काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालले उद्योग क्षेत्रमा साढे ३६ अर्बभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरेको छ । उद्योग विभागले साउनदेखि कात्तिक मसान्तसम्मको अवधिमा ३६ अर्ब ६८ करोड १६ लाख ८६ हजार रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरेको हो ।
चार महिनामा विभागले ३८२ वटा साना, मझौला र ठूला उद्योगमा लगानी स्वीकृत गरेको हो । यस अवधिमा ३६९ साना, ६ मझौला र ७ ठूला उद्योगमा आएको लगानी स्वीकृत भएको छ ।
गत कात्तिक महिनामा मात्र साना, मझौला र ठूला ७१ वटा उद्योगमा एक अर्ब ५४ करोड ३९ हजार रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरिएको छ ।
उद्योग विभागका अनुसार यस अवधिमा स्वचालित मार्ग (अटोमेटिक रुट) भन्दा अप्रुभल रुटबाट २४९ उद्योगका लागि २ अर्ब २९ करोड ५८ लाख तथा अप्रुभल रुटबाट १३१ उद्योगमा ३४ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।
गत साउनदेखि कात्तिक महिनासम्म भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीको तथ्यांक हेर्दा सबैभन्दा बढी सूचना प्रविधिमूलक क्षेत्रका २०५ वटा उद्योगका लागि ८७ करोड ४३ लाख ८६ हजार बराबरको लगानी प्रतिबद्धता आएको छ । रकमका आधारमा भने कृषिमूलक क्षेत्रका १३ उद्योगमा सबैभन्दा धेरै २१ अर्ब ८८ करोड बराबरको लगानी प्रतिबद्धता आएको हो ।
उत्पादनमूलक क्षेत्रका २१ उद्योगमा १ अर्ब ६५ करोड, पर्यटनमूलक क्षेत्रका ११६ उद्योगमा ८ अर्ब ८७ करोड र सेवामूलक क्षेत्रका २३ उद्योगमा ३ अर्ब ९ करोड ६० लाख बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ।
विभागका अनुसार, पछिल्लो चार महिनामा कृषिमूलक १३ उद्योगमा २१ अर्ब ८८ करोड ८० लाख रुपैयाँ, पर्यटकमूलक ११८ उद्योगमा आठ अर्ब ९४ करोड २० लाख ५० हजार रुपैयाँ र सेवामूलक २३ उद्योगमा तीन अर्ब ९ करोड ६० लाख रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएको छ ।
विभागले हालसम्म कुल सात हजार ६२१ उद्योगमा ६ खर्ब ८६ अर्ब ५ करोड ८० लाख ७१ हजार १०० रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरेको छ ।
यता, नेपालमा लगानी गरेको रकमबाट रोयल्टी र नाफा लैजाने पनि बढेका छन्। रोयल्टी वापत लगानीकर्ताले १ अर्ब ८ करोड रुपैयाँ फिर्ता लगेका छन्। गत वर्ष ३८ करोड नेपाली रुपैयाँ फिर्ता लगेका थिए। त्यस्तै डलरमा रोयल्टी रकम घटेको छ। गत वर्ष ८ लाख १५ हजार डलर विदेशीएकोमा अहिले २ लाख १४ हजार डलर मात्रै बाहिरिएको छ। त्यसैगरी भारतीय रुपैयाँमा ९५ लाख रुपैयाँ रोयल्टी लगेका छन्। नाफाको अंशबाट २ अर्ब ९० करोड ७७ लाख रुपैयाँ राजश्व फिर्ता लगेका छन्।
७७१ जना लगानीकर्ता भित्रिए
चालु आर्थिक वर्ष अहिले ७७१ जना भित्रिएका छन् । गत आर्थिक वर्षको ४ महिनामा एक हजार २० जना विदेशी लगानी भित्रिएको थियो ।
कम्पनीका प्रतिनिधीको रुपमा गत वर्ष २०५ जनाले नेपाल आउन अनुमति लिएकोमा अहिले १२२ जना मात्रै रहेका छन् । डिपेन्डेन्ट भिषामा गत वर्ष ३३२ जना आएकोमा चालु आर्थिक वर्षमा २२५ जना आएको तथ्यांक छ ।










प्रतिक्रिया