काठमाडौँ । शरद् ऋतुमा हिमाल आरोहणबाट तेब्बरभन्दा बढी राजस्व सङ्कलन भएको छ । सरकारले १० वर्षपछि पर्वतारोहणमा नयाँ शुल्क लागु गरेपछि गत वर्षभन्दा यस वर्ष आरोहण शुल्क तेब्बरले बढेको हो ।
सरकारले विसं २०७१ पुस १७ गतेदेखि कायम गरेको हिमाल आरोहण अनुमति शुल्क परिवर्तन गर्दै गत साउन २६ गतेदेखि नयाँ शुल्क कायम गरेको थियो । यसबाहेक यो याममा विगतभन्दा आरोहीको सङ्ख्या बढेकाले पनि राजस्व सङ्कलन बढेको हो ।
पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार विगतका शरद् ऋतुमा साढे सात करोडको हाराहारीमा राजस्व सङ्कलन हुँदै आएकोमा यस वर्ष भने साढे २५ करोडभन्दा बढी रुपियाँ सरकारी कोषमा दाखिला भएको छ । जेनजी आन्दोलनका कारण अन्य पर्यटन क्षेत्रमा असर परे पनि आरोहण क्षेत्रमा भने विगतभन्दा सुधार आएको छ । यस वर्ष हालसम्म आरोहण हुन नसकेका हिमालमा समेत आरोहण भएको छ । सगरमाथा आरोहणमा मुस्किल मानिने यो याममा आरोहण पूरा गर्दै अमेरिकी पर्वतारोही जिम मोरिसनले सगरमाथाको उत्तरी मोहडाबाट स्की गरेर कीर्तिमानसमेत कायम भएको छ ।
यसअघि सन् २०२३ को शरद् ऋतुमा सात करोड ८१ लाख र सन् २०२४ को सोही अवधिमा सात करोड ६३ लाख रुपियाँ सङ्कलन भएकोमा यस वर्ष २५ करोड ५१ लाख ६५ हजार ४३६ रुपैयाँ राजस्व उठेको उनले जानकारी दिए ।
सन् २०२३ को शरद् याममा १७० समूहका एक हजार ३२६ र सन् २०२४ को सोही याममा १५८ समूहका एक हजार २८० आरोहीले अनुमति लिएकोमा अहिले १७५ समूहका एक हजार ४५० जनाले आरोहण अनुमति लिएको उनले बताए। अनुमति लिनेमा नेपालसहित ८३ देशका ३४५ महिला र एक हजार १०५ जना पुरुष रहेका छन् । यो याममा विभागले जारी गरेको ५४ हिमालको आरोहण अनुमतिमध्ये सबैभन्दा धेरै मनासलु आरोहण गर्न ३७४ जनाले अनुमति लिएका छन् । मनासलु आरोहणबाट मात्रै १५ करोड ७६ लाख ४० हजार १९५ रुपियाँ राजस्व उठेको छ ।
विभागका अनुसार हाल नेपालमा आरोहणका लागि खुला गरिएका ४६१ हिमालमध्ये आरोहण हुन नसकेका १०२ हिमालमध्ये यो याममा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१ मा रहेको नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ ।










प्रतिक्रिया