बर्सातले खेतमै सड्न थाल्यो धान


भोजपुर । निरन्तरको वर्षाले भोजपुरका किसानको वर्षभरको मेहनत र पसिनामा क्षति पुर्याएको छ । थन्काउनका लागि काटिएको धान खेतमा नै कुहिन थालेपछि किसान आर्थिक तथा मानसिक दुवै सङ्कटमा परेका हुन् । नकाटिएको धान पनि लडेका कारण किसान थप चिन्तामा परेका छन् ।

बर्सातले किसानलाई धेरै ठूलो क्षति र्पुयाएको पौवादुङ–२ का किसान राजन ढकालले बताए। धान थन्काउने मुख्य याममा भएको निरन्तरको बर्सातले किसान समस्यामा परेको उनको भनाइ छ । “धान थन्काउने मुख्य सिजनमा लगातार वर्षा भइरहेको छ,” उनले भने, “बिटा लगाउन काटेको धान आलीमै कुहिन थालेको छ । नकाटिएको धान पनि लडेर सखाप भएको छ । यस्तै स्थिति रह्यो भने परिवार पाल्न गाह्रो पर्ने अवस्था छ ।” ढकालका अनुसार बर्सातले धान मात्र होइन, पशुचौपायाका लागि राखिने पराल पनि बिग्रँदै गएको छ ।

किसानको वर्षभरिको मेहनत बर्सातले सखाप पारिदिएको स्थानीय किसान रुपनारायण फुयाँलले बताए। थन्काउने अवस्थामा रहेको धानमा क्षति पुगेपछि किसानले ठूलो पीडा भोग्नु परेको उनको भनाइ  छ । “हामीले वर्षभरको पसिना पोख्यौँ,”उनले भने, “तर असामयिक वर्षाले केही दिनमै सबै बर्बाद गरिदियो । खेतमै धान सड्न थालेको छ । उत्पादन र गुणस्तर दुवैमा क्षति पुग्दैछ ।”

लगातारको वर्षा, चिस्यान र घाम नलाग्दा धान सुकाउन सकिने अवस्था नरहेको किसानको भनाइ छ ।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार  १५ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।