भूराजनितिक तनाव घट्दा सुनको मूल्यमा गिरावट कायमै, अझै सस्तिने अनुमान


काठमाडौँ । केही दिन यता सुनको मूल्य निरन्तर ओरालो लागेको छ । भूराजनितिक तनाव कम भएकोले सुनको मूल्यमा गिरावट आएको हो । यो क्रम अझै केही समयका लागि रहन सक्ने नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

पछिल्लो समय भूराजनितिक तनाव कम भएको विश्लेषण गरिएकोले नै सुनको भाउमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्यले बताए ।

इजरायल हमास युद्ध शान्तितर्फ उन्मुख हुनु, अफगानिस्तान र पाकिस्तानबीच भएको शान्ति सम्झौता, चीन–अमेरिकाबीच सम्बन्ध सुधार र रसिया र युके्रनलाई शान्तिमा ल्याउन प्रयास गरिएकोले सुनको मुल्यमा मूल्यमा ह्रास आएको हुन सक्ने उनी बताउँछन् ।

लगानी सुरक्षित गर्नमा सुनमा लगानी गरिरहेकाहरु विस्तारै अन्य क्षेत्रमा मोडिन थालेकोले गर्दा सुनको माग घटेकोले भाउ स्वतः घटेको हो । यता, तिहारको बेला तोलाको तीन लाख रुपैयाँ पुग्ने हल्लाबीच महँगोमा खरिद गरेका धेरै उपभोक्ता भने यसरी सुनको मूल्य घट्दा फसेको महसुस गरिरेहका छन् ।

सुनको मूल्यमा अझ गिरावट हुने अनुमान गरिएता पनि यति हुन्छ भन्ने यकिन नभएको पूर्व अध्यक्ष शाक्यको भनाई छ ।

सुनको मूल्य थप घट्ने खबर आएपछि बजारमा ग्राहकको संख्यामा पनि कमि आएको छ । उच्च मूल्यमा पुगेको सुनको मूल्य विश्व बजारमा गत साताको मंगलबार ५.२ प्रतिशतले घटेको थियो । यो सन् २०१३ पछि कै ठूलो गिरावट आएको हो ।

नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको छ । मंगलबार सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज मंगलबार चाँदी अघिल्लो दिनको तुलनामा तोलामा ६० रुपैयाँले घटेको छ । मंगलबार चाँदी प्रतितोला २ हजार ९२० रुपैयाँ कायम भएको महाँसंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला २ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार  ११ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।