नेपाल-भारत व्यापार

नेपालको निर्यात व्यापार र अर्थतन्त्रमा भारतसँगको गहिरो परनिर्भरता : चुनौती र असर


काठमाडौँ । नेपालको अर्थतन्त्र र अन्तर्राष्ट्रिय व्यापारमा छिमेकी मुलुक भारतसँगको परनिर्भरता निकै ठूलो देखिएको छ । नेपालको कुल वैदेशिक व्यापारको करिब ६० प्रतिशत हिस्सा भारतसँगै हुने गरेको छ । खुला सिमाना, राजनैतिक, धार्मिक, सामाजिक, सांस्कृतिक र भौगोलिक लगायतका अनेकौं कारणले गर्दा नेपालको व्यापार भारतसँग यति धेरै निर्भर रहेको छ । सामान्यतया, निर्यात बढ्दा देशलाई फाइदा हुन्छ, तर नेपालको हकमा भारतसँगको यो ठूलो परनिर्भरताले अर्थतन्त्रमा केही जटिल समस्या र चुनौतीहरू थपेको छ ।

आफ्नो देशमा उपलब्ध नहुने वस्तु अन्य देशबाट खरिद गरिने प्रक्रिया नै आयात व्यापार हो भने आफ्नो देशमा उत्पादित वस्तु अन्य देशमा निर्यात गरी बिक्री गर्नु निर्यात व्यापार हो । सामान्यतया आयातको तुलनामा निर्यात बढी भएर वैदेशिक मुद्रा आर्जन बढ्न गई विदेशी विनिमय सञ्चितिमा वृद्धि हुँदा भुक्तानी सन्तुलन पनि देशको अनुकूल हुन जान्छ । तर, नेपालको सन्दर्भमा भने यसको उल्टो भएको छ । यहाँ आयातको मात्रा उल्लेख्य रूपमा बढ्दै गएको छ भने तुलनात्मक रूपमा निर्यातको अवस्था भने अत्यन्तै नगन्य र निराशाजनक रहेको छ ।

चालु आर्थिक वर्ष (२०८२/८३) को तीन महिना (साउन–असोज) मा ५ खर्ब ४० अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार हुँदा भारतीय हिस्सा झण्डै ५९ प्रतिशत छ । गत असोजसम्म ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको आयात र ७२ अर्ब ७८ करोडको निर्यात भएकोमा ५८.९७ प्रतिशत हिस्सा भारतसँग रहेको छ ।

वैदेशिक व्यापारको यस्तो तथ्यांक यो वर्षको मात्र होइन, वर्षौंदेखि आधाभन्दा बढी हिस्सा भारतसँग मात्र हुँदै आएको छ । नेपालको वैदेशिक व्यापार १३८ भन्दा धेरै मुलुकसँग हुँदा आधाभन्दा बढी भारतीय निर्भरताले जोखिम निम्त्याएको व्यापार विज्ञहरुको भनाइ छ ।

यसरी आयातका लागि ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिन्छ । निर्यात नगण्य हुँदा विदेशी मुद्रा आर्जन हुन पाउँदैन, जसले गर्दा देशको विदेशी विनिमय सञ्चितिमा लगातार दबाब पर्न जाने उनीहरुको तर्क छ । आयात र निर्यातबीचको ठूलो अन्तरका कारण देशको भुक्तानी सन्तुलन प्रायः घाटामा रहन्छ, जुन अर्थतन्त्रका लागि अस्वस्थकर भएको अर्थविद्हरु बताउँछन् । यसका साथै सस्तो र ठूलो मात्रामा भारतीय वस्तुहरू आयात हुँदा नेपालका साना तथा मझौला उद्योगहरू प्रतिस्पर्धा गर्न सक्दैनन् । यसले गर्दा स्वदेशी उत्पादन र औद्योगीकरणको प्रक्रियामा बाधा पुग्ने र उद्योगहरू फस्टाउन नसक्दा देशभित्रै रोजगारीका अवसरहरू सृजना हुन सक्दैनन् । जसका कारण युवाशक्ति विदेश पलायन हुन बाध्य हुन्छन् ।

नेपालको व्यापारको ठूलो हिस्सा भारतसँग हुने भएकाले भारतले लागू गर्ने कुनै पनि आर्थिक वा व्यापारिक नीतिको प्रत्यक्ष असर नेपालको अर्थतन्त्रमा पर्ने उनीहरुको तर्क छ । कुल वैदेशिक व्यापारमध्ये आयात र निर्यात दुवैमा भारतीय हिस्सा धेरै भए पनि आयात भन्दा निर्यातमा समस्या हुने अर्थविद् कृष्णहरि बास्कोटा बताउँछन् । नेपाललाई आवश्यक वस्तु भारतबाहेक तेस्रो मुलुकबाट पनि सहजै आयात गर्न सक्ने अवस्था छ तर अन्य मुलुकमा निर्यात गर्ने सहज अवस्था छैन ।

केही समयपछि अति कम विकसितबाट विकासशीलमा स्तरोन्नति हुँदा नेपालले संसारका धेरै मुलुकबाट पाइरहेको सुविधा कटौती हुनेछ । सुविधा हटेपछि नेपालको निर्यात व्यापारमा यसले ठूलो धक्का लगाउने छ । मुलुकको स्तरोन्नत्ति भए पनि नेपाल र भारतबीचमा भएका विभिन्न द्विपक्षीय सन्धि सम्झौताका कारण भारतले दिँदै आएको सुविधामा कटौती हुने छैन । यस्तोमा नेपालको निर्यात झनै भारत निर्भर बन्ने जोखिम हुने अर्थविद् बास्कोटाको भनाई छ ।

यसका साथै निरन्तर बढ्दो व्यापार घाटाले देशको समग्र आर्थिक स्थिरता माथि नै प्रश्नचिह्न खडा गर्ने र यसको व्यवस्थापनका लागि सरकारलाई थप चुनौती थपिने उनको भनाई छ ।

व्यापारिक विषयमा भारतसँग स–साना विवाद भए पनि निर्यात व्यापारमा ठूलो धक्का लाग्ने जोखिम छ । नेपालमा उत्पादित वस्तुलाई विश्वव्यापी रुपमा प्रतिस्पर्धी बनाउन नसक्दा अर्थतन्त्रमा बाधा पुगेको छ । भारत बाहेक निर्यात व्यापारलाई विविधिकरण गर्न सरोकारवाला पक्षले ध्यान दिनुपर्ने विज्ञहरु बताउँछन् ।

विगतमा कृषिजन्य खाद्यवस्तुहरू निर्यात गर्दै आइरहेको नेपालले पछिल्लो समय भने खाद्य वस्तुहरू समेत आयात गर्नु परेकोले मुलुकको अर्थतन्त्र आयातमुखी बनिसकेको बास्कोटा बताउँछन् ।
बढ्दो व्यापार घाटा र परनिर्भर अर्थतन्त्रले मुलुकको राष्ट्रियता, स्वाधीनता र सार्वभौमिकतामा गम्भीर चुनौती खडा गर्छ । अतः वैदेशिक व्यापारलाई देशगत र वस्तुगत विविधीकरणको नीति अवलम्बन गरी निकासीजन्य वस्तुको निर्यात व्यापारमा वृद्धि गर्नुपर्छ भने स्वदेशभित्रै उपभोग्य वस्तुको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्ने नीति अवलम्बन गर्न उनको सुझाव छ ।

५ वर्षको पहिलो त्रैमासमा मात्र १९ खर्ब बढी व्यापार घाटा

नेपालले भारतसँग गरेको व्यापारमा ५ वर्षको पहिलो त्रैमासमा मात्र १९ खर्ब बढीको व्यापार घाटा व्यहोरेको छ । आर्थिक वर्ष २०७८÷७९ को ३ महिनादेखि हालसम्मको तथ्यांक हेर्दा १९ खर्ब ९१ करोड ५ लाख रुपैयाँ नेपालले घाटा व्यहोरेको छ । नेपालले भारतबाट २१ ख्र्ब ९५ अर्ब ३४ करोड २० लाख रुपैयाँको वस्तु तथा सामान आयात गर्दा नेपालबाट २ खर्ब ९४ अर्ब ४३ करोड १५ लाख रुपैयाँको मात्र वस्तु तथा सामान निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

भारतबाट नेपालमा खासगरी पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टस्, हट रोल्ड शिट इन क्वायल, धागो, सिमेन्ट, कृषि उत्पादन तथा प्रविधि, हटरोल्ड सीट, मेसिनरी पार्टस्, चामल लगायतका वस्तुहरुको आयात उच्च रहेको छ । नेपालबाट भारततर्फ सोयाबिन तेल, जुट, अलैँची, जुस लगायतका वस्तुहरुको निर्यात हुँदै आएको छ ।

प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार  ०७ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।