अपि पावर कम्पनी लि ले आफ्नै कर्पारेट कार्यलय निर्माण गर्ने


काठमाडौँ । अपि पावर कम्पनीले आफ्नै कर्पोरेट कार्यालय निर्माण गर्ने भएको छ । कम्पनीको २१ औं वार्षिक साधारण सभाको निर्णय अनुसार कम्पनीले २० आना जग्गा खरिद गरी कर्पोरेट कार्यालयको लागि भवन निर्माण गर्न लागेको हो ।

शुक्रबार कम्पनीकी अध्यक्ष सिर्जना खड्काले कम्पनीका सम्पूर्ण सञ्चालकहरुको उपस्थितिमा केन्द्रिय कार्यालय भवनको सिलान्यास गरेकी छिन् । कम्पनीको केन्द्रिय कार्यालय भवनको निर्माण कार्य २ बर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । नेपालमा निजि उर्जा उत्पादक कम्पनीहरु मध्य थोरै मात्र कम्पनीहरुले आफ्नो लगानीमा केन्द्रिय कार्यालय निर्माण गरेका छन् । कम्पनीले उक्त भवन अपि टावर नामाकरण गरी आफ्नै लगानीमा बनाउँदैछ ।

कम्पनीले सुदूरपश्चिम प्रदेश दार्चुला जिल्लामा ८.५ मेगावाटको नौगड गाढ जलविद्युत आयोजनाको विकास, निर्माण तथा संचालन केवल १७ महिनामा सम्पन्न गरी वि.सं. २०७२ भाद्रमा व्यवसायिक विद्युत उत्पादन गर्दै यस क्षेत्रमा दक्षताको लागि एक मापदण्ड स्थापित गरी र तत्कालिन विद्युतिय सेवाको अधिकतम उपभोगबाट बन्चित जिल्लाहरूमा बिजुली पु¥याएको थियो । अपि पावर कम्पनी लिमिटेड अन्तर्गत दार्चुला जिल्लामा थप ८ मेगावाट क्षमताको अप्पर नौगड गाढ जलविद्युत आयोजना र ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना गरी जलविद्युत तर्फ कुल जम्मा ५६.५ मेगावाट क्षमताको विद्युत आयोजनाहरु निर्माण सम्पन्न भई उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जडान भई विद्युत खरिद बिक्रि सम्झौता बमोजिम नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्रि भईरहेको छ ।

यसैगरी नेपाल सरकारको उर्जा उत्पादनमा उर्जा मिश्रणको नीति अनुरुप अपि पावर कम्पनी लिमिटेडले सो नीति अवलम्बन गर्दै सौर्य विद्युत आयोजनाहरुको विकास तथा निर्माण कार्य गरिरहेको छ । कम्पनीले सौर्य उर्जा तर्फ ४ मेगावाट क्षमताको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना, १ मेगावाट क्षमताको ढल्केबर सौर्य विद्युत आयोजना र १ मेगावाट क्षमताको सिमरा सौर्य विद्युत आयोजना गरी जम्मा ६ मेगावाट क्षमताको ग्रिडमा जडित सौर्य विद्युत आयोजनाहरुको निर्माण सम्पन्न गरी उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जडान भई विद्युत बिक्रि भईरहेको छ । कम्पनीले थप बारा जिल्ला, जितपुरसिमरा उप महानगर पालिकामा ८ मेगावाट क्षमताको परवानीपूर सौर्य विद्युत आयोजनाको निर्माण गरिरहेको छ ।

अपि पावर कम्पनीका कार्यकारी सञ्चालक संजिव न्यौपानेका अनुसार भवनमा अपि पावर कम्पनी लिमिटेड तथा यसका सहायक कम्पनीहरु रहने छन् । “यो भवन अपि पावर कम्पनी र यसका सहायक कम्पनीहरुका शेयरधनीहरुको साझा सम्पती हो र भविष्यमा यस्ता लगानीले शेयरधनीहरुको कम्पनी माथिको विश्वास अझै बलियो हुनेमा दुईमत छैन” । उनले बताए ।
अपि पावर कम्पनी लिमिटेडले व्यवसाय विस्तार गर्ने क्रममा मुनाफादायी जलविद्युत आयोजनाहरुको अध्ययन अनुसन्धान गरी लगानी गरेको छ । इङ्गवा हाईड्रोपावर लिमिटेडद्वारा पाँचथर जिल्ला, याङवरक गाउँपालिकामा ९.७ मेगावाट क्षमताको माथिल्लो इङ्गवा खोला जलविद्युत आयोजनाको अपि पावर कम्पनी लिमिटेडको २५ प्रतिशत लगानी रहेको छ । यो आयोजना संचलनमा रहेको र यसबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जडान भई बिक्रि भईरहेको छ । इङ्गवा हाईड्रोपावर लिमिटेड नेपाल स्टक एक्सचेन्जमा सूचिकृत रहि दोश्रो बजारमा शेयर खरिद बिक्रि करोबार भईरहेको छ । यसका साथै अपि पावर कम्पनी लिमिटेडले ५९.६७ प्रतिशत बहुमत संस्थापक शेयर सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडको खरिद गरी यस कम्पनीबाट नुवाकोट जिल्ला, दुप्चेश्वर गा.पा. मा ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरी विद्युत उत्पादन गर्दै ने.वि.प्रा.लाई उत्पादित विद्युत बिक्रि गरिरहेको छ । यस कम्पनीको साधारण शेयर सार्वसाधारणको लागि सार्वजनिक निष्काशन गर्न सम्बन्धित नियमनकारी निकायहरु समक्ष दरखास्त दिई स्वीकृतिको अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ ।

अपि पावर कम्पनी लिमिटेडले हाल दार्चुला पावर लिमिटेडको बहुमत शेयर खरिद गरी दार्चुला जिल्लामा २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । यो आयोजना अबको २० महिनाभित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन गर्दै संचालनमा आउनेछ । त्यसैगरी कम्पनीले नुवाकोट जिल्लामा ३० मेगावाट क्षमताको त्रिशुली गल्छी जलविद्युत आयोजना र दार्चुला जिल्लामा ९.७ मेगावाट क्षमताको न्वागाढ जलविद्युत आयोजनाको सर्वेक्षण गरिरहेको छ । अपि पावर कम्पनीले व्यवसाय विस्तार गर्दै जानेक्रममा पूर्ण स्वामित्व रहेको अपि इन्फ्रा लिमिटेड स्थापित गरी ललितपूर जिल्ला, ल।म।न।पा, झम्सीखेलमा आवासीय भवन निर्माण समेत गरिरहेको छ ।

अपि पावर कम्पनीले आफ्ना सफल आयोजनाहरु र आगामी कार्ययोजनाहरु बाट सम्पूर्ण लगानीकर्ताहरुलाई थप हौसला र उर्जा प्रदान गर्दै सबैको लगानी सुरक्षित भएको अनुभूति दिलाउनका साथै भविष्यमा समेत लगानीकोे सुरक्षा गर्ने बाटोमा आफ्ना गतिविधिहरु गरिरहेको उल्लेख गरेको छ ।

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार  १७ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।