सरकारको आम्दानी भन्दा खर्च डेढ खर्ब रुपैयाँ बढी


काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा सरकारले आम्दानी भन्दा खर्च डेढ खर्ब रुपैयाँ बढी गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रकको तथ्यांक अनुसार सरकारले ४ खर्ब १४ अर्ब रुपैयाँ आम्दानी गर्दा गरेको खर्च भने ५ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ । जुन १ खर्ब ५० अर्ब बढी हो ।

चालु आर्थिक वर्षको पहिलो पाँच महिनमा सरकारको आम्दानी र खर्च दुबै निरासाजनक देखिएको छ । चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्ममा विकास खर्च ८ दशमलव ३ प्रतिशत पनि मात्रै रहेको छ ।

सरकारले ५ महिनामा गरेको कुल आम्दानी लक्ष्यको करिब २७ प्रतिशत छ । यस्तो आम्दानी ४ खर्ब १४ अर्ब रुपैयाँ पुगको छ । चालू आर्थिक वर्षमा सरकारले १५ खर्ब ३३ अर्ब रुपैयाँ कर र गैरकरबाट आम्दानी गर्ने लक्ष्य लिएको थियो ।

सरकारले प्रशासनिक खर्च ३ खर्ब ९८ अर्ब रुपैयाँ गरेको छ भने विकास निर्माणमा हुने पुँजीगत खर्च भने ३३ अर्ब ८७ करोड रुपैयाँ मात्रै छ । सरकारले चालु आर्थिक वर्षमा ४ खर्ब ७ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य अगाडि सारेको थियो ।

यता, मंसिर महिनामा ८० अर्ब २७ करोड रुपैयाँ राजश्व संकलन भएको छ । सरकारले मंसिरमा मात्रै ९५ अर्ब २० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । मंसिरमा संकलन भएको राजस्व लक्ष्यको ८४.३१ प्रतिशत हो ।
सरकारले चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

यो पाँच महिनाको अवधिमा ५ खर्ब २० अर्ब ४४ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर लक्ष्यको ७८.७४ प्रतिशत मात्रै राजस्व संकलन भएको हो ।

गत आर्थिक वर्षको यही पाँच महिना अवधिमा सरकारले ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । समीक्षा अवधिमा राजस्व संकलन करिब ४ अर्ब मात्रै बढेको छ । गत आर्थिक वर्षको पाँच महिनामा लक्ष्यको ८१.९ प्रतिशत राजस्व संकलन भएको थियो । चालु आर्थिक वर्ष सरकारले कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ ।

प्रकाशित मिति: १ पुस २०८२, मंगलबार  १३ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।