काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले महसुल नबुझाएका २५ उद्योगको लाइन काटेको छ । प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका २५ उद्योगको विद्युत्को लाइन काटेको हो ।
गत मङ्गलबार प्राधिकरणले मुख्य ठुला छ उद्योगको लाइन काटेको थियो भने शुक्रबार राति थप १८ उद्योग गरी प्राधिकारणले २८ उद्योगको लाइन काटेको हो । प्राधिकरणले २८ किस्तामा बक्यौताका भुक्तानीका लागि २१ कार्य दिनको समय दिएको थियो । सो अवधिमा सम्पर्कमा नआएका उद्योगको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले गत असोज १२ गते सार्वजनिक सूचनामार्फत सञ्चालक समितिको निर्णय अनुसार बक्यौता रकम किस्तामा तिर्न आउन आह्वान गरको थियो ।
शुक्रबार विद्युत् काटिनेमा हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न, कसमस सिमेन्ट, पञ्चकन्या स्टिल, श्याम प्लास्टिक र गोयन्का फुड्स छन् । त्यस्तै एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलबारी स्वचालित कारखाना, जगदम्बा सिन्थेटिक, एभरेस्ट रोलिङको पनि लाइन काटिएको छ । लाइन काटिएका अन्य उद्योगमा घाराना फुड्स, विशाल सिमेन्ट, एसआर फुड्स, सिद्वार्थ पेट प्लास्ट, बुटबल सिमेन्ट, सोना मिनरलस एन्ड आयल्स र निगाले सिमेन्ट हुन् । एभेरस्ट पेपर मिल्सले भने नियमित विद्युत् महसुल भुक्तानी नै नगरेकाले यसअघि नै लाइन काटिएको थियो ।
प्राधिकरणले गत मङ्गलबार बिहान जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटेको थियो । यी छ उद्योगको मात्रै करिब चार अर्ब ३० करोड रुपैयाँ असुल बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
यता, १३ वटा उद्योगले भने डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता भुक्तानीका लागि किस्ताबन्दी सुविधा सुरु गरी भुक्तानीसमेत गरेका छन् । किस्ताबन्दी सुविधा लिनेमा १४ करोड रुपैयाँभन्दा धेरै बक्यौता रहेको हुलास स्टिलले पहिलो किस्ताबापत ५० लाख ४३ हजार रुपैयाँ बुझाएको छ । त्यस्तै सिमरामा रहेको अशोक स्टिल्सले पनि पहिलो किस्ता ६३ लाख रुपैयाँ बुझाएको छ ।












प्रतिक्रिया