काठमाडौँ । चिसो बढेसँगै न्यानो कपडाको माग बढेको छ । विगत वर्षभन्दा यस वर्ष चाँडै जाडो शुरु भएका कारण न्यानो कपडाको माग बढेको हो ।
व्यवसायीहरुले दशैँतिहारको सामानसँगै जाडोको लत्ता कपडा पनि आयात गर्ने गरेका थिए । तर गत असार २४ गतेको बाढी पहिरोका कारण नाका बन्द हुँदा सामानहरु ढुवानी गर्न असहज भएको छ । स्थलमार्गबाट ढुवानी हुन नसक्दा त्यसको असर व्यवसायीसँगै उपभोक्तासम्म परेको छ ।
‘गत वर्ष भन्दा यस वर्ष बेमौसमी बर्षाका कारण छिटै जाडो सुरु भएसँगै छिटै जाडोका कपडाको माग भएको थियो । तर यस वर्ष समयमा जाडोको कपडा ल्याउन नसक्दा सोचे अनुसार व्यापार गर्न नसक्ने भएको छ ।’ व्यापारी विशाल श्रेष्ठ बताउँछन् ।
‘जाडोको लागि कपडाहरु ल्याउने समय हुँदै थियो तर जाडो छिटै सुरु हुँदा माग बढेको समयमा माग पुरा गर्न भने सकिएन,’ उनले भने ।
रसुवा नाका बाढी पहिरोका कारण बन्द भएपछि जाडोका लागि आयात गरिएका सामान समयमै आउन नसकेको व्यवसायीले बताएका छन् । उक्त नाका बन्द भएपछि अन्य वैकल्पिक उपायबाट सामान आयात गर्नुपर्दा समस्यामा परेको उनी बताउँछन् । केही मात्रामा सामान त आयात भएको छ, तर पर्याप्त मात्रामा आयात नहुँदा ज्याकेट, स्वीटर, हुडी, टोपी, ट्राउजर, जुत्ता र मोजा लगायत जाडोमा खपत हुने कपडाहरूको मूल्य बढेको छ ।\

बेमौसमी वर्षाका कारण छिटो चिसो बढेसँगै न्यानो कपडाको माग बढेको बानेश्वरको कपडा व्यापारी रीता फुयाल बताउँछिन् । कपडा पसलमा ज्याकेटको माग बढेतापनि विगत वर्षभन्दा यस वर्ष चाँडै जाडो शुरु भएका कारण ज्याकेटको माग बढेको उनको भनाइ छ ।
यो वर्ष माग अनुसार पर्याप्त मात्रामा आफूसँग सामान नभएको बताउँदै उनले भनिन्, ‘गत वर्षको स्टकमा रहेको कपडाले केही मात्रामा माग पूरा गरेका छौँ । विशेषगरी चीनबाट आएको जाडोको कपडा सस्तो हुन्थ्यो यो वर्ष चीनबाट सामान आउने मुख्य नाका नै बाढीका कारण बन्द भएपछि माग पूरा गर्न समस्या परेको छ । ’
चीनबाट आयातनिर्यात सहज बनाउन नेपालका लागि गतिलो सडक पूर्वाधार नभएसम्म असर परिरहने नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले बताए । केही मात्रामा सामान आएको बताउँदै उनले सडकको अवस्था राम्रो नहुँदा पर्याप्त ल्याउन भने नसकेको स्वीकार गरे ।

‘तयारी पोशाक उत्पादनका लागि चाहिने कच्चा पदार्थ पनि चीनबाट नै आयात गर्नुपर्छ, ’उनले भने, ‘यसरी कच्चा पदार्थ नै आयात नभएपछि नेपाली गार्मेन्टहरु पनि मारमा परेका छन् ।’
जाडोका लागि अर्डर गरेको सामान नाकामा नै रोकिएको छ । समयमा सामान आउन नसक्दा व्यवसायीसँगै उपभोक्ता समेत अप्ठ्यारोमा परेको उनको भनाई छ । सहज भएका नाका बन्द हुँदा व्यवसायीहरुले कोरला नाका, हवाई कार्गो र कोलकत्ता बन्दरगाह हुँदै सामान अर्डर त गरेका छन् । तर ढुवानी भाडा र बढी समय लाग्ने भएकाले मागको अनुपातमा पर्याप्त वस्तु नेपाली बजारमा आउन नसकेको हो । रसुवा नाका बन्दको असर उद्योगीदेखि उपभोक्तासम्म परेको उनको भनाई छ ।












प्रतिक्रिया