भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराईसहित ७ जनाविरुद्ध मुद्दा


काठमाडौँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा तस्करी प्रकरणमा सहसचिव तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराईसहित ७ जना व्यक्ति र दुई कम्पनीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर भएको हो।

आयोगले सहसचिव तीर्थराज भट्टराईसँग ७९ लाख ८० हजार बिगो र भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन) को दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम कैद समेत माग गरेको छ ।

तत्कालीन अध्यागमन अधिकृत यज्ञराज अर्यालसँग ८ लाख, ग्रिनलाईज होलिडेज कम्पनी र उक्त कम्पनीका अध्यक्ष बालकृष्ण खड्कासँग ३० लाख २० हजार र फेमिली होलिडेज ट्राभल्स एन्ड टुर्सका संस्थापक सेयर सदस्य दीपक भण्डारीसँग १० लाख ६० हजार बिगो माग गर्दै आयोगले मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार  १० : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।