काठमाडौँ । होटल सब्रिना लिमिटेडको सातौँ वार्षिक साधारण सभा सोमबार कम्पनीको रजिष्टर्ड कार्यालय, बुढानिलकण्ठ–६, काठमाडौँमा सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन प्रमुख अतिथि वरिष्ठ कलाकार तथा निर्देशक निर शाह र संस्थाका निर्देशक निराजन थापाले संयुक्त रूपमा दीप प्रज्वलन गरी गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि निर शाहले पर्यटन क्षेत्रको वर्तमान अवस्था र यसले राष्ट्रिय अर्थतन्त्रमा पुर्याउने योगदान विषयमा आफ्नो धारणा व्यक्त गरे । त्यस अवसरमा होटल सब्रिनाका वित्त प्रमुख अनिल लामिछानेले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरे । उनका अनुसार होटल सब्रिनाले उक्त आर्थिक वर्षमा ७ करोड १५ लाख रुपैयाँ व्यापार आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १० प्रतिशत वृद्धि हो। सो अवधिमा संस्थाले १ करोड ५३ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको भए तापनि वित्तीय व्यवस्थापनसँग सम्बन्धित उच्च खर्चका कारण खुद नाफा ऋणात्मक रहेको जानकारी दिइयो।
सभालाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष निराजन थापाले कम्पनीको अधिकृत पूँजी १ अर्ब ५० करोड रुपैयाँ र जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको जानकारी दिए । उनका अनुसार ५१ जना संस्थापक शेयर सदस्यमार्फत ६४ लाख ९६ हजार कित्ता (५८ प्रतिशत) बराबरको ६४ करोड ९६ लाख रुपैयाँ चुक्ता पूँजी कायम भइसकेको छ। बाँकी ४७ लाख ४ हजार कित्ता (४२ प्रतिशत) शेयर सार्वजनिक निष्काशनमार्फत जारी गर्न एनआईसी क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरिएको छ। यस सम्बन्धमा गत असोज ७ गते नेपाल धितोपत्र बोर्डमा विवरणपत्र स्वीकृतिका लागि आवेदन पेश गरिएकोमा, गत मंसिर १६ गते उक्त प्रस्ताव आईपीओ पाइपलाइनमा समावेश भएको जानकारी दिइयो।
साधारण सभाले होटल सब्रिनाले आफ्नो क्षमता विस्तार गर्दै १०४ कोठा सहित पाँचतारे स्तरमा स्तरोन्नति गर्ने उद्देश्यले वातावरणीय प्रभाव मूल्यांकन प्रक्रियामा रहेको, अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त गोल्डेन टुलिप ब्रान्डसँग फ्रेन्चाइज साझेदारी प्रक्रियामा अगाडि बढ्ने, नयाँ भौतिक संरचना निर्माण गर्ने तथा सुमित श्रेष्ठ एण्ड एसोसियट्स लाई आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
होटलले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा सकारात्मक प्रभाव पार्ने विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै, दक्ष जनशक्ति उत्पादन गर्न स्थानीय निकायसँगको सहकार्यमा कुक, वेटर, हाउसकिपिङ तथा अन्य आतिथ्यसम्बन्धी तालिमहरू प्रदान गर्दै आएको छ। साथै, स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्दै आएको संस्थाले विभिन्न सरकारी निकायमा बुझाउनुपर्ने कर तथा शुल्क समयमै बुझाउँदै जिम्मेवार संस्थाका रूपमा आफ्नो पहिचान स्थापित गर्दै आएको छ।












प्रतिक्रिया