नयाँ वर्षमा खुल्दै नाका

नेपाल–चीन जोड्ने बेलिब्रिज तयार, ६ महिनापछि फेरि सञ्चालनमा आउँदै रसुवा नाका


काठमाडौँ । नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक नाका रसुवागढीमा बेलिब्रिज निर्माण काम सम्पन्न भएको छ । गत असार २४ गते आएको बाढीले ल्हेन्देखोलामा रहेको पुल बगाउँदा नाका पूर्ण रुपमा बन्द रहेको थियो ।

चिनियाँ पक्षले बेलिब्रिज निर्माण सम्पन्न गरेर नेपाली पक्षलाई हस्तान्तरण गरेसँगै जनवरी १ अर्थात् अँग्रेजी नयाँ वर्षबाट रसुवा नाका औपचारिक रुपमा सञ्चालन हुने भएको हो ।

नाका जोड्ने पुल पूर्ण रुपमा बनेपछि रसुवागढी नाका जनवरी १ (अँग्रेजी नयाँ वर्ष) अर्थात् पौष १७ गतेदेखि सञ्चालनमा आउने रसुवा भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।

‘गत असार २४ गते चीन तर्फबाट आएको बाढीले रसुवागढी–चीन जोड्ने मितेरी पुल बगाएको थियो । त्यसपछि चिनियाँ सरकारले बेलिब्रिज निर्माण गरेको हो । करिब ६ महिनापछि सञ्चालनमा आउने भएको हो,’ उनले भने ।

नेपालतर्फ भन्सार यार्डमा रहेका २५ भन्दा बढी सामान भरिएका (कन्टेनर) गाडी बाढीले बगाएको थियो । ‘करिब ३५ वटा विद्युतीय गाडी (इभी) र ६ वटा सिनो ट्रक बाढीले बगाएको थियो,’ भन्सार अधिकृत भट्टराईले भने ।

नेपाल–चीनबीचको ७० प्रतिशत व्यापारिक गतिविधि रसुवागढी नाकाबाट हुने गरेकोमा पुल बगाएपछि ठप्प भएको उनले बताए ।

बाढीका कारण करिब ६ महिना नाका बन्द हुँदा व्यवसायीहरुले सास्ती व्यहोर्नुपरेको थियो । अब भने सहज हुने आशमा व्यवसायीहरु खुशी भएका छन् । नाका सञ्चालनका लागि बेलिब्रिज निर्माण भएको हो । उक्त बेलिब्रिज स्थायी भने नरहेको भट्टराईले जानकारी दिए ।

तत्काल सामान आयात निर्यात सञ्चालन गर्नका लागि मात्र बेलिब्रिज तयार भएको हो । भट्टराईका अनुसार, पहिले पुल थियो, तौल र उचाईमा कुनै समस्या थिएन । अहिले निर्माण भएको बेलिब्रिजमा भने ४९ मेट्रिक टन भन्दा माथि तौल भएका र करिब ४.५ मिटर भन्दा बढी उचाइमा सामानहरु ल्याउन मिल्दैन ।

‘पहिले विकास आयोजनाका सामानहरु ट्रकको माथि उचाईमा पनि ल्याउने गरिन्थ्यो, अब त्यसरी भने ल्याउन मिल्दैन,’ उनले भने ।

बाढीका कारण नाका बन्द भएपछि दशैँ र तिहारका लागि भनेर सामान बोकेर आएका नेपाली कन्टेनरहरु चीनतर्फ नै अलपत्र परेका थिए । चीनतर्फ अझै पनि २०० भन्दा बढी कन्टेनरहरु बाँकी रहेको नेपाल हिमालयन सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले बताए ।

उनका अनुसार, सो कन्टेनरहरुमा १०/१२ वटामा सामान लोड भएर बसेका छन् भने बाँकी खाली छन् । केरुङमा अझै पनि ४/५ सय कन्टेनर सामान रहेको छ । उक्त सामान ल्याउनका लागि आजबाट व्यवसायीहरु जान थालेका छन् ।

‘सामान ल्याउनका लागि जान पाए पनि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण चिनियाँ पक्षले सबै व्यवसायीहरुलाई जान रोक लगाएको छ,’ उनले भने, ‘अहिले चिनियाँ पक्षले रसुवा जिल्लाका व्यवसायीहरुलाई मात्र प्रवेश अनुमति दिएको छ । जसका कारण सामान ल्याउनका लागि समस्या नै रहेको छ ।’

उक्त सामानहरु रसुवाका व्यवसायीहरुको मात्र नभई विभिन्न व्यापारिक केन्द्रका व्यवसायीहरुको रहेको छ । ‘व्यवसायीहरु नै जान नपाएपछि कसको सामान के कति भन्ने नै थाहा हुँदैन । आन्दोलनको प्रभाव व्यवसायीहरुमा परेको छ, सबै जान पाउनुपर्छ भने व्यवसायीहरुको गुनासो छ,’ उनले भने ।

नेपाल–चीन व्यापारका महत्वपूर्ण नाकाहरू रसुवागढी र तातोपानी एकसाथ बन्द भएपछि त्यसको विकल्पको रूपमा कोरला नाका (मुस्ताङ) लाई प्रयोगमा ल्याइएको थियो । हाल, अत्याधिक चिसोका कारण सञ्चालनमा आउन कठिनाई भएपछि यो नाका एक महिनादेखि बन्द भएको छ ।

चाडपर्वको समयमा रसुवा र तातोपानी नाका लामो समय बन्द हुँदा दसैँ–तिहारका लागि खरिद गरिएका अर्बौं रुपैयाँ बराबरका सामग्री चीनमा नै रोकिएका थिए । जसको कारण नेपाली व्यवसायीहरूले ठुलो आर्थिक संकट भोग्नु परेको अध्यक्ष कार्कीले बताए ।

मुख्य नाका नै पूर्ण रुपमा बन्द हुँदा आयात/निर्यात दुबैमा घाटा व्यहोर्नुपरेको छ । जबकी रसुवा नाकाबाट मात्रै वर्षेनी अर्बौको सामान आयात निर्यात हुने गरेको थियो ।

उक्त नाकाबाट गत आर्थिक वर्ष २०८१/८२ मा ८५ अर्ब २३ करोड २३ लाख रुपैयाँको सामान आयात हुँदा २ अर्ब ४ करोड ५२ लाख रुपैयाँको सामान निर्यात भएको थियो ।

त्यस्तै, अघिल्लो आव २०८०/८१ म ६० अर्ब ९१ करोडको आयात र १ अर्ब ७३ करोड रुपैयाँको निर्यात भएको थियो भने आव २०७९/८० मा ३० अर्ब १४ करोडको आयात र १ अर्ब १९ करोडको निर्यात भएको थियो ।

चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा भने यो नाकाबाट ४७ करोड ५६ लाख रुपैयाँको सामान आयात भएको छ भने निर्यात शून्य रहेको छ ।

बाढीका कारण पुल बगाउनुका साथै भन्सार जाँचपासको क्रममा यार्डमा राखेको सबै सामान बगाएको थियो । जसका कारण आयात न्यून भएको हो । यसअघि चिनियाँ पक्षले कात्तिकको अन्तिम सातामा पुल निर्माण गरिसक्ने अनुमान गरेको भए पनि डेढ महिना ढिला गरी निर्माण सम्पन्न भएको हो ।

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार  १० : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।