‘रिजर्भ’को बाहानामा यात्रुबाट दोब्बर बढी भाडा असुल्दै यातयात व्यवसायी, नियमनकारी निकाय मुकदर्शक


काठमाडौँ । बाढी, पहिरो र चाडवाडको बाहानामा यातयात व्यवसायीहरुले मनपरी भाडा असुल्न थालेका छन् । बढी भाडा लिनेलाई कारबाही गर्ने भनिए पनि खुल्ला रुपमै महंगो भाडा लिंदा समेत सम्बन्धित निकाय भने मौन रहेको यात्रुहरु बताउँछन् ।

दसैँ मान्नको लागि काठमाडौँबाट ११ सय रुपैयाँमा रामेछाप जिल्लाको साघुँटारसम्म आएकी नविना काठमाडौँ फर्किदा २५ सय रुपैयाँ तिरेर फर्किएको बताउँछिन् । चाडबाडका बेला बारम्बार राजमार्गमा अवरोध उत्पन्न हुँदा सकस खेप्नुपरेको उनले बताइन् ।

यातयात व्यवसायीहरुले रिजर्भको नाममा पैसा असुरिहेको उनले बताइन् । रिजर्भ भनेर मगाइएका गाडिले मनपरी भाडा असुलीरहेको भएतापनि नियमन निकायले केही गर्न नसकेको उनको भनाइ छ ।

‘दसैँ सिकएदेखि नै यताबाट जाने क्यूको गाडि सञ्चालनमा छैन,’ उनले भनिन्, ‘त्यसैले रिजर्भ भनेर भाडा असुली गरिरहेका छन् । केही बोल्यो भने जान मन लागे जानुस् नभए नजानुस् भन्छन् । काठमाडौँ आउँनै पर्ने बाध्यताले २५ सय रुपैयाँ तिरेर आए । ’
रिजर्भ भनेर गाडि चलाउने तर, ठाउँ ठाउँ यात्रु झार्दै चढाउँदै गरेको उनको गुनासो छ ।

बीपी राजमार्ग धुलिखेल–खुर्कोटबाट मन्थली हुँदै घर गएकी उनी वर्षा पछिको बाढी पहिरोका कारण चरिकोट हुँदै काठमाडौँ फर्किएकी थिइन् ।
रोशी खोलाले चौकीडाँडा, कटुन्जेको घुमाउने, चारसयबेशी, गिम्दीबेशी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेशी, पिप्लेमा चार स्थानमा तथा माम्तीमा दुई स्थानमा डाइभर्सन बगाएको छ । त्यस्तै बर्खेखोलादेखि नेपालथोकसम्म तीन स्थानमा डाइभर्सन बगाएको छ ।
चौकीडाँडादेखि नेपालथोकसम्म झण्डै १० करोड खर्चिएर बनाएको डाइभर्सन एक वर्षमै बगाएपछि यात्रुहरु वैकल्पिक बाटो रोज्न बाध्य भएका छन् ।

बीपी राजमार्ग अवरुद्ध हुँदा यात्रुहरुले झण्डै डबल किलोमिटर बढी यात्रा गर्नुपर्ने भएको छ । बीपी राजमार्गको मन्थलीबाट–धुलिखेल ९५ किलोमिटर, धुलिखेलदेखि काठमाडौं ३० किलोमिटर गरेर १ सय ५ किलोमिटरमा काठमाडौं पुगिन्थ्यो ।

तर विकल्पमा रहेको चरिकोट हुँदै दोललघाट निस्केर काठमाडौँको दूरी करिब २०० किमी छ । त्यसैले केही भाडा बढेको भएतापनि दोब्बर भन्दा बढी नै बढाउनु जायज नभएको नबिना बताउँछिन् ।

सार्वजनिक यातायातमा भइरहेको अनियमितता, बाढी पहिरोको समयमा अत्यधिक मूल्य असुली, र राज्यको कमजोर नियमनले गर्दा यात्रुहरू थप समस्यामा परेको उनको भनाइ छ ।

अरनिको यातयात प्रालिले मात्र होइन, दसैँ अन्य यातयात कम्पनीहरुले पनि बढी भाडा लिने गरेका छन् । काठमाडौँबाट १७ सय रुपैयाँमा रुम्जाटार पुगेका राजिब पनि चर्को भाडा तिर्न बाध्य भएका छन् । आफुले ४ हजार रुपैयाँ तिरेर काठमाडाँै आउन बाध्य भएको उनी बताउँछन् ।
‘४ हजार तिरेर काठमाडौँ फर्किदैँछु । सामान्य दुरी बढ्दा यात्रुबाट तेब्बरसम्म भाडा असुली गर्नु ठिक होइन’ उनले भने । दुरी बढेका कारण भाडा केही बढेको स्वाभाविक भएपनि एकतर्फी रूपमा दोब्बरभन्दा बढी असुल्नु लुट भएको उनी बताउँछन् ।

सरकारले दसैँको सन्दर्भमा भाडा अनुगमन गर्ने, बढी लिने गाडीलाई कारबाही गर्ने भन्दै घोषणा गरे पनि त्यो व्यवहारमा कार्यान्वयन भएको देखिँदैन। ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागलगायत निकायले औपचारिक रुपमा अनुगमन जारी रहेको बताएका छन्, तर यात्रुहरूले भने प्रत्यक्ष रूपमा राहतको अनुभूति गर्न सकेका छैनन्।

यातयात व्यवसायीले यात्रु ठगेको कुनै प्रमाण भए पेश गर्न भनेको र प्रमाण प्राप्त भएका कतिपय गाडिहरुलाई कारबाही गर्न भनिएको भैतिक पूर्वधार तथा यातयात मन्त्री कुलमान घिसिङले बताए ।

यस्तै, अवरुद्ध विपि राजमार्ग पनि निर्माणको क्रममा रहेको बताउँदै उनले त्यसपछि यात्रुका समस्या समाधान हुने बताए । बाढिपहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक सञ्चालनलाई पहिलो प्राथमिकतामा राखेर मातहतका निकायले काम गरिरहेका बताएका छन् । यथाशक्य चाँडो अवरुद्ध सडक सञ्चालन गर्न उपकरणसहितका जनशक्ति परिचालन गरिएको उनले बताए ।

यता, यात्रुहरुको चापलाई मध्यनजर गर्दै प्रत्येक बुधवार समिट, शुक्रवार सिता र शनिबार तारा एयरले नियमित रुपमा रामेछाप–काठमाडौँ–रामेछाप उडान गरिरहेको छ । यात्रुहरुको गुनासो पछि उडान सुरु गरिएको नागरिक उड्डयन कार्यालय रामेछापले जनाएको छ । तर, तीन वटै एयरलाइन्समा दुई हप्तासम्मको टिकट बुकिङ भइसकेको छ ।

प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार  १२ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।