एमडीएमएस लागु भएपछि ह्वातै बढ्यो स्मार्टफोनको आयात


काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो तीन महिनामा स्मार्टफोन आयात बढेको छ । चालु आवको ३ महिनामा आयात भएको स्मार्टफोन ५ वर्ष यताकै सर्वाधिक हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको ३ महिनामा कुल १३ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ बराबरका ८ लाख ४ हजार वटा स्मार्टफोन नेपाल भित्रिएका छन् । यो आयात पछिल्लो ५ आर्थिक वर्षकै सर्वाधिक हो । स्मार्टफोन आयातबाट सरकारले २ अर्ब ५४ करोड २१ लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्ष २०८१\८२ को सोही अवधिमा तुलनामा गत वर्ष स्मार्टफोनको आयात परिमाण र रकम दुवैमा वृद्धि भएको हो । आव २०८१\८२ को ३ महिनामा ९ अर्ब ८३ करोड २८ लाख रुपैयाँका ६ लाख ५५ हजार वटा स्मार्टफोन आयात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०८०\८१ मा ९ अर्ब ४३ करोड १९ लाख रुपैयाँका ६ लाख ४२ हजार स्मार्टफोन आयात भएको थियो । त्यसैगरी, आव २०७९\८० मा ८ अर्ब ५३ करोड ३० लाख रुपैयाँको ६ लाख १८ हजार स्मार्टफोन आयात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । तर, कोभिड महामारीपछिको समयमा अर्थात् आर्थिक वर्ष २०७८\७९ मा भने बजारले ठुलो मन्दी खेपेको थियो । उक्त आर्थिक वर्षभरीमा जम्मा २ अर्ब ८२ करोड ६६ लाख रुपैयाँका १ लाख ७६ हजार वटा मात्र स्मार्टफोन आयात भएको थियो । सो आवको ३ महिनामा त स्मार्टफोन आयात नै भएको थिएन ।

पछिल्लो समय सरकारले एमडीएमएस लागु गर्ने भएपछि अवैध रुपमा मोबाइलफोन आयात कम भएको छ । जसकारण लिगल रुपमा मोबाइल फोन आयात हुँदा आयातदर वृद्धि भएको नेपाल मोबाइल वितरक संघको अध्यक्ष रघु त्रिपाठीले बताएका छन् ।

आयातसँगै स्मार्टफोनको बिक्रीमा पनि सुधार आएको अध्यक्ष त्रिपाठीको भनाई छ । विशेषगरी चाडपर्वको समयका मोबाइल फोनको बिक्री वितरण हुने गर्छ । विगतका वर्षहरुमा राम्रो व्यापार भएको थियो । यस वर्षको चाडपर्वमा भने भन्सारबाट आयात भएता पनि जेनजी आन्दोलनका कारण कम मात्रामा बिक्री भएको उनले बताए ।

‘पछिल्लो समय फोन आयात बढ्नुको मुख्य कारण अबैध फोनको बिक्री वितरण घट्नु र मानिसहरुले फोनबाट नै धेरै सुविधा लिन सक्ने भएकाले स्मार्टफोन प्रति आकर्षीत हुनु हो’ त्रिपाठीले भने ।
एसपी मोबाइल स्टोरका विकास लम्सालले विशेषगरी चाडपर्वको समयमा मोबाइल फोन बिक्री बढी मात्रामा हुने बताए । विगतका वर्षहरुमा दशैं तिहारमा बिक्री राम्रै भएको बताए ।

ग्राहकहरु आईफोनमा धेरै फोकस भएको र एक्सचेञ्ज गरेर आईफोन नै किन्ने गरेको उनले जानकारी दिए । एन्ड्रोइड कम्पनीका फोनहरु भने बराबर बिक्री भइरहेको र एन्ड्रोइडको तुलनामा भने एप्पल धेरै बिक्री हुने गरेको उनले थप उल्लेख गरे । तर यस वर्ष भने जेनजी आन्दोलनको प्रभाव अन्य क्षेत्रमा जस्तै मोबाइल क्षेत्रमा परेको छ । मुख्य सिजनमा नै आन्दोलन भएको हुँदा यस वर्ष खासै राम्रो व्यापार नभएको उनले बताए ।

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार  १२ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।