काठमाडौँ । नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्रमा मागभन्दा ४८ गुणा बढीको आवेदन परेको छ । निक्षेप वृद्धिको तुलनामा कर्जा माग नबढेका कारण बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पूँजी (तरलता) थुप्रिएपछि ऋणपत्रमा मागभन्दा ४८ गुणा बढीको आवेदन परेको हो ।
राष्ट्र बैंकले सोमबार २५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८२ क’ खुला गरेको थियो । त्यसमा ३२ ओटा बैंक तथ वित्तीय संस्थाले १२९ ओटा बोलकबोलमार्फत १२ खर्ब २० अर्ब ५५ करोड रुपैयाँका लागि आवेदन गरेका छन् ।
यसको औसत ब्याजदर (कुपन रेट) २.६४ प्रतिशत कायम भएको राष्ट्र बैंकको भनाइ छ । ब्याजदर अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ । उक्त ऋणपत्र एक वर्षमा परिपक्व हुनेछ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले लगानी गर्न सक्ने व्यवस्थासहित जारी गरिएको सो ऋणपत्रमा ३२ वटा बैंक तथा वित्तीय संस्थाले आवेदन दिएका हुन् ।
हालसम्म राष्ट्र बैंकले निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधा उपकरणमार्फत बजारबाट ६ महीनासम्म अवधिको लागि पैसा उठाउँदै आएको राष्ट्र बैंकले अहिले भने ऋणपत्रमार्फत पैसा उठाउन लागेको हो ।
राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई दीर्घकालीन व्यवस्थापन गर्न ऋणपत्र जारी गरेको हो । बोलकबोल माध्यबाट ब्याजदर निर्धारण हुने उक्त ऋणपत्रका लगानीकर्ता अर्धवार्षिक रूपमा ब्याज भुक्तानी पनि केन्द्रीय बैंकले जनाएको छ ।
न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन गर्न सकिने गरी केन्द्रीय बैंकले ऋणपत्र जारी गरेको थियो ।
उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्रको स्वीकृत बोल रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकाले उक्त रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन । तर, राष्ट्र बैंकको निर्देशन बमोजिम कायम राख्नुपर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा उक्त रकम गणना गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।
ऋणपत्र निष्कासन मितिमा काउन्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभए त्यस्ता काउन्टरपार्टीको स्वीकृत बोल रकम रद्द गरी त्यसको २.५० प्रतिशत दरले हर्जाना सहित ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोर अन्तर्गत कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाइने केन्द्रीय बैंकले जनाएको छ ।












प्रतिक्रिया