सवारी साधनमार्फत काठमाडौं उपत्यका भित्रिन र बाहिरिन रोक


काठमाडौं । सरकारले सवारी साधनमार्फत काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन रोक लगाएको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विपद कार्यप्रमुख रामबहादुर केसीले यात्रामा जोखिम रहेकाले काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन ३ दिनसम्म रोक लगाइएको जानकारी दिए ।

प्राधिकरणले जारी गरेको विज्ञप्तिमा पनि निरन्तरको वर्षालाई ध्यानमा राखेर काठमाडौं भित्रने र बाहिरिने राजमार्ग पूर्णरूपमा बन्द गरिएको उल्लेख छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज १८ देखि २० गतेसम्म भारीदेखि अति धेरै भारी वर्षा हुनसक्ने सम्भावना रहेको भन्दै सवारी साधन आवतजावत बन्द गरिएको बताएको छ ।

“भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउनसक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुनसक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको छ,” प्राधिकरणले भनेको छ ।

प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार  १० : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।