राष्ट्रपतिद्वारा किन्डर ओलम्पिकको मस्कट अनावरण


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले एनएसएसएफ १३ औं किन्डर ओलम्पिकको मस्कटको अनावरण गर्नुका साथै किन्डर ओलम्पिकको टर्च आज हस्तान्तरण गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले मस्कटको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलाई टर्च हस्तान्तरण गरेका हुन् ।

नेपाल विद्यालय खेलकुद महासंघको आयोजनामा किन्डर ओलम्पिक पुसको १२ र १५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । किन्डर ओलम्पिकमा विभिन्न १२ खेलमा प्रतिस्पर्धा हुने नेपाल विद्यालय खेलकुद महासङ्घका महासचिव राजकुमार कार्कीले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले विद्यालय खेलकुद महासङ्घमार्फत नेपालले सहभागिता जनाएका विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा हासिल गरेको उपलब्धि र विविध गतिविधिबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, विद्यालय खेलकुद महासंघका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार  १६ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।