दशैंमा घर सजावट: हराउँदै रातो माटो र कमेरोले घर रङ्ग्याउने चलन


काठमाडौँ । पछिल्लो समय राटो माटो र कमेरोले घर रङ्ग्याउने चलन हराउँदै गएको छ । विशेषत: पहाडी क्षेत्रमा २०७२ को विनाशकारी भूकम्पपछिको पुनर्निर्माण पछि माटोे पोतेर घर रङ्गाउने प्रचलन नै लोप हुँदै गएको हो । 

तारकेश्वर गाउँपालिका नुवाकोटमा केही वर्ष अघिसम्म दसैँ नजिकिएसँगै घर लिपपोतको चटारो हुन्थ्यो । गाउँभन्दा पर गएर माटो–कमेरो ल्याइ घर रंग्याउने काम गरेका ती दिनहरू स्थानीय ६० वर्षीया टीकाको स्मरणमा अहिले पनि ताजै छन् ।

भूकम्प अघि त दशैँ आउन १५/२० दिन अघिदेखि नै माटो र कमेरो लिन जाने गरिन्थ्यो जब भुकम्प पछिका पुनः निर्माणमा सबै इट्टा र सिमेन्टको घर बनाए । उक्त घरमा एक पटक रङ् रोगन गरेपछि २/४ वर्षलाई भइहाल्छ । 

‘अहिले त कहाँ माटो, कहाँ कमेरो खोज्ने !  लगाउने मान्छे नै छैनन् । उहिलेको दसैँ त घर लिपपोत थालेको दिनबाटै सुरू हुन्थ्यो । अबको दसैँ त छोराछोरी आउँलान् अनि लाग्ने त होला,’ उनी निराश हुँदै सुनाउँछिन् । 

भुकम्पको राहतको सदुपयोगका लागि भने पनि स्थानीयले घर बनाएका छन् । ती घरमध्ये कति रित्ता छन् त कतिपयमा वृद्धवृद्धामात्रै बस्छन् । 

गाउँको आकार, स्वरुप अनि रंग फेरिएको यो कथा नुवाकोट मात्रै होइन । पहाडी भेगका अधिकांश गाउँमा पछिल्ला केही वर्षयता घरको मौलिक सुन्दरता संकटमा रहेको छ । नुवाकोटकै अर्का स्थानीय हरि लम्साल भन्छन्, ‘सिमेन्टले बनेको घर अनि त्यसमा बजारकै रंग लगाएपछि माटो–कमेरो खोजेर घर रंग्याउने चलन हट्यो ।’ 

‘दसैँ आयो भने सबैभन्दा गाह्रो काम भनेकै घर लिपपोतको हुन्थ्यो,’ उनी भन्छन्, ‘टाढा–टाढा पुगेर माटो–कमेरो खोजेर ल्याउने अनि लगाउने काम गर्नै केही दिन लाग्थ्यो । तर अहिले सजिलो भएको छ ।’

गाउँघरमा यसरी माटो–कमेरोको जोह गरेर घरलाई रंग्याउने बलियो पुस्ता लगभग छैन नै भन्दा हुन्छ । प्रायः गाउँवस्तीहरूमा केटाकेटी र वृद्धवृद्धाको संख्या नै धेरै छ । जसका कारण पनि गाउँको स्वरुप अर्कै रहेको लम्साल बताउँछन् । 

गाउँमै पनि माटो–गारोले बनेका मौलिक घरको सट्टा अब पक्की घर बनाउन थालिएको छ । जसमा सिमेन्टको प्रयोग हुने भएकाले पनि माटो–कमेरोले लिपपोत गर्ने चलन कम हुँदै गएको मेघाङ गाउँपालिकाका सरोज तिवारी बताउँछन् । 

गाउँमा पहिले कमेरो प्रसस्तै पाइन्थ्यो । तर यो अब पाईनै छोडेको उनी बताउँछन् । ‘पुरा घर कमेरोले रंग्याएपछि तल–तल रातो माटोले पोतेर चिटिक्क पारेका ती घर कम्ता सुन्दर हुन्थेनन् । तर अहिले त कमेरो नै पाउन छोड्यो,’ उनी भन्छन् ।

यसप्रकारका मौलिक शैलीका घरको सुन्दरतासँगै स्वास्थ्यका लागी समेत पनि लाभदायक हुने गरेको तिवारीको तर्क छ । उनी भन्छन्, ‘जाडोमा न्यानो, अनि गर्मीमा शीतल हुने यी घरमा बस्नुको आनन्द नै छुट्टै थियो । अहिले यो सिमेन्टको घरमा त चिसोमा अति चिसो, गर्मीमा अति तातो हुन्छ ।’

बर्खे झरी रोकिएर सुरू हुने शरद यामले दसैँ–तिहार जस्ता चाडबाडका साथै एउटा फरक उमंग बोकेर आउने तिवारीको भनाइ छ । ‘बाहिर–भित्र हरेक कोठा–चोटाहरूमा चोखो माटोसँग गाईको गोबर मिसाएर रंग्याएपछि घर नै अर्कै जस्तो हुन्थ्यो ।’ पुराना दिन सम्झिदैं उनी भन्छन्, ‘घर सफाचट्ट बनाएरपछि हाम्रो फुर्तीफार्ती नै छुट्टै हुन्थ्यो । त्यो त एउटा गज्जबको बहाना थियो । तर अहिले त त्यो सबै हराए ।’

उनी थप्छन्, ‘अहिले काम गर्न त सहज भएको छ । माटो–कमेरोले रंग्याउँदा घरमा माहोल नै छुट्टै हुन्थ्यो । हरेक घरमा एकसाथ रंग लगाउँदा गाउँ नै चम्किलो देखिन्थ्यो, त्यो त अबका पुस्ताहरूका लागि कथा जस्तो बनिसकेको छ ।’

गाउँघरमा युवाहरू हुने हो भने त अलि अलि फरक ढंगले भएपनि गाउँघरको परिवेश नै फरक हुन्थे होलान् अहिले त न गाउँमा युवा पुस्ता बस्छन् न त गाउँघरको परिवेश फेरिने आश भयो !

 

प्रकाशित मिति: १४ आश्विन २०८२, मंगलबार  १२ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।