बिहीबार यी ठाउँका सडक पूर्ण रुपमा बन्द (सूचीसहित)


काठमाडौं। असोज १७ र १८ को अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण अवरुद्ध राजमार्गहरु अझै सुचारु भएका छैनन् ।

बिहीबार बिहानसम्म देशभरका ९ ठाउँका सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् भने तीनवटा सडक एकतर्फी रुपमा मात्रै सञ्चालनमा आएको नेपाल प्रहरीद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-४ बरुण र मकालु गाउँपालिका-एकुवामा सडक अवरुद्ध भएको छ ।

यस्तै दुई दिनको वर्षका कारण इलामको मेची राजमार्ग अन्तर्गत रहेका इलाम नगरपालिका-९ राजदुवालीलगायतका स्थानहरू पूर्ण रुपमा अवरूद्ध भएको छ भने पाँचथरको तमोर करिडोर अन्तर्गत रहेका पाँचथर तुम्वेवा गाउँपालिकाको नावाखोला सडक अहिलेसम्म पनि पूर्णरुपमा अवरुद्ध रहेको छ ।

यस्तै बागमती प्रदेशअन्तर्गत रसुवाको गोसाइकुन्ड गाउँपालिका-२ स्थित पासाङ ल्हामु सडकखण्ड पूर्ण रुपमा अवरूद्ध रहेको छ ।

यसैगरी, बीपी रागममार्ग अन्तर्गत रहेको काभ्रेको रोशी खोला गाउँपालिका-११ माम्तीखोला, डालाबेसी, बुल्ढुंगा, बाँझोखेतलगायतका स्थानहरूको सडक पूर्ण रुपमा बन्द रहेको छ भने बीपी राजमार्ग अन्तर्गत नै रहेको सिन्धुलीको सुनकोशी गाउँपालिका-१ नेपालथोक सडक अवरूद्ध भएको छ ।

यस्तै, कर्णाली प्रदेश अन्तर्गत रहेका हुम्लाको कर्णाली करिडोरको खर्पुनाथ गाउँपालिका-५ कुरिल्ला सडक र कालिकोटको पचाल झरना गाउँपालिका-८ जुगेनी खोलामा रहेको सडक पूर्ण रूपमा अवरूद्ध रहेको छ भने कोशी लोकमार्ग अन्तर्गत रहेको साँगुरीगढी गाउँपालिका-१स्थित चनौटे, ६ घण्टे र सिमसुवागरी तीन ठाउँमा एकतर्फी रूपमा सडक सञ्‍चालनमा आएको छ ।

यसैगरी बागमती प्रदेश अन्तर्गत मकवानपुरको कान्तिलोकपथ सडकका भिमफेदी गाउँपालिका-८ वगुवा खोला र बकैया गाउँपालिका-११ घटेपाखा सडक एकतर्फी रुपमा सञ्‍चालनमा आएको छ ।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार  ०९ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।