काठमाडौं । डिजिटल बैंकिङ अवधारणालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको सिटिजन्स बैंक इन्टरनेशनलको मोबाइल बैंकिङबाट सेयर आवेदन दिने सुविधा लोकप्रिय बन्दै गएको छ ।
नेपालमै पहिलो पटक मोबाइल बैंकिङबाटै सी–आस्बा, सीआरएन र सेयर आवेदनको सुविधा सिटिजन्स बैंकले विगत एक वर्षदेखि सञ्चालन गरेपछि हजारौँ लगानीकर्ता त्यसतर्फ आकर्षित भएका छन् । सेयर बजारमा आकर्षण बढेसँगै बैंकको यस सेवा लिनेहरू पनि बढ्दै गइरहेका छन् ।
सेयर आवेदन तथा सी-आस्बा र सीआरएन नम्बरसमेत मोबाइल बैंकिङमै हुने व्यवस्था गरिएपछि ग्राहकको दैनिक समस्या नै समाधान भएको धेरै प्रयोगकर्ताको भनाइ छ ।
सेयर भर्नका लागि यस सुविधाले निकै सहज बनाएको ग्राहक प्रतिक्रिया आएको बैंकका प्रतिनिधिहरू बताउँछन् । यसले बैंकको छवि सहज र सरल सेवामा समर्पित बैंकको रूपमा समेत पहिचान बनाउँदै गएको छ । नेपालमै पहिलो पटक ल्याइएको यस सुविधाले सिटिजन्स बैंकका प्रयोगकर्ताहरूलाई झण्झटरहित र डिजिटल बैंकिङको अभ्यासमा परिचित गराउँदै लगिरहेको छ ।
सिटिजन्सको मोबाइल बैंकिङ एपमा रहेको ‘माई–आस्बा’ मा छिरेपछि लगानीकर्ताले छुट्टै वेबसाइट, एप खोल्नु पर्दैन। सीआरएन रजिस्ट्रेसनदेखि आवेदन भर्ने, आवेदन स्वीकृत भए/नभएको हेर्ने, बाँडफाँटपछि सेयर पर्यो कि परेन,सबै जानकारी त्यही एपमार्फत सहजै हेर्न सकिन्छ ।
पहिले सीआरएन लिन बैंक धाउनु, डिम्याट अपडेट गर्न काउन्टर खोज्नु, आवेदन दिन अर्को सिस्टम खोल्नु, सेयर लगानीकर्ताको दैनिक तनाव थियो। तर सिटिजन्स बैंकका ग्राहकले भने घर वा अफिसमै बसीबसी यी सबै काम गर्न सक्नेछन् ।
सिटिजन्स बैंकको डिम्याट तथा सी–आस्बा विभाग प्रमुख रोजिना तिवारी भन्छिन्,“हामीले यस्तो उपाय खोज्यौँ कि ग्राहकलाई कतै धाउनै नपरोस्। मोबाइल नै उनीहरूको मिनी–बैंक बनोस्।” बैंकको यही सोचले नै पूरै सेयर आवेदन प्रक्रिया मोबाइल बैंकिङमै समेट्ने व्यवस्था अगाडि सारेको उनी बताउँछिन् । आईपीओ, एफपीओ, राइट्स, जुनसुकै आवेदन पनि मोबाइल बैंकिङ एप खोलेर सहजै र छिट्टै दिन सकिन्छ ।
यो सुविधाको अर्को मुख्य विशेषता भनेको डिम्याट खाता जुनसुकै कम्पनीमा खोलिएको भएपनि सिटिजन्स बैंकको मोबाइल एपमा कनेक्ट गर्न सकिन्छ । डिम्याट वा मेरो सेयर खाता चाहे जुनसुकै डिपोजिटरीमा खोलेको किन नहोस्, एपमा लिंक गरेपछि सहजै आवेदन दिन सकिन्छ । सेयर भर्नको लागि डिम्याट खाता, मेरो सेयर खाता र बैंकमा खाता खोलेको हुनुपर्ने छ।
डिजिटल बैंकिङतर्फको ठूलो छलाङ
सिटिजन्स बैंकले ल्याएको यो सुविधा केवल एउटा एप अपडेट होइन—यो सेयर बजारलाई डिजिटल सहजतामा धकेल्ने नयाँ माइलस्टोन बनेको बताइन्छ । लगानीकर्ताले आफ्नो मोबाइलमा मोबाइल बैंकिङ एप अनिवार्य नै राख्छन् । सोही कारण पनि अन्य एप भन्दा मोबाइल एपमै यो सेवा राखेर लगानीकर्तालाई थप सहज बनाइएको हो । यसको रियल टाइम सुविधाले ग्राहकलाई बैंकका शाखा कार्यलयमा नगई सहज र झन्झट मुक्त कारोबार गर्न सहज भएको बैंकले जनाएको छ ।
पछिल्लो समय बैंकिङ क्षेत्रमा डिजिटलाइजेसनले निकै फड्को मारिसकेको छ । सोही अनुरुप सिटिजन्स बैंकले पनि यो नवीन सेवा गत वर्ष सुरू गरेको थियो । नयाँ तथा पूराना सबै किसिमका लगानीकर्ता वा ग्राहकलाई सहज हुने गरी बनाइएको यो सेवा छोटो समयमै लोकप्रिय बनेको तिवारीले बताइन् ।
डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राख्दै आएको बैंकले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको अनुमति लिएर नेपालमै पहिलो पटक आफ्नो एप मार्फत सेयर आवेदन र सिआएन नंबरको सेवा लिन सकिने व्यवस्था गरेको हो ।
अधिकांस सेवाहरूलाई मोबाइल बैंकिङबाटै सहज बनाएको यस बैंकले हालको सिटिजन्स बैंकमा खाता भएका एवं नभएका ग्राहकहरूलाई समेत लक्षित गर्दै बिना चेक इ क्यास पठाउने, रकम जम्मा गर्न इ भौचर प्रयोग गर्ने लगायतका सुविधा समेत दिँदै आएको छ ।












प्रतिक्रिया