नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान


काठमाडौँ । नागढुङ्गा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान भएको छ । नागढुंगा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि टेण्डर आह्वान गरेको हो ।

सुरुङमा अत्याधुनिक प्रणाली समावेश रहेको तर सडक विभागको हालको कार्यबोझ तथा सीमित अनुभव र उपलब्ध जनशक्तिबाट सुरुङ सञ्चालन एवम् मर्मत कठिन हुने भएकाले विशेष तालिम प्राप्त दक्ष जनशक्तिमार्फत सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सेवा प्रदायक छनोट गर्न लागिएको हो। बोलपत्र बुझाउने अन्तिम दिन आगामी पुस २ गते (१७ डिसेम्बर २०२५) रहेको छ । सेवा प्रदायकले पाँच वर्षको सुरुङ मार्ग सञ्चालन तथा मर्मत गर्नेछ।

यस अवधिमा पर्याप्त मात्रामा विदेशी विज्ञहरुबाट नेपाली प्राविधिक र व्यवस्थापकलाई प्रविधि हस्तान्तरण हुने र भविष्यमा अन्य सुरुङ, फास्ट ट्रयाकजस्ता संरचनाहरु स्वदेशी जनशक्तिबाटै सञ्चालन गर्न सहज हुने देखिन्छ।

सुरुङ २४ सै घण्टा सञ्चालन गर्नुपर्ने हुनाले दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तत्कालै आपत्कालीन सेवा आवश्यक हुन्छ। सेवा प्रदायकले शिफ्ट प्रणालीमा कर्मचारी खटाउने, आपत्कालीन टोली स्थापना गर्ने हुनाले समयमै सेवा दिने व्यवस्था गर्न सक्छ। यसका लागि १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ।

सुरुङ सञ्चालन तथा मर्मत प्रमुखको नेतृत्वमा कर्मचारी रहनेछन्। सुरक्षा व्यवस्थापन युनिटमा सबैभन्दा बढी ६४ जना कर्मचारी रहने व्यवस्था गरिएको छ। त्यसपछि टोल उठाउन ५४ जना कर्मचारी रहनेछन्। ट्राफिक सुविधा अनुगमन तथा नियन्त्रणका लागि १४ जना, सिभिल संरचना तथा अन्य संरचना मर्मतका लागि ८/८ जना कर्मचारी रहने व्यवस्था गरिएको छ।

मुख्य सुरुङ मार्गको लम्बाइ २.७ किलोमिटर र आपत्कालीनको २.६ किलोमिटर रहेको छ । सरकारले सुरुङ मार्गबाट गुड्ने सवारी साधनका लागि सडक उपभोग दस्तुर तोकिसकेको छ ।

नागढुंगा सुरुङमार्ग मार्फत कार तथा भ्यानहरूले काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तिर्नुपर्ने निर्णय सरकारले गरेको छ ।

त्यस्तै मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा १ सय १५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तोकिएको छ भने बस तथा ट्रकले काठमाडौं आउँदा २ सय ६० र जाँदा २ सय रुपैयाँ दस्तुर तिर्नुपर्ने छ ।

यसैगरी भारी उपकरणका सवारीसाधनका लागि भने काठमाडौं आउँदा ६ सय र जाँदा २ सय ५० दस्तुर तोकिएको छ ।

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार  ०९ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।