सरकारले तोकेको धानको समर्थन मूल्य किसानका लागि कागजमै सीमित


काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षका लागि समर्थन मूल्य तोकेर धान खरिद गर्न थालेको छ । कम्पनीले सरकारले तोकेको न्यूनतम् समर्थन मूल्यमा विभिन्न १३ केन्द्रमार्फत धान खरिद गर्ने निर्णय गरेको हो ।

धान उत्पादनको पकेट क्षेत्रलाई आधार मानेर १३ वटा खरिद केन्द्र सञ्चालन गर्ने निर्णय भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी माधव मिश्रले जानकारी दिए । उनका अनुसार महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगञ्ज, जुम्ला, तुलसीपुर, भैरहवा, पोखरा, वीरगञ्ज, लहान, जनकपुर, विराटनगर र बिर्तामोडमा खरिद केन्द्र सञ्चालन गरिएको छ ।

कम्पनीले धान खरिद गर्दा किसान सुचीकरण फाराम भरी प्रमाणित गरी एक प्रति किसानलाई दिने र एक प्रति खरिद केन्द्रले अभिलेखका रुपमा राख्ने प्रबन्ध गरेको छ । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४६३ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ६२८ रुपैयाँ निर्धारण गरेको छ ।

धान खरिद बापतको रकम सोझै किसानको बैंक खातामा अनलाइन माध्यमबाट जम्मा गरिने अधिकारी मिश्रले जानकारी दिए । गत वर्षहरुमा कम्पनीले लक्ष्य अनुसारको धान खरिद गर्न भने सकेको थिएन । न्यूनतम मूल्यभन्दा केही बढी दिएर निजी कम्पनीहरुले धान खरिद गर्ने भएकाले कम्पनीले पोहोर पनि आवश्यकता अनुसार धान खरिद गर्न नसकेको हो । यस वर्ष भने पोहोरको तुलनामा धानको न्यूनतम मूल्य बढाएको छ । कम्पनीले तोकेको गुणस्तर र मापदण्ड अनुरुपको सामानमात्र खरिद गर्ने र बजारमा आपूर्ति अवस्थालाई मध्यनजर गरी निर्धारीत कोटा थपघट हुने उनको भनाई छ ।

हरेक वर्ष सरकारले धानको मूल्य तोक्ने गरेको छ । सरकारले मूल्य तोके पनि समयमा नतोक्ने हुँदा किसानहरु समस्यामा पर्ने गरेको उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनको भनाई छ ।
सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गर्न ढिलाइ हुँदा व्यापारीले सस्तो मूल्यमा खरिद गर्ने गरेका छन् । असोजबाट नै धान भित्र्याउन सुरु गरिन्छ तर सरकारले कात्र्तिकमा मूल्य निर्धारण गरिदिन्छन् यसो हुँदा किसान मर्कामा परेको उनको दाबी छ ।

किसानसम्म सरकारको उपस्थिति नहुँदा व्यवसायीहरुले आफू खुशी किसानहरुबाट धान खरिद गर्ने गरेका छन् । जसको कारण मुनाफा किसानले नभई व्यापारीले लिने गरेको पाइन्छ । व्यवसायीले सस्तो मूल्यमा किसानबाट धान खरिद गरी महँगो मूल्यमा बिक्री गर्दा किसानलाई दिएको राहत बिचौलियाले लिने गरेको महर्जनको दाबी गरे ।

ऋण लिएर मलखाद खरिद गरेका किसानले ऋण तिर्नका लागि पनि व्यापारीलाई धान बेच्नुपर्ने बाध्यता हुन्छ । त्यस्तै कतिपय किसानको भण्डारण स्थल नहुँदा पनि खेतबाटै व्यापारीलाई धान बेच्ने गर्छन् । घरको आर्थिक जोहो गर्न र उत्पादन भएको धान राख्ने ठाउँ नहुँदा किसान सस्तोमा धान बिक्री गर्न बाध्य छन् । अझै चाडपर्वको समयमा बढी खर्च चाहिने हुँदा किसानले बर्सेनि त्यसको जोहो धान बेचेरै गर्ने गर्छन् ।

धान व्यवस्थापन गर्ने ठाउँ हुँदैन । बाध्यताले पनि सस्तोमा बिक्री गर्नुपर्छ । हरेक अभावका बाबजुद उत्पादन भएको धान किसानले आफ्नो लागत नउठ्दा पनि बिक्री गर्नुपरिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार  ०७ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।