काठमाडौँ । गत साता उच्च वृद्धि गरेको नेप्से परिसूचक यो साता कारोबारका सबै दिन घटेर करेक्सन भएको छ । साताभरिमा नेप्से ४४.८४ अंकले घट्दै २६३१.१७ अंकमा सीमित भएको छ ।
बजारका जानकारहरूले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामा लगानीकर्ताले अपेक्षा गरेका नीतिगत खुकुलोपन नल्याएको कारणले बजार प्रभावित भएको बताएका छन् ।
गत साता कारोबारका सबै दिन बढेको नेप्से साताभरिमा ११५.७४ अंकले बढेको थियो ।
कुन दिन कति अंकले घट्यो नेप्से ?
गत साताको कारोबारको अन्तिम दिन बिहीबार १०.४३ अंकले बढेर २६७६.०३ अंकमा पुगेको थियो । यो साताको कारोबार भएको अन्तिम दिन बुधबार नेप्से १३.५२ अंकले घटेर २६३१.१७ अंकमा पुगेर बजार बन्द भएको छ ।
यो साताको कारोबारको सुरुको दिन आइतबार २६.५१ अंकले घटेर २६४९.५२ अंकमा पुगेको थियो । सोमबार ४.२८ अंकले घटेर २६४५.२४ अंकमा पुग्दा मंगलबार नेप्से ०.५३ अंकले घटेर २६४४.७० अंकमा पुगेको थियो ।
कुन दिन कतिको कारोबार भयो ?
गत साताको कारोबारको अन्तिम दिन बिहीबार कारोबार रकम ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैयाँ पुगेको थियो ।
यो साताको पहिलो कारोबार दिन आइतबार कारोबार रकम भने बढेर ७ अर्ब ८ करोड ५४ लाख ४९ हजार रुपैयाँ पुगेको थियो । सोमबार भने कारोबार रकम घटेर ४ अर्ब ७१ करोड ६३ लाख रुपैयाँमा सिमित भएको थियो । मंगलबार कारोबार रकम ४ अर्ब ४८ करोड १३ लाख रुपैयाँ पुगेको थियो । बुधबार कारोबार रकम ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँ पुगेको थियो ।
राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामा अलि खुकुलो गर्ला भन्ने आशामा बढेको बजार त्यसो नहुँदा घटेको ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष भरत रानाभाटको बुझाई छ । रानाभाटले भने, “बैंक तथा फाइनान्सहरुले ६ महिनापछि सेयर बेच्न पाँउछन् यसलाई खुला गर्ने आशामा बढेको बजार त्यसो नहुँदा घटेको हो ।”
यता, राष्ट्र बैंकले अरु नीतिहरु खुकुलो गरेपनि बैंकहरुलाई धेरै नीतिहरुमा कडाई गरेको कारणले गर्दा पनि बजार घटेको सेयर बजारका जानकार छोटेलाल रौनियारको भनाई छ । रौनियारले भने, “पहिले बैंकले सेयर बिक्री गर्न पाउँथ्यो लगानीकर्ताले किन्न पाउँथे । तर त्यो पनि राष्ट्र बैंकले बन्द गरेको छ । जसले गर्दा बैंकहरुले लगानी गर्न पाएका छैनन् । यसले पनि बजारमा गिरावट आएको हो ।”
साताभरि सबैभन्दा बढी कुन कम्पनीको सेयर मूल्य कतिले बढ्यो ?
आइतबार सागर डिष्टिलरी, नेफ्रा ग्रिन इनर्जीको डेभेन्चर मूल्य, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेकको सेयर मूल्य १० प्रतिशतले बढेको थियो । सोमबार सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, श्रीनगर एग्रिटेक र ग्रिन भेन्चरको सेयर मूल्य १० प्रतिशतले बढेको थियो । मंगलबार पनि सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, माबिलुङ इनर्जी, बुङगल हाइड्रो र श्रीनगर एग्रिटेकको सेयर मूल्य १० प्रतिशतले बढेको थियो । बुधबार सागर डिष्टिलरी, मिथिला लघुवित्त, झापा इनर्जी, स्वस्तिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको थियो ।
कुन कम्पनीको सेयर मूल्य सबैभन्दा बढी घट्यो ?
आइतबार जोशी हाइड्रोइनर्जीको सेयर मूल्य ७.२९ प्रतिशतले घटेको थियो । सोमबार नेफ्रा ग्रिन इनर्जीको ६ प्रतिशत डेभेन्चर मूल्य १० प्रतिशतले घटेको थियो । मंगलबार ग्रिन भेन्चरको सेयर मूल्य १० प्रतिशतले घटेको थियो । बुधबार सामलिङ पावर कम्पनीको सेयर मूल्य २.८५ प्रतिशतले घटेको थियो ।
कुन कम्पनीको सबैभन्दा बढी कारोबार भयो ?
सोमबार कारोबार रकमको आधारमा मादी हाइड्रोपावर २७ करोड १० लाख रुपैयाँको कारोबार सहित अग्रस्थानमा रहेको थियो । मंगलबार कारोबार रकमको आधारमा ३१ करोड ८१ लाख ३५ हजार रुपैयाँको कारोबार सहित युनियन हाइड्रोपावर शीर्षस्थानमा रहेको थियो । बुधबार कारोबार रकमको आधारमा बन्दीपुर केबलकार १८ करोड ४९ लाख ७६ हजार रुपैयाँको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।
कुन दिन कति कायम भयो बजार पूँजीकरण ?
बिहीबार बजार पूँजीकरण ४४ खर्ब ९३ अर्ब १२ करोड २४ लाख रुपैयाँ कायम भएको थियो ।
यो साताको कारोबारको पहिलो दिन आइतबार कूल बजार पूँजीकरण ४४ खर्ब ४८ अर्ब ६० करोड रुपैयाँ कायम भएको थियो ।
सोमबार कूल बजार पूँजीकरण ४४ खर्ब ४१ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ कायम भएको थियो । मंगलबार कूल बजार पूँजीकरण ४४ खर्ब ४० अर्ब ५१ करोड २४ लाख रुपैयाँ कायम भएको थियो । यो साताको अन्तिम कारोबार भएको अन्तिम दिन बुधबार बजार पूँजीकरण ४४ खर्ब १७ अर्ब ८० करोड ४५ लाख रुपैयाँ कायम भएको थियो ।










प्रतिक्रिया