‘लक–इन’ मोडमा अर्थतन्त्र, बैंकहरू कर्जा प्रवाह गर्न अनिच्छुक छन् ?


काठमाडौं । ११ खर्ब रुपैयाँभन्दा बढी तरलता बैंकिङ प्रणालीमा थुप्रिँदै गए पनि बैंकबाट ऋण विस्तार बढ्न सकेको छैन । विगतका केही समयदेखि नै कमजोर देखिएको अर्थतन्त्र अहिले पनि ‘लक–इन मोड’ मा फसेको छ ।

बैंकमा लगानी गर्ने प्रशस्त स्रोत हुँदा पनि लगानी नहुने अवस्थालाई कतिपयले ‘तरलता पासो’ का रुपमा समेत लिने गरेका छन् ।  बैंकभित्र पैसा फसेको अवस्थाले नेपालको अर्थतन्त्रमा गम्भीर समस्या ल्याउने अवस्था आएकोमा जानकारहरू चिन्तित छन् ।

जेनजी आन्दोलनपछि त झनै कर्जा माग सुस्त छ । निजी क्षेत्र लगानी गर्न झनै अनिच्छुक देखिएको छ भने बैंकहरू पनि कर्जा विस्तार गरिहाल्ने परिस्थितिमा देखिँदैनन् । 

कर्जा असुलीमा भइरहेको समस्याले हैरानी खेपिरहेका बैंकहरूलाई कर्जा विस्ताका लागि पर्ख र हेरको अवसथा रहेको बैंकरहरू बताउँछन् । त्यसमा पनि लगानी अहिलेका लागि जोखिम मात्र बढाउने ठान्दै सतर्क बनेका छन्। अहिलेको यो अवस्थाले बैंकहरू नै कर्जा दिन किन चाहिरहेका छैनन् भन्ने प्रश्न समेत उब्जाएको छ । 

कतिपय बैंकहरूले अहिले लगानीका अन्य विकल्पहरूमा समेत ध्यान दिन थालेका छन् । पछिल्लो समय सेयर बजारमा गरिएको लगानीलाई उनीहरूले सुरक्षित मान्न थालेका छन् । जसले गर्दा सेयर बजारतर्फ कर्जा बढिरहेको छ ।

जेनजी आन्दोलनपछि निजी क्षेत्रमा देखिएको अनिश्चितता र लगानी मनोविज्ञान कमजोर भएका छन्। तर, अर्थतन्त्रको सुस्तता आन्दोलनअघि नै सुरु भएको थियो। केन्द्रीय बैंकको केही लचकता, ब्याजदर घट्ने संकेत र बजारमा आशा जगाउने केही सूचकले अर्थतन्त्र बिस्तारै लय समात्ने अपेक्षा थिए। तर पछिल्ला उथलपुथल घटनापछि ती संकेत कमजोर परे, र निजी क्षेत्रले गरेको लगानीबाट कति प्रतिफल पाउन सकिन्छ भन्ने नै अनिश्चित बनेको छ।

यही अवस्थामा एक बैंकरले विगत दुई वर्षमा देशभर गरेका असुलीका लागि फिल्डमा खटिँदाको अनुभव सेयर गरेका छन् । 

“हामीले अब एक गहिरो, दीर्घकालीन र लगातार रहने सुस्तता तथा मन्दीका लागि तयार हुनुपर्छ। बजारमा कुनै आत्मविश्वास बाँकी छैन। आखिर लगानीकर्ताको मनोविज्ञान नै पहिलो तत्व हो; ब्याजदर, माग–आपूर्ति, तरलता र नियमकानुन त त्यसपछि मात्र आउँछन्। भविष्यप्रतिको आशा र विश्वास चाँडोभन्दा चाँडो पुनःस्थापना गर्न अत्यावश्यक छ।”

यसले अहिले बैंकिङ क्षेत्रले लगानी गर्न सतर्क भइरहेको र बाहिर पनि लगानीका लागि लगानीको वातावरण नबनेको स्पष्ट देखाउँछ ।

बैंकहरू विगतका अनुभवले झनै सचेत बनेका छन्। कर्जा विस्तार बढाउँदा जोखिम निरन्तर बढेको, निष्क्रिय कर्जा पनि बढेकाले पनि लगानी गर्न पर्ख र हेरको बाटो अपनाइरहेका छन् । यिनै कारणले अहिले कर्जा विस्तारले समस्या थप्ने कि समाधान ल्याउने ? भन्ने द्विविधाले बैंकहरूलाई रोकिराखेको छ।

बै‌ंकरहरू भन्छन्, अहिले तरलता प्रयाप्त भएपनि कर्जा दिने अवस्था छैन । अहिले दिएको कर्जाले प्रतिफल केकस्तो दिन्छ भन्ने नै यकिन हुने अवस्था नभएकाले समस्या बढेको हो । 

उद्योग–व्यवसाय पनि पूर्ण रूपमा आश्वस्त छैनन्। उपभोग क्षमता कमजोर, निर्माण तथा उत्पादनमा माग स्थिर, सरकारको पुँजीगत खर्च न्यून र बजार भविष्य अनिश्चित हुँदा व्यवसायीले नयाँ लगानी रोकिरहेका छन्।

विज्ञहरूका अनुसार अहिलेको अवस्थाबाट बाहिर निस्कन सरकार, नियामक, बैंक र निजी क्षेत्र मिलेर विश्वास पुनर्स्थापना गर्ने वातावरण बनाउनुपर्छ।  नत्र, सुस्तता र अनिश्चितताले अर्थतन्त्रलाई अझै लामो समय ‘अफल’ बनाइरहने चेतावनी उनीहरूको छ।

गत आर्थिक वर्षमा राष्ट्र बैंकले साढे १२ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य तय गरेको छ । यो लक्ष्य पूरा गर्न बैंक तथा वित्तीय संस्थाले ६ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा विस्तार गर्नुपर्थ्यो । तर गत असारसम्म बैंकहरूले प्रवाह गरेको कर्जा लक्ष्यभन्दा २ खर्ब ५१ अर्ब रुपैयाँले कम थियो । चालु आर्थिक वर्ष राष्ट्र बैंकले १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य तय गरेको छ ।

तर गत असोजसम्म ८२ अर्ब ९३ करोड रुपैयाँ मात्र कर्जा प्रवाह भएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा यो १.५ प्रतिशतले मात्र बढी हो । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३ प्रतिशतले बढेर २ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ ।

ब्याजदर घटेर ५१ महिना यताकै सस्तो बनेको अहिलेको अवस्थामा बैंकहरूले लगानीका लागि नयाँ क्षेत्र खोज्नुपर्ने, सेयर बजार लगायतमा लगानी बढाउनुपर्ने लगायतका विषय उठिरहेको छ । जानकारहरू यदी बैंकले लगानीका विकल्प खोजेमा त्यसले पनि दिर्घकालीन लाभ दिन्छ । यसबाहेक सरकारले पनि पुँजीगत खर्च बढाउनेतर्फ चासोका साथ काम गर्नुपर्नेमा उनीहरू जोड दिन्छन् । अहिलेको यो अवस्था चिर्न अझै केही समय लाग्ने र सबै क्षेत्र मिलेर अगाडि बढ्नुपर्ने उनीहरूको भनाइ छ । 

प्रकाशित मिति: १३ मंसिर २०८२, शनिबार  ०८ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।