एनपिआई हस्पिटलको आईपीओ आउँदै, नबिल इन्भेष्टमेण्ट बिक्री प्रबन्धक नियुक्त


काठमाडौँ। एनपिआई नारायणी सामुदायिक हस्पिटल लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकाअनुसार निकट भविष्यमै सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) सार्वजनिक निष्काशन गर्ने भएको छ।

कम्पनीले उक्त आईपीओ निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ।

जारी पूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको एनपिआई नारायणी सामुदायिक हस्पिटलले आफ्नो जारी पूँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्ने र बाँकी ८० प्रतिशत शेयर संस्थापक समूह अन्तर्गत कायम रहने जनाएको छ।

थप सेवा विस्तारका लागि निर्माणको अन्तिम चरणमा रहेको ४०० शैयाको जनरल तथा क्यान्सर रोगलाई लक्षित अस्पताल सञ्चालनका लागि आवश्यक पूँजी जुटाउने उद्देश्यले कम्पनी सार्वजनिक निष्काशनमा जान लागेको कम्पनीका सञ्चालक चुडामणी खनालले जानकारी दिए।

विसं २०६३ मा स्थापना भएको एनपिआई नारायणी सामुदायिक हस्पिटल लिमिटेडले अस्पताल सेवा तथा विभिन्न शैक्षिक कार्यक्रम प्रदान गर्दै आएको छ। कम्पनीका अनुसार हाल यसको वार्षिक कारोबार करिब १ अर्ब १५ करोड रुपैयाँ रहेको छ भने ४२५ भन्दा बढी कर्मचारी कार्यरत रहेका छन्।

आज सम्पन्न सम्झौतापत्रमा एनपिआई नारायणी सामुदायिक हस्पिटल लिमिटेडका तर्फबाट सञ्चालक चुडामणी खनाल तथा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए। हस्ताक्षर समारोहमा कम्पनीका सञ्चालक विष्णु कुँवर र निरज कुमार श्रेष्ठको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: ७ पुस २०८२, सोमबार  १० : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।