जनसंख्याभन्दा दोब्बर बैंक खाता, एक जनालाई कति भए पुग्छ ?


काठमाडौँ । सम्झनुहोस् त, तपाईंसँग कतिवटा बैंक खाता छन् ? मोबाइलकै स्क्रीनमा हेर्नुभयो भने पनि २-४ वटा बैंकका मोबाइल बैंकिङ एप त पक्कै डाउनलोड गर्नुभएको होला ।

अझ, रोजगारीका क्रममा त नयाँ कम्पनीमा रोजगारी लिएसँगै हरेकका फरक फरक बैंक खाताले हैरान नै बनाउँछ ।  खासमा कति भए उपयुक्त हुन्छ बैंक खाता ? पछिल्लो समय धेरैको मनमा उब्जिने प्रश्न बनेको छ यो ।

जानकारहरू पछिल्लो समय वित्तीय पहुँच बढ्दै गएकाले बैंक खाता पनि धेरै हुँदै गएकाे बताउँछन् । यसले ग्राहकलाई झन्झटमात्र हैन खर्चिलो समेत बनेको छ । कतिपयले भने खाता जतिसक्यो कम गर्नुपर्नेमा जोड दिन थालेका छन् ।

वित्तीय साक्षरतामा वृद्धि, गाउँगाउँसम्म बैंकको विस्तार र सरकारी कारोबारमा बैंकिङ प्रणालीको अवधारणा कार्यान्वयनमा आएसँगै हाल सर्वसाधारणसम्म वित्तीय पहुँच विस्तार हुँदै गएको हो ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले आम नागरिकमा वित्तीय पहुँच विस्तार गर्न घरदैलो कार्यक्रमदेखि विभिन्न आकर्षक योजना ल्याएसँगै बैंकमा खाता खोल्नेको संख्या बढ्दै जान थालेको हो ।

अहिले एउटै बैंक खाताबाट सबै कारोबार हुने गरे पनि आवश्यकता अनुसार धेरैवटा बैंकमा ग्राहकले खाता खोल्ने गरेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनाल बताउँछन् ।

‘एक व्यक्तिले एउटा बैंकमा मात्र खाता खोले पुग्छ’, उनी भन्छन्, ‘खाता खोलेपछि मोबाइल बैंकिङ, चेक, डेबिट कार्ड लिनुपर्ने हुन्छ । धेरैवटा बैंकमा खाता खोल्दा यी कुराको थप पैसा तिर्नुपर्छ ।’

तर पनि कहिलेकाहीं आवश्यकताले धेरै खाता खोल्‌नुपर्ने अवस्था आउन सक्ने उनी बताउँछन् । बचत गर्ने, तलब आउने, लगानी गर्ने छुट्टाछुट्टै खाता हुँदा हिसाबकिताबका लागि सजिलो पनि हुन सक्ने उनी बताउँछन् । त्यसमाथि डिजिटल सेवा बैंकअनुसार फरक पर्ने हुँदा त्यसको पनि लाभ उठाउन सकिन्छ, खनाल भन्छन् ।

तर धेरैवटा बैंक खातालाई व्यवस्थापन गरेर राखिरहन भने झन्झट हुन सक्ने उनी बताउँछन् । ‘यदि कुनै बैंकमा ५०० रुपैयाँ न्यूनतम बचत हुनुपर्ने सिस्टम छ र अर्को बैंकमा पनि त्यस्तै छ । चारवटा बैंक खाता छ भने दुई हजार रुपैयाँ त त्यत्तिकै रहने भयो,’ खनालले भने, ‘नियमित चलाउने त एक वा दुईवटा मात्रै खाता हुन्छ । त्यसैले हरेक खाताको व्यवस्थापन गरिराख्ने झन्झट भने हुने गर्छ ।’

नेपाल राष्ट्र बैंकका प्रवता गुरुप्रसाद पौडेल बैंकखाता बढी हुनु वित्तीय क्षेत्रको लागि राम्रो हुने भए पनि व्यक्तिगत खर्च बढी हुने बताउँछन् । ‘पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको संख्या भने घट्दो छ । नेपाल राष्ट्र बैंकले मर्जर नीति अंगालेपछि बैंक तथा वित्तीय संख्याको संख्या घटेको हो,’ पौडेलले भने, ‘हाल मुलुकमा कुल जनसँख्याको करिब २ गुणा बढी बैंक खाता रहेको छ ।’

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको असोजसम्ममा बैंक खाताको संख्या ६ करोड २९ लाख ६० हजार पुगेको छ । जुन (निक्षेप र कर्जा) खाता शीर्षकमा रहेको छ । जबकी, पछिल्लो जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० मात्र छ ।
बैंकमा खुलेको कूल खाता संख्या जनगणना २०७८ को कूल जनसंख्याभन्दा ३ करोड ३७ लाख ९५ हजार बढी हो ।

बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार बैंक खाता खोल्नेको संख्या बढ्दो क्रममा देखिएको छ । अघिल्लो आर्थिक वर्षमा बैंक खाताको संख्या ५ करोड ८८ लाख ८७ हजार थियो ।

कतिपयले आवश्यकता अनुसार एकभन्दा बढी बैंक खाता खोलेका हुन्छन् भने कसैले त मनलाग्दी रुपमा बैंकमा धेरै खाताहरू खोलिरहेका हुन्छन् । धेरै बैंक खाता खोल्दा घाटा पनि व्यहोर्नुपर्ने हुन्छ ।

कतिपय व्यक्तिहरू बहुखाता अर्थात् एकभन्दा बढी खाताहरू चाहिने बताउँछन् । कम्तीमा दुईवटा खाता राख्नुपर्ने प्रवक्ता पौडेल बताउँछन् । जीवनभर बचत हुने खालको खाता एक र दोस्रो खाता क्रेडिट कार्ड, मोवाइल बैंकिङ आदि जस्ता विभिन्न प्रकारको लेनदेनको लागि हुनुपर्ने उनले बताए ।

यसबाट आफ्नो पैसा सुरक्षित राख्न सकिने र दैनिक जीवनमा कम जोखिममा लेनदेन गर्न सकिने पौडेलले जानकारी दिए ।

एउटामात्रै बैंक खाता हुनुका फाइदा

एक व्यक्तिले एउटा बैंकमा मात्र खाता खोले पुग्ने कतिपय बैंकर बताउँछन् । उनीहरूका अनुसार खाता खोलेपछि मोबाइल बैंकिङ, चेक, एटीएम कार्ड लिनुपर्ने हुन्छ । धेरैवटा बैंकमा खाता खोल्दा यी कुराको थप पैसा तिर्नुपर्छ ।

यसबाहेक, लेनदेन अनुगमनमा चुक्ने जोखिम पनि कम छ । धेरै लगइन विवरणहरू सम्झन आवश्यक पनि पर्दैन । बैंक खाता राख्ने लागत पनि सीमित छ । जसकारण एक बैंक खाता हुनु फाइदा रहेको केन्द्रीय बैंकका प्रवक्ता पौडेलले बताए ।

धेरै बैंक खाता झन्झटिलो 

बहु बैंक खाता हुनुका धेरै बेफाइदाहरू छन्, यदि कुनै कारणले हामीले बैंकको प्रमाणपत्र बिर्सियौं वा पासवर्ड लेख्ने प्रयास गर्दा संयोगवश तीन पटकभन्दा बढी प्रयास गरेमा कारोबार रोकिन्छ । तीनभन्दा बढी पटक यसो गरियो भने त बैंकहरूले खातामा प्रतिबन्ध लगाउँछन् । यसपछि खातामा रकम आउँदैन ।

जानकारहरूका अनुसार, धेरै खाता खोल्दा बैंकहरूलाई व्यवस्थापनमा चाप बढ्ने र खाता खोल्नेहरूसँगै वित्तीय अपराधका घटनाहरू पनि बढ्न सक्छ । उनीहरूले अत्याधिक खाता खोल्दा र बैंकको स्रोत साधन सिमित हुँदा सेवाहरूको गुणस्तरमा कमी आउने सक्ने विज्ञहरू बताउँदै आएका छन् ।

प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार  १० : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।