नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यद्वारा पदभार ग्रहण


यस एन आई सी एशिया बैंक लिमिटेडको १७ गते बसेको सञ्चालक समितिको ७३६ औं बैंठकको निर्णय बमोजिम नियुक्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले मिति २०८२/०७/२० मा आफ्नो पदभार ग्रहण गरेका छन् ।

झन्डै ३ दशकदेखि नेपालको बैंकिङ्ग प्रणालीमा विशिष्ट योगदान पुर्‍याउँदै आएका शाक्य भारतको नयाँ दिल्लीस्थित दिल्ली युनिभर्सिटीबाट ब्याचलर इन कमर्श र भारतकै इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एण्ड म्यानेजमेन्ट, लखनऊबाट व्यवस्थापनमा स्नातकोत्तर उत्तिर्ण गरेका छन् ।

सन् १९९६ देखि तत्कालिन नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट बैंकिङ्ग यात्रा शुरु गरेका शाक्यले हिमालयन बैंक लि, तत्कालिन लक्ष्मी बैंक लि हुँदै सन् २००७ देखि तत्कालिन बैंक अफ एशिया नेपाल लि.मा बिजनेस बैंकिङ्ग प्रमुखका रुपमा जिम्मेवारी निर्वाह गरेका थिए । तत्कालिन बैंक अफ एशिया नेपाल लि. र एन आई सी बैंक लि.को मर्जर प्रकृयामा महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रमुख कार्यकारी अधिकृत शाक्यले मर्जरपछि बनेको एन आई सी एशिया बैंक लि.मा सहायक महाप्रबन्धकको रुपमा कर्पोरेट बैंकिङ्ग प्रमुख भई महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तत्कालिन सिभिल बैंक लि, तत्कालिन जनता बैंक लि, ग्लोबल आईएमई बैंक लि.मा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरिसक्नुभएका शाक्य यस बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त हुनुपूर्व नबिल बैंक लि.मा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए।

प्रमुख कार्यकारी अधिकृत शाक्यको तृष्ण विश्लेषण क्षमता, स्पष्ट रणनीतिक दृष्टिकोण तथा लामो बैंकिङ्ग अनुभवका कारण यस बैंकले उनको कार्यकालमा महत्वपूर्ण उपलब्धिहरु हासिल गर्नुका साथै थप सहज, सबल, गतिशील, विश्वसनीय, उत्तरदायी तथा परिणाममुखी अभ्यास गर्दै वहाँको दूरदृष्टि र नेतृत्वले बैंकले थप सफलता प्राप्त गर्नुको साथै बैंकलाई प्रतिष्ठाको शिखरमा पुर्‍याउने दृढ विश्वास लिएको छ ।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार  १७ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।