काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हासँग भेट गरी नेपालको अटोमोबाइल क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित समस्या र समाधान बारे विस्तृत छलफल गरेको छ । यस भेटघाटमा मन्त्रालयका सचिव कृष्णप्रसाद राउत, उद्योग सचिव डा.रामप्रसाद घिमिरे तथा नाडाका पदाधिकारी एवं केन्द्रीय कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो ।
छलफलको क्रममा अध्यक्ष चौधरीले हालैको जेन–जेड आन्दोलनका क्रममा अटोमोबाइल उद्योगमा प्रत्यक्ष उत्पादनमा क्षति नभए पनि धेरैजसो शो–रुम, कार्यालय र संरचनामा आगजनी तथा तोडफोड भएको उल्लेख गरे । यस्तो परिस्थितिले उद्योगलाई परोक्ष रूपमा ठूलो चुनौती थपेको र ग्राहक विश्वासमा समेत असर पारेको बताउँदै उनले मन्त्रालयले नीतिगत र संस्थागत सहयोग गरेर उद्योगलाई संरक्षण गर्नुपर्ने धारणा राखे ।
अध्यक्ष चौधरीले थप स्पष्ट पार्दै नेपालमा उत्पादित वस्तुहरूको गुणस्तर परीक्षण र प्रमाणिकरण गर्नका लागि मन्त्रालय अन्तर्गत रहेको नेपाल गुणस्तर तथा नापतौल विभाग अझै पर्याप्त परीक्षण उपकरणविहीन रहेको कारण, नेपालमै बनेका वस्तुहरूले समेत गुणस्तर चिन्ह पाउन नसक्ने अवस्था भएको जानकारी दिए । यसले घरेलु उद्योगको विश्वसनीयता र बजारमा प्रतिस्पर्धात्मक क्षमता दुवैमा बाधा पुर्याइरहेको भन्दै तत्कालै परीक्षण सुविधा स्थापना गर्न आग्रह गरे ।
यस्तै, उनले नेपालमा हाल करिब १६ वटा लुब्रिकेन्ट उद्योग सञ्चालनमा रहेको र केही थपिने प्रक्रियामा रहेको जानकारी दिँदै, यी उद्योगहरूको संरक्षण र प्रवद्र्धन गर्नु अत्यावश्यक रहेको बताए । भारतको कर प्रणालीमा हालै गरिएको फेरबदलका कारण अनधिकृत आयात बढ्ने सम्भावनाबारे चिन्ता व्यक्त गर्दै, यसको रोकथामका लागि सरकारले सीमा क्षेत्रमा थप कडाइ गर्नुपर्ने सिफारिस गरे ।
बैठकमा अध्यक्ष चौधरीले मोटर भेहिकल एग्रीमेन्ट अन्तर्गत नेपाल, भारत, बंगलादेश र भुटानबीच सवारी साधन निर्वाध आवागमनको व्यवस्था नेपालका व्यवसायिक यातायात साधनहरूको बजारमा नकारात्मक असर पार्ने भन्दै यस विषयमा सरकारले गम्भीरतापूर्वक मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औंल्याए ।
साथै, नाडाले सुझाव दिएको एजेन्सी दर्ता नियमावली अझै नआएको र उक्त नियमावली समयमै नआएमा नेपालमा सवारी साधन आयात व्यवसाय सञ्चालन गर्न कठिन हुने बताउँदै यसलाई छिटो अन्तिम रूप दिनुपर्ने धारणा राखे ।












प्रतिक्रिया