काठमाडौँ । नेपालले वार्षिक अर्बाैँ रुपैयाँ बराबरको सुर्तीजन्य पदार्थ आयात गर्ने गरेकोे छ । सरकारको ध्यान राजस्वमा मात्र केन्द्रित हुँदा सुर्तीजन्य वस्तुको आयातमा कमी आउन सकेको छैन ।
सरकार राजस्वको लोभमा फस्दा सर्वसाधारणको स्वास्थ्यमा ठुलो चुनौती थपेको छ ।
यता, सरकारले सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई जरिवाना गर्ने, सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवद्र्धन तथा प्रायोजन गर्न नपाईने लगायतको व्यबस्था गरेको भए पनि प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन । सरकारले सूर्तिजन्य पदार्थमा नया निति ल्याउनु भन्दा आयातलाई निरुत्साहित गर्नु नै राम्रो विकल्प हुने विज्ञहरु सुझाउँछन् ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासमा १ अर्ब ५८ करोड २६ लाख ३५ हजार रुपैयाँको धुम्रपानजन्य वस्तु आयात भएको छ । यो अवधिमा उक्त आयातबाट सरकारले १ अर्ब ४६ करोड ७० लाख ३८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । चालु आवको साउनदेखि कात्तिकसम्म १ करोड ८० करोड १५ लाख रुपैयाँको ५५ लाख १ हजार खिल्ली चुरोट आयात भएको छ । उक्त चुरोट आयातबाट २ करोड ६९ लाख १६ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
यो अवधिमा नेपालमा इन्डोनेसिया, दक्षिण कोरिया, जापान, बेलायत र सर्बियासम्मको चुरोट आयात भएको छ । सबैभन्दा बढी इन्डोनेसियाबाट ४० लाख ५० हजार २०० खिल्ली चुरोट १ करोड ३६ लाख ५४ हजार रुपैयाँमा आयात हुँदा दक्षिण कोरियाबाट १४ लाख ५० हजार खिल्ली चुरोट ४३ लाख ४९ हजार रुपैयाँको चुरोट आयात भएको छ । जापानबाट ४०० खिल्ली चुरोट ६ हजार रुपैयाँमा, सर्बियाबाट २०० खिल्ली ३ हजार रुपैयाँमा र बेलायतबाट पनि २०० खिल्ली चुरोट ३ हजार रुपैयाँमै आयात भएको तथ्यांकमा उल्लेख गरिएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासमा ७५ करोड ५ लाख १८ हजार रुपैयाँको धुम्रपानजन्य वस्तु आयात हुँदा ७४ करोड २९ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । सो अवधिमा ३६ लाख ६४ हजार ७०० खिल्ली चुरोट मात्र आयात भएको थियो । उक्त मात्रामा चुरोट आयात हुँदा १ करोड ४५ लाख ६ हजार रुपैयाँ विदेशीएको थियो भने ३ करोड ५६ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
सो अवधिमा सबैभन्दा बढी इन्डोनेसियाबाट ३६ लाख ६० हजार खिल्ली चुरोट १ करोड ४३ लाख ४० हजार रुपैयाँमा आयात भएको थियो । यस्तै चीनबाट १ हजार खिल्ली चुरोट ८६ हजार रुपैयाँको आयात हुँदा भारतबाट २ हजार ५०० खिल्ली ४५ हजार रुपैयाँमा र बहराइनबाट २०० खिल्ली चुरोट ३२ हजार रुपैयाँमा आयात भएको थियो ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासमा १ अर्ब ८३ करोड ६४ लाख ६६ हजार रुपैयाँको चुरोट आयात हुँदा १ अर्ब ६९ करोड ६७ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको थियो । उक्त अवधिमा ४५ लाख ७६ हजार खिल्ली चुरोट १ करोड ४४ लाख २८ हजार रुपैयाँमा आयात भएको थियो ।
उक्त अवधिमा सबैभन्दा बढी इन्डोनेसियाबाट २५ लाख खिल्ली चुरोट १ करोड ४ लाख ९ हजार रुपैयाँमा आयात भएको थियो । चीनबाट २० लाख ७५ हजार खिल्ली चुरोट ४० लाख १६ हजार रुपैयाँमा आयात हुँदा जापानबाट ४०० खिल्ली १ हजार रुपैयाँमा, कोरियाबाट २०० खिल्ली १ हजार रुपैयाँमा र सर्बियाबाट २०० खिल्ली १ हजार रुपैयाँमा आयात भएको थियो ।
दैनिक ६७ जनाले गुमाउँछन् ज्यान
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थको सेवनबाट २५ हजार जनाको मृत्यु हुने गरेको छ । जसमध्ये १५ हजार पुरुष र १० हजार महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैनिक ६७ जनाले मृत्यु हुने गरेको छ । यता, विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्ममा हरेक वर्ष सूर्तीजन्य पदार्थ सेवनबाट हरेक वर्ष मृत्यु हुनेको सङ्ख्या ८० लाख पुग्ने अनुमान गरेको छ ।
सुर्तीजन्य पदार्थ सेवनबाट लाग्ने रोगको उपचारमा सरकारले वार्षिक ५ अर्ब रुपैयाँ प्रत्यक्ष र करिब ५० अर्ब रुपैयाँ अप्रत्यक्ष रुपमा खर्च गर्ने गरेको छ । सुर्तीजन्य पदार्थको प्रयोगलाई मात्रै रोक्न सकेपनि ४० प्रतिशत क्यान्सरको भार घटाउन सकिने अध्ययनले देखाएको छ ।
धूमपान तथा सुर्ति सेवनलाई निरुत्साहित गर्न नेपाल सरकारले अन्तर्राष्ट्रिय सन्धिहरुमा हस्ताक्षर गरेको छ भने थुप्रै ऐन कानुनहरु पनि बनेका छन् । तर ति सन्धि तथा ऐन कानुनहरु प्रभावकारी रुपमा कार्यान्वयन हुन सकिरहेका छैनन् ।












प्रतिक्रिया