दैनिक जीवनमा डिजिटल कारोबार बढ्दो, दक्षिणा भने नोटमै !


काठमाडौं । पछिल्लो समय प्रविधिको विकासले मानिसहरुको दैनिक जीवनशैलीमा परिवर्तन आएको छ । यसरी दैनिक जीवनका प्रविधिको प्रयोग मार्फत डिजिटल कारोबार गर्दै आएता पनि दसैंमा भने नोट नै माग गर्ने गर्छन् । 

इन्टरनेटले मानिसको दैनिकी मात्रै होइन, व्यवहार र निर्भरता पनि फरक बनाइदिएको छ । वस्तु विनिमयदेखि सुरू भएकोे आर्थिक कारोबार धातुका मुद्रा र कागजी नोट हुँदै अहिलेको डिजिटल कारोबारमा आइपुगेको छ । 

डिजिटल कारोबारलाई सुरक्षित, छिटो र सहज बनाउँदा मानिसको जीवनशैली सोही अनुसार फेरिएको छ । सामान खरिददेखि अन्य कार्यहरूमा भुक्तानी तथा कारोबारका लागि जति सजिलो र उपयुक्त महशुस गरिएको छ । दक्षिणामा भने डिजिटल कारोबारले त्यत्ति मानिसलाई आकर्षण गर्न सकेको देखिँदैन ।

चाडपर्व वा धार्मिक तथा पारिवारिक हिसाबले विशेष मानिने दिनमा आफन्तहरूले दक्षिणा दिने गरेका छन् । बैंकिङ प्रणालीमै आएको परिवर्तनसँगै सुरू भएको डिजिटल दक्षिणाले सोही अनुसारको व्यापकता भने पाउन सकेको छैन ।

अझै पनि दसैंमा नयाँ नोट नै चाहिन्छ भन्ने मान्यता रहेको छ । सरकारको खर्च र नोटमा पुग्ने क्षतिको हिसाबले डिजिटल दक्षिणाले सकारात्मक योगदान नै पुर्याउने भए पनि आममानिसमा त्यो बानि भने बस्न सकेको छैन । मूलतः चाडपर्व, धार्मिक तथा सांस्कृतिक कार्यमा बढी दक्षिणको प्रयोग हुनेभएकाले त्यहाँ नोटमा रंग पोतिएर पनि क्षति हुने सम्भावना बढी हुन्छ । यसले नयाँ नोटलाई केही समयमै झुत्रो बनाइदिन्छ ।

नयाँ नोट छपाइमा सरकारले वर्षेनी करोडौं खर्च गर्छ । दक्षिणको रूपमा प्रयोग हुने यस्ता नोटहरूमा पुग्ने क्षति जोगाउने हो भने पनि विकल्प सावधानी अपनाउने कि डिजिटल दक्षिणा नै हो । 

गत वर्षदेखि दसैंमा नयाँ नोट भन्दा पनि सुकिला नोट लागु गरेता पनि उपभोक्ताले नयाँ नोट नै खोज्ने गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले बताए ।  

पछिल्लो समय विद्युतीय माध्यमको भुक्तानी बढ्दै गएको भए पनि चाडबाडमा नोटको माग भने उच्च नै रहेको उनले बताए । दक्षिणाका रूपमा नोटकै प्रयोग गर्ने संस्कृतिलाई छोडिहाल्न नसक्दा राष्ट्र बैंकले नयाँ नोट वितरण गर्नुको विकल्प नरहेको उनको भनाइ छ । 

‘चाडपर्वमा सांस्कृतिक रूपमा प्रचलनमा रहेको व्यवस्थालाई पनि कायम राख्नुपर्ने अवस्था छ ।’ अहिले नै डिजिटल दक्षिणालाई असफल भन्न भने नहुने उनी बताउँछन् । 

‘डिजिटल कारोबारलाई राष्ट्र बैंकले प्रोत्साहन गरिरहेको छ । अहिले नै डिजिटल दक्षिणाको प्रचलन सबैतिर हुन्छ भन्ने छैन,’ उनले भने, ‘तर सबैतिर विस्तारै यस्तो संस्कृति बढ्दै गएको छ । इन्टरनेटको पहुँच सबैतिर हुनुपर्छ, डिजिटल कारोबारको लागि अझै समय लाग्ने देखिन्छ ।’

डिजिटल भुक्तानीलाई बढाएरै नगद कारोबार न्यून गर्न सकिने बैंकरहरुको भनाई छ । नेपालमा क्यूआरबाट भुक्तानी सुरू भएको दशक नहुँदै नागरिकको आधारभूत आवश्यकता बनेको छ । अहिले तरकारी पसलदेखि शपिङ मलसम्म क्यूआरबाटै भुक्तानी गर्न थालिएको छ । यसले नगद रहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै मानिसको जीवन शैली पनि सोही अनुसार रुपान्तरण गरेको देखिन्छ । 

डिजिटल कारोबारलाई प्राथमिकता दिनका लागि दशैं तिहारको अवसरमा विभिन्न बैंकहरुले अनलाइन प्रणालीलाई विशेष प्राथमिकतामा राखेर ग्राहकहरुका लागि योजनाहरु सकेत ल्याउने गरेको पण्डितले बताए । 

दशैंमा डिजिटल दक्षिणा वितरण गर्दा नयाँ नोट छपाउनका लागि हुने ठूलो धनको खर्च पनि जोगिने विश्वास बैंकहरूको छ । डिजिटल दक्षिणा दिँदा विभिन्न उपहार प्रदान गर्ने गर्छन् । 

डिजिटल कारोबारकै कारण अचेल बजारमा चलनचल्तीका नोटहरूको संख्या पनि घट्न थालेको छ । पूर्णरूपमा वित्तीय कारोबार डिजिटल माध्यमबाट हुन थालेपछि यसको महत्व र प्रयोग बढ्दै जाने बैंकरहरू बताउँछन् ।

राष्ट्र बैंकले नगद कारोबारलाई पूर्ण रुपमा अन्त्य गर्न नसकेपनि डिजिटिल कारोबारमा जोड दियो भने प्रत्येक वर्ष बजारमा अर्बौ रुपैयाँ पठाउनु नपर्ने धारणा धेरैको छ । दशैं तिहारको समयमा धेरै कारोबार हुने भएकाले नयाँ नोटको सट्टा डिजिटल कारोबारलाई बढी जोड दिनुपर्ने सरोकारवालाको सुझाव छ ।

प्रकाशित मिति: १६ आश्विन २०८२, बिहिबार  ०७ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।