरु बताउँछन् ।

आइतबार मात्रै नेपाली बजारमा सुन प्रतितोला २ लाख १२ हजार रूपैयाँ पुगेको छ । गत भदौ १३ गते शुक्रबारदेखि २ लाख माथि लागेको सुनको मूल्यले दैनिक रेकर्ड बनाएको छ । जसअनुसार आइतबार पनि सुनको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको हो । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ५८६.७६ अमेरिकी डलर र चाँदी ४१.०१ अमेरिकी डलरमा कारोबार भइरहेको थियो ।

यसरी एकपछि अर्को दिन सुनको भाउले नयाँ उचाइ छुँदा ग्राहकहरू नक्कली सुन किन्न बाध्य भएको सुन व्यवसायीहरू बताउँछन् । सुन जस्तै देखिने नक्कली धातुका गहनाको व्यापार पहिलेदेखि नै हुँदै आएको हो । तर चाडपर्व नजिकिँदा कारोबार झनै बढेको व्यवसायीहरु बताउँछन् ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेर किनी नसक्नु भएपछि नक्कली गहनाप्रति महिलाको आकर्षण बढेको हो । साथै कतिपयले भने चाडबाडमा चोरी हुन सक्ने डरका कारण पनि नक्कली सुन किन्न थालेको बताउन थालेका छन् ।

विशेषगरी तिजदेखि तिहारसम्म नक्कली गहना किन्न आउनेहरु बढी हुने गरेको आस्रेया शृङ्गार पसलकी खुश्बु ठाकुर बताउँछिन् । उनले विगत ६ वर्षदेखि बानेश्वरमा शृङ्गार पसल चलाउँदै आएकी खुश्बुले भनिन्,‘महँगो सुन लगाएर चोरी हुने डर भएकाले नक्कलीले काम चलाउनेहरु अहिले बढेका छन् ।’

यस्तै अनलाइनमार्फत नक्कली सुनका गहना वा पञ्चधातुका गहना बेच्दै आएकी सूचना भण्डारी पनि पछिल्लो समय नक्कली सुनको कारोबार बढ्न थालेको बताउँछिन् ।

पछिल्लो समय सक्कली सुनको मूल्य वृद्धि हुँदै गएपछि बिवाहमा पनि नक्कली सुनका गहना नै लगाउनेहरू बढेको उनको अनुभव छ । ‘विवाहमा पनि सुनको जस्तै देखिने गरी नक्कली सुनका गहना अडर गर्नेहरू बढेका छन्,’ उनले भनिन् ।

यस्तै गौशालाकी प्रमिलाले आफूले प्रायःजसो नक्कली गहना नै प्रयोग गर्ने गरेको बताइन् । ‘सक्कली गहना लगाएर हिँड्न सकिँदैन,’ उनले भनिन् ‘चोरी हुने डर हुन्छ । त्यति मात्र होइन ज्यानै पनि जान सक्छ ।’

बिहेको समय र देखावटीका लागि भएपनि सुन लगाउनुपर्ने चलन रहेपनि सक्कली सुन किन्न आर्थिक अवस्थाले नदिएपछि जलपी सुन लगाउन थालेको उनको भनाइ छ ।

उनीहरूमात्र होइन्, पछिल्लो समय सक्कली सुनको मूल्य ह्वात्तै बढेपछि नक्कली सुन पसलमा ग्राहकको उपस्थिति पनि बाक्लिन थालेको छ । कतिपयको भने अनलाइनबाट नै नक्कली सुनको खरिदबिक्री भइरहेको छ ।

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार  ०८ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।