एनआईसी एशिया बैंकको खुद नाफा १२ करोड २१ लाख


काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १२ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । समीक्षा अवधिमा बैंकको खुद नाफा १०.५३ प्रतिशत बढेको हो।

बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ११ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकका अनुसार वितरणयोग्य मुनाफा सो अवधिसम्म ६ अर्ब २४ करोड रुपैयाँ ऋणात्मक रहेको छ।

खुद ब्याज आम्दानी सामान्य घटेपनि सञ्चालन मुनाफा बढेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४४ प्रतिशतले घटेर २ अर्ब २८ करोड ६० लाख रुपैयाँ भएको छ भने खुद फि तथा कमिशन आम्दानी ३.१५ प्रतिशतले घटेर ३३ करोड २९ लाख रुपैयाँमा सिमित भएको छ ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ९.४९ प्रतिशत घटेर २ अर्ब ७७ करोड ९० लाख रुपैयाँमा सिमित भएको छ भने सञ्चालन मुनाफा ११.३१ प्रतिशतले १९ करोड ३५ लाख रुपैयाँमा कायम भएको छ ।

समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ३७ पैसा बढेर ३ रुपैयाँ २८ पैसा पुगेको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ७४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९७.७३ गुणा रहेको छ ।

बैंकले असोज मसान्तसम्ममा ३ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । चुक्ता पूँजी १४ अर्ब ९१ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १४ अर्ब ७२ करोड रुपैयाँ सञ्चित छ ।

प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार  १२ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।