काठमाडौं । गत शुक्रबार साँझ साढे ६ बजेदेखि मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुल छेउमा पहिरो गएर करीब ४५ घण्टासम्म सडक अवरुद्ध बन्यो । त्यस अवधिमा दशैं मनाउन काठमाडौं लगायतका सहरबाट घर फर्केका हजारौँ यात्रु बिचल्लीमा परे ।
यो सडकखण्डमा मात्र नभई अन्य विभिन्न सडकमा कतिपय निर्माणका काम नसकिँदा पनि सडक अस्तव्यस्त छन् । त्यसले नागरिकलाई घर जान निकै सास्तीमात्र हैन जोखिमपूर्ण यात्राका लागि पनि बाध्य छन् ।
नेपालीहरूको महान चाड हो दशैं । विभिन्न कामले सहरमा बसिरहेका नागरिकहरू दशैं मनाउनका लागि ५० हजारको संख्यामा सडकमार्ग हुँदै घर गइरहेका छन् ।
दैनिक ५० हजारको संख्यामा नागरिकहरू काठमाडौंबाट आआफ्नो घर दशैं मनाउनका लागि फर्किरहेका छन् । तर, ती नागरिकहरूले बर्सौँदेखि दशैंमा घर जाँदा सडकमा सास्ति खेप्दै आउनुपरेको छ ।
एकातिर अव्यवस्थित सवारी व्यवस्थापनको मारमा महंगो भाडा तिर्न बाध्य यात्रुहरू अर्कातिर ठेकेदारको ढिलासुस्ती, लापरबाही र बेथितिले अलपत्र बनेका सडकहरूमा घण्टौंसम्म जाममा बस्न बाध्य छन् ।
रामेछाप साँघुटार बस्ने सिर्जनालाई दसैँमा घर कसरी जाने भन्ने चिन्ताले सताएको छ । वर्षैनी चुनाव जित्ने एजेण्डा बनेको सडकको अवस्थाले उनलाई पिरोल्न थालेको छ । हरेक वर्ष जस्तो यसवर्ष पनि घर उनी आतुर छिन् । तर, कच्ची सडक, बर्सातले भत्किएका बाटो, अव्यवस्थित सार्वजनिक यातयातले दिक्दार भएकी उनलाई घर फर्किन नै हम्मेहम्मे परेको छ ।
आफु सानै हुँदा अब सडक मर्मत हुन्छ रे भनेको सुन्दै आएकी बताउँदै उनले भनिन्, दशैं लागिसक्यो, तर अहिले देशभरका राजमार्ग र सडकहरुको अवस्था हेर्ने हो भने कुनै पनि सहज छैन ।’
दसैँमा काठमाडौँबाट मात्र ३० देखि ३५ लाख मानिस बाहिरिने गरेका छन् । पोखरा लगायतका अन्य सहरबाट पनि त्यति नै संख्यामा मानिसहरु घर फर्किन्छन् ।
यो पर्यटकको सिजन पनि हो । तर, यस्तो समयमा पनि सडक नबन्दा यात्रुहरुको विचल्ली हुने गरेको छ । ‘राजनीतिक नेताहरु हरेक चुनावमा सडक निर्माणलाई प्राथमिकता दिन्छन्,’ उनीले भनिन्,‘तर, चुनाव सकिएपछि ती प्रतिबद्धता सडकमा नै हराउँछन् । ’
विकासको सुरुवात नै सडकबाट हुन्छ भन्ने सुन्दै आएकी उनलाई सडक सुधारको गति भने कछुवाको तालमा भएको आवास भएको बताउँछिन् ।
सालु साँघुटार सडक रामेछाप र ओखलढुंगा जोड्ने सडक हो । यो सडकले रामेछापबासीलाई मात्रै असर गरेको छैन, यसले रामेछाप र ओखलढुंगा दुवैतिरको व्यापार, व्यवसाय र दुवै जिल्लाका पर्यटनलाई पनि असर गरिरहेको छ । तर, त्यो सडक हालसम्म पनि निर्माणकै चरणमा अल्झिएको छ । वर्षायाममा सडक हिलोले भरिन्छ, सुक्खायाममा धुलो उडेर जनजीवन नै प्रभावित हुन्छ ।
यता, सालु–साँघुटार सडक निर्माणको क्रममा नै रहेको रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपाने बताउँछन् । उक्त सडकको जिम्मा इन्डियाको कम्पनीले पाएको हुनाले आफुहरुले केही काम नै गर्न नपाएको उनले बताए ।
रामेछाप नगरपालिकाका प्रमुख न्यौपाने भन्छन्, “सालु साँघुटार सडकको जिम्मा भारतको एक कम्पनीलाई दिइएको छ । संघीय सरकारको योजना भएकाले स्थानीय तहको हस्तक्षेप सीमित छ ।” उनी थप्छन्,“हामीले केही गर्न सक्दैनौं । यदि यो सडक बनाउन नगरपालिकाको सबै बजेट पनि लगाइयो भने पनि पर्याप्त हुँदैन । हामीले आफ्नो तहबाट पहल भने गरिरहेका छौं ।”
निर्माण व्यवसायीले निर्धारित समयमा काम सम्पन्न नगर्दा मन्थलीका मुख्य सडक हिलाम्मे छन् । ग्रामीण कच्ची सडकको ठाउँठाउँमा भासिने र पहिरो गई गाडी गुडाउनै नसकिने बनेका छन् । सालु देउराली हुँदै साँघुटार जो २५ किलोमिटर बाटोमा २ घण्टा लगाएर यात्रा गर्नुपर्ने बाध्यता छ ।
यात्रु मात्र नभइ यो सडकमा गाडि चलाउने चालकलाई पनि उत्तिकै मर्का परेको छ । सडकका कारण ज्यान नै जोखिममा राखेर काम गर्नुपर्ने बाध्यता रहेको सोही सडकमा विगत २ वर्षदेखि गाडि चलाएर जिविकोपार्जन गर्दै आएका चालकको भनाइ छ ।
सालु साँघुटार सडक मात्र नभइ रामेछापका जिल्ला पूर्वाधार कार्यालयमार्फत निर्माण भइरहेका मन्थली– पकरबास–गोगनपानी–गाल्वा सडक, सित्खा–गोगनपानी –धुलेबेसी–भोटनागी सडक र खिम्ती–रस्नालु–ठोसे सडकलगायतका जिल्लाका महत्वका सडक तथा पक्की पुल निर्माणमा ढिलासुस्ती भएको छ ।
सित्खा–गोगनपानी–धुलेबेसी–भोटनागी सडक गत असोजमा कालोपत्र गर्नुपर्नेमा हालसम्म सम्पन्न भएको छैन ।
त्यसैगरी मन्थली–पकरबास–गोगनपानी–गाल्वा सडक अन्तर्गत पकरबास– गाल्पा सडक कालोपत्र गर्ने अन्तिम म्याद गतवर्षको असार मसान्तसम्म थियो । म्याद सकिएको एक वर्ष बित्दा पनि कालोपत्र नभएपछि ठाउँठाउँमा हिलो भएको छ ।
पकरवास–गोगनपानी–गाल्वा सडक दश किलोमिटर कालोपत्र गर्ने जिम्मा अर्याल ब्रदर्श र दिवा भुवनेश्वरी जेभीले ४३ करोड रुपैयाँमा लिएको थियो । ७.५ किलोमिटरको गोगनपानी–धुलेबेसी–भोटनागी सडक निर्माणको जिम्मा १७ करोड रुपैयाँमा गरिमा रौताहा सगुन र पाँच पोखरी कन्सट्रक्सनले लिएको थियो ।
सोही कार्यालयमार्फत निर्माण भइरहेको खिम्ति–मनास्लु–ठोसे सडक पनि लथालिङ्ग छ ।
साँघुटार सडक आयोजना संघको कार्यक्रम, संघीय गौरवको योजना भएको कारण स्थानीय तहले केही पनि गर्न नसकेको नगरपालिका उपप्रमुख बालकुमारी थापा कार्की बताउँछिन् ।
यस सडक निर्माण पहलको लागि वर्षमा ३० वटा पत्र काटिसकेको बताउँदै उनले आफुहरुले जति गरेपनि बालुवा पानि हालेको जस्तो भएको बताइन् । यो काम एक्जिट बैंकको भएको उनले बताइन् ।
सरकारले एक्जिट बैंकसँगको सम्झौता तोडेर आफैले यस सडकको लागि बजेट निकाशा गर्नुपर्नेमा उनले जोड दिइन् ।
१६ करोड रुपैयाँ भुक्तानी नभएको कारणले काम ठप्प पारेको ठेकेदार बताउँछन् । ‘पैसा नभई सडक बन्दैन । हाम्रो १६ करोड रुपैयाँ भुक्तानी भएको छैन ,’ एक ठेकदारले भने ।
भुक्तानीको लागि बारम्बार पहल गरेतापनि वास्ता नभए पछि निर्माण नै ठप्प पारिएको उनको भनाइ छ । यी सडकहरू मात्र हैन पछिल्लो समय दर्जनौं सडकखण्डहरू बिग्रिँदा यात्रुले सास्ती खेप्दै आउनुपरेको छ ।
कुन राजमार्गको अवस्था कस्तो छ ?
सडक विभागको पछिल्लो विवरण अनुसार, हाल विभिन्न राजमार्गका सडक खण्डहरू अलपत्र छन् । कतिपय सडक मर्मतकै क्रममा छन् भने कतिपयको अवस्था अलपत्र नै छ ।
विभागको पछिल्लो विवरण अनुसार, पूर्वपश्चिम राजमार्गका विभिन्न खण्डहरुदेखि त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी लोकमार्ग लगायतका दर्जनौं सडकका विभिन्न खण्डहरुमा ठूला–ठूला खाल्डा र भ्वाङ परेका छन् ।
अहिले नागढुंगा–नौबिसे–मुग्लिन, नारायणगढ–बुटवल, मुग्लिन–पोखरा, कमला–कञ्चनपुर, ढल्केबर–कोशी ब्यारेजलगायतका सडक स्तरोन्नति भइरहेका छन् ।
यसैगरी अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति गर्ने काम पनि निर्माण कम्पनीका कारण ढिलाइ भइरहेको छ । यतिमात्र नभई अन्य साना ठूला सडकखण्डहरू पनि जीर्ण हुँदा नागरिकहरूले सास्ति व्यहोर्नुपरेको छ ।
रामेछापका सडक मात्रै होइन, हाल पूर्वपश्चिम राजमार्गका विभिन्न खण्डहरुदेखि त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी लोकमार्ग लगायतका सडकका विभिन्न खण्डहरुमा ठूला–ठूला खाल्डा र भ्वाङ परेका छन् ।
अहिले नागढुंगा–नौबिसे–मुग्लिन, नारायणगढ–बुटवल, मुग्लिन–पोखरा, कमला–कञ्चनपुर, ढल्केबर–कोशी ब्यारेजलगायतका सडक स्तरोन्नति भइरहेका छन् ।
यसैगरी अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति गर्ने काम पनि निर्माण कम्पनीका कारण ढिलाइ भइरहेको छ ।












प्रतिक्रिया