काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\०८३ को पहिलो ३ महिनामा नेपालले १०८ वटा मुलुकसँग घाटाको व्यापार गरेको छ । ३ महिनामा १३८ देशसँग वैदेशिक व्यापार गरेको मुलुकले १०८ देशसँग घाटाको व्यापार गरेको हो ।
नेपालको सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग रहेको छ । भन्सार विभागका अनुसार भारतसँग १ खर्ब ९९ अर्ब ७४ करोड ९८ लाख रूपैयाँ व्यापार घाटा रहेको छ । भारतबाट २ खर्ब ५८ अर्ब ८७ करोड ८२ लाख रूपैयाँको वस्तु आयात भएकोमा ५९ अर्ब १२ करोड ८४ लाख रूपैयाँको मात्र वस्तु तथा सेवा निर्यात भएको छ ।
दोस्रो व्यापार घाटा चीनसँग रहेको छ । चीनसँग १ खर्ब ४ अर्ब ७० करोड ७८ लाख रूपैयाँ घाटा रहेको छ । चीनबाट १ खर्ब ४ अर्ब ८९ करोड ४२ लाख रूपैयाँको वस्तु आयात भएकोमा १८ करोड ६४ रूपैयाँको मात्र वस्तु निर्यात भएको छ । भौगोलिक सीमा जोडिएका छिमेकी मुलुक भारत र चीनसँग सबैभन्दा धेरै व्यापार घाटा रहेको छ ।
भन्सार विभागका अनुसार अर्जेन्टिनासँग २७ अर्ब ८९ करोड २४ लाख रुपैयाँ, यूएइसँग १३ अर्ब ११ करोड ६ लाख रुपैयाँ, इन्डोनेसियासँग ५ अर्ब २९ करोड ४ लाख रुपैयाँ, ब्राजिलसँग ४ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ, थाइल्यान्डसँग ३ अर्ब ६७ करोड ६७ लाख रुपैयाँ, मलेसियासँग ३ अर्ब ११ करोड ८८ लाख रुपैयाँ र अमेरिकासँग २ अर्ब ८९ करोड ७९ लाख रुपैयाँ व्यापार घाटा रहेको छ ।
व्यापार नाफा हुने ३० मुलुकमध्ये क्रमशः डेनमार्क, जर्मन, रोमनिया, स्वीडेन लगायतका मुलुकहरु रहेका छन् । डेनमार्कबाट ४ करोड १ लाख रुपैयाँको आयात हुँदा २८ करोड ९९ लाख रुपैयाँको निर्यात भएको छ । डेनमार्कसँगको व्यापारमा २४ करोड ९८ लाख रुपैयाँ नाफा भएको छ ।
यस्तै, जर्मनसँग ९ करोड १५ लाख रुपैयाँ नाफा छ । रोमनियासँग ७ करोड १ लाख रुपैयाँ र स्वीडेनसँग १ करोड ९१ लख रुपैयाँले व्यापार नाफामा छ ।
चालु आवको ३ महिनमा ५ खर्बभन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू आवको साउनदेखि असोजसम्मको अवधिमा ५ खर्ब ४० अर्ब ८६ करोड ६१ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो ।
यो व्यापार गत आवको सोही अवधिको तुलनामा २६.०४ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा ४ खर्ब २९ अर्ब १३ करोड १० लाख रुपैयाँ बराबरको व्यापार भएको थियो ।
भन्सार विभागका अनुसार चालू आवको ३ महिनामा ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १९.७९ प्रतिशत बढी हो । सो अवधिमा ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
त्यस्तै, यस अवधिमा ७२ अर्ब ७८ करोड २८ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ८९.६४ प्रतिशत बढी हो । सो अवधिमा ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।












प्रतिक्रिया