काठमाडौँ । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.५७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफामा गिरावट आएको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.७७ प्रतिशतले घटेर ३ अर्ब ९० करोड १२ लाख रुपैयाँ कायम भएको छ भने खुद फि तथा कमिशन आम्दानी ६.२९ प्रतिशतले बढेर ७९ करोड ८७ लाख २८ हजार रुपैयाँमा कायम भएको छ ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १.०३ प्रतिशतले घटेर ५ अर्ब २७ करोड ४१ लाख रुपैयाँमा सिमित भएको छ ।
यता, सञ्चालन मुनाफा १०.८४ प्रतिशतले घटेर २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँमा कायम हुँदा बैंकको इम्पेरमेन्ट चार्ज भने समीक्षा अवधिमा ४५ करोड ७७ लाख रुपैयाँबाट बढेर ६४ करोड ७२ लाख रुपैयाँ पुगेको छ।
सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ३० रुपैयाँ १५ पैसा रहेको छ।
असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८६ पैसा घटेर २५ रुपैयाँ ९७ पैसामा सीमित भएको छ भने बैंकको प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १९.९७ गुणा रहेको छ।
बैंकले पहिलो त्रैमासको अन्त्यसम्ममा ५ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोषमा ३८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ सञ्चित छ।












प्रतिक्रिया