काठमाडौँ । चाडपर्वमा सुनचाँदीको माग निकै धेरै हुन्छ । त्यसमा पनि तिहारमा बढी हुने गर्छ । तिहारमा लक्ष्मी पूजाअघिका दिनहरुमा सुनचाँदीका गरगहना र सामानको माग उच्च हुने व्यवसायीले बताएका छन् ।
शनिबारदेखि सुरु भएको तिहारमा ७० केजी भन्दा बढी सुनको कारोबार भएको छ । त्यसैगरी चाँदीको पनि उच्च माग बढेको छ । यो वर्ष चाँदीको पनि २ हजार केजी बढी कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिकरत्न शाक्यले बताएका छन् ।
अन्य समयको तुलनामा तिहारमा सुनको खपत दोब्बर र चाँदीको खपत तेब्बर हुने गर्छ । एक साताअघिदेखि नै सुनचाँदीका गहनाको माग बढ्ने भए पनि तिहारको तीन दिन बढी कारोबार बढी हुने उनको भनाइ छ । मुख्य चाडपर्व, तीज, दशैँ र तिहारसँगै बिहेको सिजनमा बजारमा सुनको खपत धेरै हुने गर्छ ।
हरेक वर्ष जस्तै यस वर्ष तिहारमा धन तेरसका दिन सबैभन्दा धेरै सुन र चाँदीको कारोबार भएको थियो । त्यस दिन ग्राहकहरूले सिक्री, सुन र चाँदीको सिक्का पैसा, बाला, चाँदीका अम्खराजस्ता सामान धेरै किन्ने गर्छन् ।
‘तीज र दशैंमा समेत सुस्ताएको बजार तिहारमा कस्तो होला भन्ने डरै डरमा बसेका थियौं तर राम्रौ भयो,’ निवर्तमान अध्यक्ष शाक्यले भने । तिहारको सार्वजनिक बिदा सुरु भएसँगै गहना किन्न ग्राहकहहरू आउन थालेपछि व्यवसायीहरू उत्साहित भएकोे उनले बताए ।
धनतेरसका दिन सुन र चाँदीका गहना खरिद गरे घरमा लक्ष्मीको बास हुन्छ भन्ने भारतीय संस्कृति पछिल्लो समय नेपालमा फस्टाइरहेको छ ।
महासंघका अनुसार गत वर्ष तिहारमा ५०\६० केजी सुन चाँदीको व्यापार भएका थियो । तर यस वर्ष सुनको मूल्य उच्च भए पनि कारोबारमा भने त्यति असर नगरेको उनको भनाइ छ । सुनको मूल्य निरन्तर बढ्दा उपभोक्ताहरु सुनप्रति आकर्षित भएका छन् ।
‘नेपाल राष्ट्र बैंकले सुनको आपूर्तिदर बढाएर दैनिक २५ किलोग्राम आयात गर्न दिएको छ । जसले गर्दा व्यवसायीलाई उपभोक्ताको माग पूरा गर्न केही मात्रामा सहज भएको छ ।
‘ग्राहकबाट चाँदीका भाडाकुँडाको पनि उच्च माग थियो। तर चाँदी नपाएका कारण धेरै सामान बनाउन सकेका थिएनौं,’ शाक्यले भने, ‘सुन र चाँदी दुवैको भाउ उच्च भएको अवस्थामा पनि यसपालि उच्च कारोबार भएको छ। चाँदीको अभाव भएको कारण माग पूरा गर्न नसकेको शाक्यको भनाई छ । दशैँ सकिए लगतै बजारमा चाँदीको अभाव भएको थियो । चाँदीका गहना भन्दा पनि भाडाकुँडा बढी बन्ने हुँदा अभाव भएको हो । अभाव हुन नदिनका लागि चाँदीको आयात बढाउनुपर्ने शाक्यको भनाई छ ।












प्रतिक्रिया