लक्ष्मी सनराइज बैंकले कमायो २ अर्ब ६२ करोड वितरणयोग्य मुनाफा, प्रतिसेयर आम्दानी कति ?


काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको भन्दा ३८.०४ प्रतिशतले कम हो । बैंकले गत आवको सोही अवधिमा ५३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.५९ प्रतिशतले बढेर २ अर्ब ७१ करोड ५१ शलाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी २६.५९ प्रतिशतले बढेर ६१ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १४.८० प्रतिशतले बढेर ३ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४२.११ प्रतिशतले घटेर ४३ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।
बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब १६ करोड ७९ लाख रुपैयाँबाट बढेर १ अर्ब ९३ करोड ९१ लाख रुपैयाँ पुगेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १० रुपैयाँ ७८ पैसा रहेको छ। बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ७९ पैसा घटेर ५ रुपैयाँ ४६ पैसामा सीमति भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ८९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.७४ गुणा रहेको छ।

बैंकले असोज मसान्तसम्ममा ३ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । चुक्ता पूँजी २४ अर्ब ३४ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १८ अर्ब ४ करोड रुपैयाँ सञ्चित छ।

प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार  १२ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।