काठमाडौँ । वर्षभरकै सबैभन्दा धेरै सार्वजनिक बिदा हुने समय हो दसैँ। यही बिदाको मौकामा नयाँ परिवेशको घुमघाम गर्ने चलन एकदमै बढ्दो छ।
दसैँको अवसरमा सबै परिवारजनको भेटघाट हुने हुँदा पारिवारिक घुमघाम संस्कृति पनि फस्टाएको छ। रमाइलो र अनुकुल मौसमका कारण पनि यो समयमा मानिसहरु घुम्न जान रुचाउँछन् ।
तपाईं पनि दसैं बिदामा घुम्न जाने सोचमा हुनुहुन्छ भने तपाईंका लागि यी विभिन्न ठाउँहरु उपयुक्त हुन सक्छन् ।
सुकुटे
काठमाडौंबाट ६५ किलोमिटर दुरीमा रहेको सिन्धुपाल्चोकको सुकुटे पर्यटकीय गन्तव्य हो। यो ठाउँ विशेषगरी र्याफ्टिङका लागि पर्यटकको रोजाइमा पर्छ । अहिले सुकुटे एड्भेन्चर हबकै रूपमा विकास भइसकेको छ।
र्याफटिङसँगै बन्जी, क्यानोनीङ, रक क्लाइम्बिङ, जंगल सफारी, जिपलाइन, ह्याम्मक केबलकार, ३६० डिग्री स्विङ र स्काई साइक्लिङ सुकुटेका आकर्षण हुन् ।
यहाँ एक दिनमै धेरै एड्भेन्चरको मजा लिन सकिन्छ र काठमाडौं फर्किन सकिन्छ। बस्न र खान सुनकोशी र भोटेकोशीको बगरभरि रेस्टुरेन्टहरू छन्। खोलाको बगरमा टेन्टमा बस्न पनि पाइन्छ।
कुलेखानी
एक दिने घुमघामका लागि मकवानपुरको कुलेखानी पनि उपयुक्त ठाउँ हो। काठमाडौंबाट ४५ किलोमिटर दुरीमा रहेको कुलेखानीमा पिकनिक जानेहरू पनि धेरै हुन्छन्।
कुलेखानीको पोखरीमा डुंगा सयर गरेर रमाउन सकिन्छ। दुई दिनको योजना बनाउने हो भने कुलेखानीबाट भोलिपल्ट बिहान हाइकिङ गर्दै मोहिनी झरना पनि जान सकिन्छ। कुलेखानीमा बस्न र खान सुविधा युक्त होटलहरू छन्। यस्तै यहाँ माछाका परिकारको स्वाद लिन पाइन्छ ।

कालिञ्चोक
काठमाडौंबाट सवारी साधनमा सहजै जान सकिने अर्को मनमोहक ठाउँ हो दोलखाको कालिञ्चोक । प्रकृतिको हरियालीका साथै हिमाली दृश्य हेर्न पाइने भएकाले आन्तरिक पर्यटकले निकै रुचाउने गरेका छन् ।
कालिञ्चोक भगवतीको मन्दिर भएकाले यो ठाउँ धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । मन्दिर परिसरबाट लाङटाङ, रोलवालिङ हिमशृंखला देख्न सकिन्छ । चिसो मौसममा यस क्षेत्रमाहिउँ पर्ने भएकाले राजधानीवासी हिउँ खेल्नकै लागि समेत जाने गर्छन् ।
चितवन राष्ट्रिय निकुञ्ज
विशेषगरी एक सिंगे गैडा र हात्तीको लागि प्रख्यात चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी, हात्ती सफारी र्याफ्टिङको लागि प्रख्यात छ ।
यो नेपालको सबैभन्दा पहिलो राष्ट्रिय निकुञ्जको रुपमा सन् १९७३ मा स्थापना भएको राष्ट्रिय निकुञ्ज हो । सन् १९८४ मा विश्व सम्पदा सूचीमा परेको यो राष्ट्रिय निकुञ्जले ९३२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यो नेपालको सबैभन्दा लोकप्रिय गन्तव्यको रुपमा चिनिने गर्छ ।
पोखरा
लामो समयको बिदामा धेरैको रोजाइमा पर्छ पोखरा । यो आन्तरिक वा बाह्य जो कोही पर्यटकका लागि सहज र आकर्षक गन्तव्य हो । यसलाई एउटा घुमघामको पूर्ण प्याकेज मान्न सकिन्छ ।
काठमाडौँबाट पोखरा घुम्न जाने हो भने ४ दिनमा घुमेर आइन्छ । सफा र शान्त वातावरण पोखराको विशेषता हो । यति ठूलो शहरबाट आँखै अगाडी टलक्क टल्केका हिमाल देखिने सायद अरु गन्तव्य छैन । एक दिनका छोटा हाइकिङ रुटले यो गन्तव्यलाई अझ बढी आकर्षक बनाएको छ ।
पोखरा पुगेपछि पोखरा नजिकका केही गन्तव्यहरु : सारङकोट,धम्पुस, घान्द्रुक, शान्ति–स्तुपा घुमेर पनि एक दिनमा फर्कन सकिन्छ । पोखरा प्याराग्लाइडिङ, जीपलाइन, अल्ट्राफ्लाइट, बोटिङ, साइक्लिङ, हाइकिङ गर्ने अवसर पनि मिल्छ ।
लुम्बिनी
गौतम बुद्धको जन्मभूमि लुम्बिनी आन्तरिक वा बाह्य पर्यटकका लागि रोजाइको गन्तव्य हो। काठमाडौँबाट १३ घण्टामा पुग्न सकिने लुम्बिनी विभिन्न शैलीमा निर्माण भएका चैत्य तथा गुम्बाले स्वदेशी तथा विदेशी पर्यटकलाई लोभ्याउने गर्दछ।
अशोक स्तम्भ शिलालेख, पुष्करिणी अर्थात् पोखरी, बुद्ध जन्मेको सङ्केत ढुङ्गा, बुद्ध जन्मेको मूर्ति, मायादेवी मन्दिर, विभिन्न स्तूपा, तेलार नदी, शान्तिदीप र मायादेवी मन्दिर तथा लुम्बिनी गाउँको भग्नावशेष लुम्बिनीका प्रमुख पुरातात्त्विक आधार हुन्।
पुनहिल
पुनहिल दसैं विदामा एक हप्ता घुम्न जानेहरुका लागि उपयुक्त हुन्छ । ५ रात ६ दिनका लागि पुनहिल यात्रा उपयुक्त छ । त्यहाँबाट धौलागिरी हिमालको रोमाञ्चक दृश्य हेर्न पाइन्छ । पुनहिल पदयात्रामा बास बस्न समस्या छैन । पर्यटकीय नगरी पोखराबाट पुनहिल यात्रामा प्यारागलाईडिङको पनि मजा लिन सकिन्छ । प्याराग्लाईडिङका लागि भने थप एकदिन छुट्याउनुपर्छ ।
समुद्री सतहबाट २९०० मिटरमा उचाईमा अवस्थित घोडेपानीबाट एक घण्टाको ठाडो उकालो चढेपछि पुनहिल डाँडामा पुगिन्छ । समुद्री सतहबाट ३ हजार २ सय १० मिटर उचाइको पुनहिलबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगीरि सहित १५ वटा हिमाल हेर्न पाइन्छ ।
स्वर्गद्वारी
स्वर्गद्वारी धार्मिक हिसाबले जति महत्व रहेको छ, प्राकृतिक सुन्दरतामा पनि त्यति नै भरिपूर्ण छ। प्युठानको सदरमुकाम खलङ्गाबाट करिब २६ किलोमिटर पश्चिममा रहेको यो ठाउँबाट ८ हजार मिटरभन्दा अग्ला तीन वटा हिमाल सहित धौलागिरि, नीलगिरि, माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमचुली, मनास्लु, चुरेन, पुथा लगायत हिमशृङ्खला देख्न सकिन्छ।

रारा ताल
समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा रहेको रारा ताल नेपालको सबैभन्दा ठूलो ताल हो । रारा तालले १०.२ स्क्वायर किमी क्षेत्रफल ओगटेको छ । रारा ताल रारा राष्ट्रिय निकुञ्जले घेरिएको छ । यो ताल ट्रेकिङ मन पराउनेहरुको लागि धेरै नै उपयुक्त गन्तव्य हो ।
जुम्लासम्म प्लेनमा वा गाडीमा गएपछि ट्रेकिङ सुरु हुन्छ । पहाडै पहाडको असजिलो बाटोमा हिँडेर विभिन्न गाँउहरु पार गर्दै गएपछि रारा तालको किनारमा पुगिन्छ ।
तिलिचो ताल
मनाङ्गमा रहेको यो ताल नेपालको मात्रै नभएर विश्वकै अग्लो स्थानमा रहेको ताल हो । समुद्री सतहदेखि झण्डै ५ हजारको उचाइमा रहेको छ यो ताल । यो ताल तिलिचो लेक ट्रेकका नामले पनि प्रसिद्ध छ ।










प्रतिक्रिया