चार महिनामा विदेश भ्रमणमा नेपालीले गरे ७५ अर्ब खर्च, पर्यटक आम्दानी भने २७ अर्ब मात्रै !


काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालीले विदेश भ्रमणमा मात्रै ७५ अर्ब ७४ करोड रुपैयाँ खर्च गरेका छन् । सोही अवधिमा नेपालमा विदेशी पर्यटकबाट आएको आम्दानी भने २७ अर्ब १५ करोड रुपैयाँमा सीमित छ ।

राष्ट्र बैैंकको कात्तिकसम्मको तथ्यांकले नेपालीले घुमफिरकै नाममा देशमा भित्रिने पर्यटन आम्दानीभन्दा ४८ अर्ब ५९ करोड रुपैयाँ बढी रकम नेपालीले विदेशमा खर्च गरिरहेको देखाएको छ ।

पछिल्लो समय नेपालीको विदेश घुम्ने मोह झनै बढ्दो देखिएको छ । अध्ययनका लागि मात्रै होइन, घुमफिरका नाममा पनि ठूलो परिमाणको रकम विदेशमा खर्चिने प्रवृत्ति तीव्र रुपमा बढेको हो ।

गत आवको चार महिनामा नेपालीहरूले विदेशमा ६७ अर्ब ७४ करोड रुपैयाँ खर्च गर्दा विदेशीहरूले नेपालमा भने २६ अर्ब ८९ करोड रुपैयाँ मात्र खर्च गरेका छन् । अघिल्लो आवको चार महिनामा भने नेपालीले विदेशमा ६१ अर्ब ९२ करोड रुपैयाँ खर्च गर्दा विदेशीहरूले नेपालमा २५ अर्ब ८७ करोड रुपैयाँ मात्र खर्च गरेका थिए ।

नेपालीहरू विदेशमा घुम्न, व्यवसायिक प्रयोजन, व्यक्तिगत, स्वास्थ्य उपचार, शिक्षा र अन्य शिलशिलामा जाने गर्छन् । जसमा सबैभन्दा बढी नै घुम्नका लागि खर्च भएको छ ।

पर्यटनलाई आर्थिक समृद्धिको आधार मानिएको नेपालका लागि यो तथ्यांकले निराश बनाउँछ । एकातिर पर्यटक भित्र्याउने रणनीति कमजोर देखिन्छ भने अर्कोतर्फ नेपालीको विदेश मोह झनै महँगो साबित हुँदै गएको जानकारहरू बताउँछन् ।

शिक्षाका लागि विदेशियो ४८ अर्ब

नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीले चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा ४८ अर्ब २५ करोड रुपैयाँ विदेशिएको छ । उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरू विदेश जाने क्रम बढेपछि उक्त रकम विदेशिएको हो ।

गत आर्थिक वर्षको तुलनामा यो वर्ष १० अर्ब ४८ करोड बढी खर्च भएको राष्ट्र बैंकको तथ्यांक छ । गत आव चार महिनामा ३७ अर्ब ७६ करोड रुपैयाँ खर्च गरेका थिए । अघिल्लो आवको सोही अवधिमा ३८ अर्ब ४४ करोड रुपैयाँ खर्च गरेका थिए ।

नेपाली विद्यार्थीहरू अध्ययनका लागि अस्ट्रेलिया, बेलायत, क्यानाडा, जापान लगायतका मुलुकमा जाने गरेका छन् । चार महिनाको अवधिमा १ अर्ब २ करोड रुपैयाँ मात्र खर्च गरेको बैंकको तथ्यांकमा उल्लेख गरिएको छ । गत आवको सोही अवधिमा १ अर्ब ७९ करोड रुपैयाँ खर्च गरेको थिए भने अघिल्लो आवमा १ अर्ब ८४ करोड ९ लाख रुपैयाँ खर्च गरेका थिए ।

त्यस्तै, व्यवसायिक प्रयोजनमा नेपालीहरू ६० करोड रुपैयाँ खर्च गरेका छन् । गत आवको तुलनामा व्यवसायिक प्रयोजनमा विदेशमा हुने खर्च यस वर्ष १२२.५ प्रतिशतले कम भएको छ । गत वर्ष नेपालीहरूले १ अर्ब ३३ करोड ५ लाख रुपैयाँ खर्च गरेका थिए ।

यस वर्ष व्यवसायीक प्रयोजनमा विदेशीहरूले १ करोड ९ लाख रुपैयाँ मात्र खर्च गरेका छन्, जुन गत वर्षको तुलनामा करिब पाँच गुणा कम हो । गत आवमा विदेशीहरूले १२ करोड ४ लाख रुपैयाँ खर्च गरेको राष्ट्र बैंकको तथ्यांक छ ।

यता, स्वास्थ्य उपचारका लागि भने विदेशीले भन्दा नेपालीहरूले कम खर्च गरेका छन् । चार महिनामा विदेशीहरूले १५ करोड ९ लाख रुपैयाँ खर्च गर्दा नेपालीहरूले १० करोड ३ लाख रुपैयाँ मात्र खर्च गरेका छन् । त्यस्तै, अन्य प्रयोजनका लागि नेपालीहरूले २५ अर्ब ९५ करोड ३ लाख रुपैयाँ खर्च गर्दा विदेशीहरूले २६ अर्ब ७८ करोड ४ लाख रुपैयाँ मात्र खर्च गरेका छन् ।

नेपालीको विदेश खर्च बढ्नुका कारण

नेपालमा पर्याप्त रोजगारीका अवसर नहुनु र गुणस्तरीय शिक्षाका लागि विदेश जाने ट्रेण्ड बढेसँगै ठूलो संख्यामा युवाहरू अध्ययन र कामको खोजीमा विदेशिने गरेका छन् ।

पछिल्लो समयको तथ्यांकले सबैभन्दा बढी रकम घुम्न जानेहरूले लाने गरेको देखाउँछ । पर्यटन नेपालका लागि विदेशी मुद्रा आर्जन गर्ने एक प्रमुख माध्यम भनिए पनि पर्यटन क्षेत्रको विकासमा आवश्यक ध्यान पुग्न सकेको छैन ।

पर्यटक आएपनि लामो समय बस्दैनन् र उनीहरूले गर्ने खर्च निकै कम छ । जसकारण आम्दानी कम भएको पर्यटन विभागका निर्देशक हिमाल गौतम बताउँछन् ।

नेपालमा पर्यटकको बसाइ छोटो हुनु, पर्यटकले खर्च कम गर्नु जस्ता कारणले पनि नेपालको सेवा व्यापार ऋणात्मक देखिने गरेको उनी बताउँछन् ।

त्यसपछि पढ्न जाने विद्यार्थीहरूले लाने गरेका छन् । नेपालमा राम्रा विश्वविद्यालय नभएको र उचित पढाइ नहुने र पढेअनुरूप जागिर नपाउने हुँदा उच्च शिक्षाका लागि नेपालबाट बर्सेनी ठूलो रकम बाहिरिने गरेको विज्ञहरू बताउँछन् ।

नेपालले विदेशी मुद्राको सञ्चिति बढाउन र सेवा व्यापार घाटा कम गर्नका लागि स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार गर्नुपर्ने र पर्यटन क्षेत्रको विकासमा जोड दिनु आवश्यक रहेको छ । यसका साथै पर्यटकको बसाई लम्ब्याउने र खर्च बढाउने योजनाहरू खोज्न जरुरी रहेको जानकारहरू बताउँछन् ।

प्रकाशित मिति: २ पुस २०८२, बुधबार  १४ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।