मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कोशी प्रदेशको योगदान १५ प्रतिशत, अन्य प्रदेशको कति ?


काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कोशी प्रदेशको योगदान १५.९० प्रतिशत रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादन ९ खर्ब ७० अर्ब ७४ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

उक्त अवधिमा प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३४.०५ प्रतिशत रहने अनुमान गरिएको छ । यस्तै उद्योग क्षेत्रको योगदान १६.१० प्रतिशत र सेवा क्षेत्रको योगदान ४९.८५ प्रतिशत रहने अनुमान गरिएको छ ।

गत आवमा कोशी प्रदेशको आर्थिक वृद्धिदर ३.३४ प्रतिशत रहेको छ । यो अवधिमा मुलुकको कुल आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहेको छ । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहेको छ ।

अन्य कुन प्रदेशको कति ?

मुलुकको कुल गार्हस्थ्य उत्पादनमा मधेश प्रदेशको योगदान १३.१६ प्रतिशत रहेको छ । बागमती प्रदेशको योगदान सबैभन्दा बढी ३६.५२ प्रतिशत रहेको छ । यस्तै कुल गार्हस्थ्य उत्पादनमा गण्डकी प्रदेशको योगदान ८.९८ प्रतिशत, लुम्बिनी प्रदेशको योगदान १४.२३ प्रतिशत रहेको छ । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कर्णाली प्रदेशको योगदान सबैभन्दा कम ४.१९ प्रतिशत हुँदा सुदुरपश्चिम प्रदेशको योगदान ७.०३ प्रतिशत रहेको छ ।

क्षेत्रगत हिसाबमा कुन प्रदेशको अंश कति ?

मुलुकको कुल कृषि उत्पादनमा कोशी प्रदेशको योगदान सबैभन्दा बढी २१.५१ प्रतिशत रहेको छ । मधेश प्रदेशको योगदान १९.२२ प्रतिशत रहेको छ । बागमती प्रदेशले मुलुकको कृषि उत्पादनमा १७.७२ प्रतिशत योगदान पु¥याउँदा गण्डकी प्रदेशले ९.६७ प्रतिशत योगदान पु¥याएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ । तथ्यांक अनु्सार लुम्बिनी प्रदेशले मुलुकको कुल कृषि उत्पादनको १७.५४ प्रतिशत धानेको छ । यस्तै कर्णाली प्रदेशको अंश ५.२४ प्रतिशत हुँदा सुदुरपश्चिम प्रदेशले कुल कृषि उत्पादनमा ९.७१ हिस्सा ओगटेको छ ।

यस्तै मुलुकको उद्योग क्षेत्रमा कोशी प्रदेशको अंश १९.९४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । मधेश प्रदेशको अंश १०.९३ प्रतिशत हुँदा उद्योग क्षेत्रमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ३१.६८ प्रतिशत रहेको छ । गण्डकी प्रदेशको योगदान ११.९८ प्रतिशत हुँदा मुलुकको उद्योग क्षेत्रमा लुम्बिनी प्रदेशको योगदान १५.४७ प्रतिशत रहेको छ । मुलुको उद्योग क्षेत्रमा कर्णाली प्रदेशको अंश ३.१३ प्रतिशत हुँदा सुदुपश्चिम प्रदेशको अंश ६.८७ प्रतिशत रहेको छ ।

मुलुको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान सेवा क्षेत्रको रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहेको छ । मुलुकको सेवा क्षेत्रमा कोशी प्रदेशको अंश १२.७८ प्रतिशत रहेको छ । मुलुकको सेवा क्षेत्रमा मधेश प्रदेशको योगदान ११.१७ प्रतिशत रहेको छ, भने मुलुकको सेवा क्षेत्रमा सबैभन्दा बढी बागमती प्रदेशको ४५.३९ प्रतिशत अंश रहेको छ ।

गण्डकी प्रदेशको योगदान ८.०७ प्रतिशत हुँदा लुम्बिनी प्रदेशले मुलुकको सेवा क्षेत्रमा १२.६३ प्रतिशत याोगदान गरेको छ । कर्णली प्रदेशको योगदान सबैभन्दा कम ३.९८ प्रतिशत हुँदा सुदुरपश्चिम प्रदेशले मुलुकको सेवा क्षेत्रमा ५.९८ प्रतिशत योगदान गरेको छ ।

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार  ०७ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।