काठमाडौं । चालु आर्थिक वर्षको साउनमा बैंक तथा वित्तीय संस्थाले ९ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएका छन् ।
राष्ट्र बैंक तथा वित्तीय संस्था नियमान विभागले बैंकहरूले उक्त नाफा आर्जन गरेको तथ्यांक सार्वजनिक गरेको हो । जसअनुसार साउनमा विगतकै निरन्तरता कायम रहँदै सबैभन्दा बढी नाफा वाणिज्य बैंकहरूले नै कमाएका छन् ।
चालु आवको साउनमा वाणिज्य बैंकहरूले मात्रै ८ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएका छन् । बैंक तथा वित्तीय संस्थाको कुल नाफामा वाणिज्य बैंकको हिस्सा ८९.३३ प्रतिशत छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा ७८ अर्ब ८० करोड नाफा कमाएका थिए । २०८१ साउनमा भने १० अर्ब १६ करोड रुपैयाँ नाफा कमाएको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको थियो ।
साउनमा गत असार मसान्तमा तुलनामा बैंकहरूको निक्षेप ६३ अर्ब रुपैयाँ र कर्जा १८ अर्ब रुपैयाँले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । गत आवको साउनमा निक्षेप ५७ अर्ब रुपैयाँले घट्दा कर्जा भने ३ अर्बले बढेको थियो । ४ खर्ब ४४ अर्ब ५८ लाख रुपैयाँ चुक्ता पुँजीसहित कुल ८ खर्ब ४० अर्बको पुँजी कोष रहेको बैंकहरुले उक्त मुनाफा आर्जन गरेका हुन् ।
साउनमा वाणिज्य बैंकहरूले ८ अर्ब ३८ करोड, विकास बैंकहरूले करिब ८२ करोड र फाइनान्स कम्पनीहरूले करिब १८ करोड रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकको तथ्यांक छ ।
बैंकहरूको गैरबैंकिङ सम्पत्ति पनि बढेर ५० अर्ब माथि पुगेको छ । साउन मसान्तमा गैरबैंकिङ सम्पत्ति ५० अर्ब ५६ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
साउनमा सबैभन्दा बढी नाफा ग्लोबल आईएमई बैंकले कमाएको छ । यस बैंकको नाफा ७८ करोड ४५ लाख रुपैयाँ छ भने दोस्रोमा नबिल बैंकको ७१ करोड ६४ लाख रुपैयाँ, तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६३ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन भएको छ ।
यस्तै राष्ट्रिय वाणिज्य बैंकको नाफा ५५ करोड ८३ लाख रहँदा नेपाल बैंकको ५५ करोड २७ लाख रुपैयाँ छ भने प्राइम कमर्सियलको ५० करोड ५० लाख, कुमारी बैंकको ४९ करोड २४ लाख रुपैयाँ, एभरेष्ट बैंकको ४८ करोड ३९ लाख रुपैयाँ नाफा छ ।
केन्द्रीय बैंकका अनुसार एनएमबी बंैकको नाफा ४६ करोड ६८ लाख, हिमालयन बैंकको ४० करोड ८९ लाख, सिद्धार्थ बैंकको ४० करोड १४ लाख, लक्ष्मी सन्राईज बैंकको ३९ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ ।
सानिमा बैंकले ३९ करोड ३ लाख लाख नाफा कमाउँदा एनआईसी एशिया बैंकले ३१ करोड ९४ लाख, प्रभु बैंकले ३० करोड २३ लाख, सिटिजन्स बैंकले २७ करोड २५ लाख, स्ट्यान्डर्ड चार्टर्डको नाफा २७ करोड १६ लाख रुपैयाँ छ ।
यस्तै माछापुच्छ्रे बैंकको नाफा २६ करोड ५२ लाख रुपैयाँ रहँदा नेपाल एसविआई बैंकको १५ करोड ८९ लाख र कृषि विकास बैंकको ३८ लाख रुपैयाँ छ ।
बैंकहरुको ब्याज आम्दानीसँगै ब्याज खर्च पनि घटेको छ । तर, अधिक तरलताले गर्दा बैंकहरूमा बढेको प्रतिस्पर्धाले निक्षेप र कर्जाको भारित औसत ब्याजदरबीचको अन्तर (स्प्रेड दर) घट्दै गएको छ । त्यस्तै अधिक तरलता हुँदा त्यसको लागत भार बैंकहरूमा परेको जानकारहरू बताउँछन् ।
राष्ट्र बैंकले तरलता प्रशेचन गरिरहेको भए पनि निक्षेपको लागतभन्दा कम दरमा तरलता प्रशोचन भएकोले ब्याज खर्चको तुलनामा ब्याज आम्दानी बढीले घटेको अवस्था छ । खुद ब्याज आम्दानीमा नै कमी र सञ्चालन खर्च पनि बढेका कारण गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउनमा बैंकहरूको नाफा घटेको हो ।












प्रतिक्रिया