वर्षा र बाढीपहिरोः ३ अर्ब २६ करोड रुपैयाँ बराबरको बीमा दाबी


काठमाडौं । असोज १८ गतेदेखिको अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिको हालसम्ममा तीन अर्ब २६ करोड ७६ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको छ ।

काडमाडौं लगायत देशका विभिन्न क्षेत्रमा असोज १८ गते यताको अविरल वर्षा तथा बाढीपहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको सो परिमाणमा दाबी परेको हो ।

सञ्चालनमा रहेका १३ वटा निर्जीवन बिमा कम्पनी र दुई वटा लघु निर्जीवन बिमा कम्पनीमा परेका कुल ७०४ वटा बिमा दाबीबापत सो बराबरको बिमा दाबी परेको नेपाल बिमा प्राधिकरणले जनाएको छ ।

बिमा दाबीमध्ये अहिलेसम्म सबैभन्दा धेरै सम्पत्ति बिमामा ३६४ वटा दाबीबापत दुई अर्ब ७० करोड ६९ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।

त्यस्तै इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमामा ८४ वटा दाबीबापत ४८ करोड चार लाख रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ ।

यस्तै कृषि तथा बाली बीमामा २०९ वटा दाबीबापत चार करोड ३२ लाख रुपैयाँ, मोटर बिमा (निजी) मा ३३ वटा दाबीबापत दुई करोड ५२ लाख, मोटर बिमा (सार्वजनिक) मा नौ वटा दाबीबापत एक करोड पाँच लाख र अन्य बिमामा दुई वटा दाबीबापत १२ लाख रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणको तथ्याङ्क छ ।

प्रकाशित मिति: ५ कार्तिक २०८२, बुधबार  ०९ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।