मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन


दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन । जामुनेबाट पोखरासम्म पर्ने पश्चिमखण्डको आज निरीक्षण गर्दै उनले निर्धारित समयमा काम सम्पन्न गरी आवागमन सहज बनाउन निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन् ।

मन्त्री घिसिङले पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्मको हालसम्म भएको प्रगति विवरणबारे जानकारी लिँदै समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पश्चिम खण्डमा भौतिक प्रगति ५९.७६ प्रतिशत र वित्तीय प्रगति ४७.८० प्रतिशत भएको छ ।

आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार ४८.८८ किलोमिटर दूरीको उक्त खण्डमा हालसम्म ३७.४किमीमा एकतर्फी रूपमा पहिलो तहको कालोपत्र सकिएको छ । त्यसमध्ये २९.६१ किमीमा ४ लेन र ७.७९ किमीमा २ लेन कालोपत्र सम्पन्न भएको उनले जानकारी दिए।

उक्त खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेका छन् भने सेती नदीमा पुल निर्माणाधीन छ । गत आर्थिक वर्षमा पश्चिम खण्डको २५ किमी सडक ४ लेनमा स्तरोन्नति गर्ने लक्ष्य राखिएकामा २३.०६ किमी कालोपत्र भएको आयोजना प्रमुख कुँवरले जानकारी दिए। उनका अनुसार ११ पुल निर्माण गर्ने लक्ष्य राखिएकामा लक्ष्यबमोजिम ११ वटै सम्पन्न भएका छन् ।

छैसठ्ठी कल्भर्ट निर्माण गर्ने लक्ष्य राखिएकामा ६५ र ५१.५ किमी नाला निर्माण गर्ने लक्ष्य राखिएकामा ४५.२ किमी सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ । आगामी पुस १६ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७८ जेठ ३ गते ७ अर्ब ४० करोड रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार  ११ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।